दुई महिनामै विभागीय नेतृत्वः न्यौपानेको तीव्र प्रशासनिक यात्रा

काठमाडौं। निजामती सेवामा प्रवेश गरेको ७ वर्षमै सहसचिवमा नाम निकाल्न सफल आरती न्यौपानेले अहिले अर्को महत्वपूर्ण जिम्मेवारी पाएकी छन्। सरकारले उनलाई किताबखानाको महानिर्देशकको जिम्मेवारी दिएको हो। सहसचिवमा बढुवा भएको छोटो अवधिमै विभागीय नेतृत्व सम्हाल्ने अवसर पाएकी उनी हाल निजामती प्रशासनमा चर्चाको केन्द्र बनेकी छन्।
Advertisement 1
न्यौपानेले २०७६ साउन २० गते शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेकी हुन्। प्रारम्भिक सेवा अवधिमा उनले सूर्यविनायक नगरपालिकामा अधिकृतका रूपमा कार्य गरिन्। त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भई करिब एक वर्ष सेवा दिइन्।
उनी ३२ वर्षको उमेरमै खुला प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस हुन सफल भएकी थिइन्। विद्यमान निजामती सेवा कानुनअनुसार अधिकृत तहमा सात वर्ष सेवा पूरा गरेपछि मात्रै सहसचिव पदका लागि प्रतिस्पर्धा गर्न पाइने व्यवस्था छ। सोही प्रावधानअनुसार प्रतिस्पर्धामा सहभागी बनेकी न्यौपानेले उत्कृष्ट नतिजासहित सहसचिवमा नाम निकाल्न सफल भएकी हुन्।
Advertisement 2
सहसचिव भएपछि छोटो समयमै उनलाई किताबखानाको नेतृत्व सुम्पिएको छ। यसअघि उनी सोही कार्यालयमा उपमहानिर्देशकको भूमिकामा कार्यरत थिइन्। त्यसअघि महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका श्रमणकुमार पोखरेलको सरुवापछि नेतृत्व रिक्त भएकाले सरकारले न्यौपानेलाई विभाग प्रमुखको जिम्मेवारी दिएको हो।
किताबखानामा हालै सम्पन्न संगठन तथा व्यवस्थापन (इ७ः) पुनर्संरचनापछि दरबन्दी संख्यासमेत घटाइएको छ। पहिले १८८ दरबन्दी रहेको कार्यालय अहिले १६५ मा सीमित भएको छ। यस पुनर्संरचनासँगै उपमहानिर्देशक पद हटाइएको छ भने नेतृत्व तहमा महानिर्देशकको एकमात्र सहसचिव दरबन्दी कायम गरिएको छ।
Advertisement 3
पछिल्ला केही वर्षयता निजामती प्रशासनमा महिला सहसचिवहरूको भूमिका विस्तार हुँदै गएको सन्दर्भमा न्यौपानेलाई विभागीय नेतृत्वमा ल्याइनुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ। छोटो सेवा अवधिमै प्रतिस्पर्धाबाट सहसचिव बनेर विभागको नेतृत्व सम्हाल्ने अवसर पाउनु उनको प्रशासनिक यात्राको उल्लेखनीय उपलब्धिका रूपमा लिइएको छ।








