कृत्रिम बुद्धिमत्ता र श्रमबजारको नयाँ भूगोलः नेपालको तयारी कहाँ ?

कृत्रिम बुद्धिमत्ताले मानव सभ्यतालाई नयाँ मोडमा उभ्याएको छ। औद्योगिक क्रान्तिले मांसपेशीको शक्ति प्रतिस्थापन गरेको थियो भने एआई क्रान्तिले मानव मस्तिष्कका केही बौद्धिक कार्यहरूलाई नै स्वचालित बनाउन थालेको छ। यसले श्रम, उत्पादन, ज्ञान, पूँजी र प्रतिस्पर्धाको परम्परागत संरचनालाई पुनर्परिभाषित गरिरहेको छ। त्यसैले आजको मूल प्रश्न एआईले जागिर खान्छ कि खाँदैन भन्ने होइन बरु विश्वको श्रमबजार कता गइरहेको छ र त्यसका लागि राष्ट्र तथा नागरिक कत्तिको तयार छन् भन्ने हो। वास्तवमा एआईले श्रमबजारको नयाँ भूगोल निर्माण गरिरहेको छ, जहाँ भौगोलिक सीमाभन्दा ज्ञान, सीप, नवप्रवर्तन र डिजिटल क्षमता बढी निर्णायक बन्दै गएका छन्।
Advertisement 1
प्रत्येक ठूलो प्रविधि परिवर्तनले प्रारम्भमा भय जन्माएको छ। पहिलो औद्योगिक क्रान्तिमा मेसिनले श्रमिक विस्थापित गर्ने त्रास थियो। कम्प्युटरको आगमनमा कार्यालयहरू बेरोजगार हुने भविष्यवाणी गरिएको थियो। तर प्रत्येक क्रान्तिले केही पुराना पेशा समाप्त गरे पनि नयाँ उद्योग, नयाँ व्यवसाय र नयाँ रोजगारी सिर्जना ग¥यो। अर्थशास्त्री जोसेफ शुम्पेटरले यस प्रक्रियालाई “सृजनात्मक विनाश“ भनेका थिए, जहाँ पुराना संरचनाको अवसानसँगै नयाँ आर्थिक सम्भावनाको जन्म हुन्छ। एआई पनि यही ऐतिहासिक प्रक्रियाको अर्को अध्याय हो, तर यसको गति अघिल्ला सबै परिवर्तनभन्दा तीव्र छ।
विश्व आर्थिक मञ्चको ’फ्युचर अफ जब्स रिपोर्ट–२०२५’ ले सन् २०३० सम्म विश्वका करिब २२ प्रतिशत रोजगारी कुनै न कुनै रूपमा रूपान्तरण हुने, करिब ९ करोड २० लाख रोजगारी विस्थापित हुने र १७ करोड नयाँ रोजगारी सिर्जना हुने प्रक्षेपण गरेको छ। यसले देखाउँछ कि समस्या रोजगारीको अन्त्य होइन, सीपको पुनर्संरचना हो। भविष्यको श्रमबजारमा डिग्रीभन्दा दक्षता, अनुभवभन्दा अनुकूलन क्षमता र परम्परागत ज्ञानभन्दा डिजिटल साक्षरताले बढी मूल्य पाउनेछ।
Advertisement 2
नेपालका लागि यो परिवर्तन अझ संवेदनशील छ। युवा जनशक्ति, वैदेशिक रोजगारीमा निर्भर अर्थतन्त्र, बढ्दो डिजिटल पहुँच र सूचना प्रविधिलाई विकासको नयाँ आधार बनाउने राष्ट्रिय आकांक्षाबीच नेपाल अवसर र चुनौतीको दोसाँधमा उभिएको छ। यदि नेपाली युवाले एआईलाई प्रतिस्पर्धी होइन, सहकर्मीका रूपमा आत्मसात् गर्न सके भने विश्वव्यापी श्रमबजार नेपालको पहुँचभित्र हुनेछ। तर शिक्षा, सीप विकास, अनुसन्धान, नवप्रवर्तन र नीतिगत तयारीमा ढिलाइ भए नेपाल उच्च मूल्यको डिजिटल अर्थतन्त्रबाट क्रमशः बाहिरिन सक्छ। त्यसैले एआईको युगमा नेपालको वास्तविक परीक्षा प्रविधिको होइन, तयारीको हो। प्रश्न एआई कति शक्तिशाली छ भन्ने होइन, नेपाल कति सक्षम बन्छ भन्ने हो।
कृत्रिम बुद्धिमत्ता को चर्चा आज संसारभरि एउटै प्रश्न वरिपरि घुमिरहेको छ। के एआईले मानिसको जागिर खोस्छ? यो प्रश्न सरल देखिए पनि यसको उत्तर त्यति सरल छैन। वास्तविकता के हो भने एआई आफैंले कसैको जागिर खाँदैन। एआईलाई प्रभावकारी रूपमा प्रयोग गर्न जान्ने व्यक्तिले एआई नजान्ने व्यक्तिलाई प्रतिस्पर्धामा पछि पार्छ। इतिहासले देखाएको सत्य यही हो। प्रत्येक औद्योगिक र प्राविधिक क्रान्तिले केही पेशा समाप्त ग¥यो, तर त्यसभन्दा धेरै नयाँ अवसर पनि जन्मायो। परिवर्तनको मूल्य सधैं पुरानो सीपले चुकाउँछ, नयाँ सीपले होइन।
Advertisement 3
नेपालका लागि पनि मूल प्रश्न यही हो।हामी एआईसँग प्रतिस्पर्धा गर्ने कि एआईसँग सहकार्य गर्ने?
मानिसको इतिहास परिवर्तनसँगको संघर्षको इतिहास हो। हलो आयो, हातले जोत्नुपर्ने काम घट्यो। ट्र्याक्टर आयो, श्रमको स्वरूप फेरियो। कम्प्युटर आयो, टाइपराइटर हरायो। इन्टरनेट आयो, बजारको परिभाषा बदलियो। आज एआई आएको छ। त्यसैले प्रश्न नयाँ प्रविधिको होइन। प्रश्न हाम्रो अनुकूलन क्षमताको हो।
चाल्र्स डार्विनको प्रसिद्ध भनाइ यहाँ अत्यन्त सान्दर्भिक देखिन्छ।“सबैभन्दा बलियो वा सबैभन्दा बुद्धिमान प्रजाति होइन, परिवर्तनसँग सबैभन्दा राम्रोसँग अनुकूलन गर्ने प्रजाति बाँच्छ।“ यो जीवविज्ञानको सिद्धान्त मात्र होइन, आजको श्रमबजारको पनि आधारभूत नियम बनेको छ।
विश्व आर्थिक मञ्च को भविष्यका रोजगार प्रवृत्तिसम्बन्धी प्रतिवेदन–२०२५ ले एउटा महत्वपूर्ण चित्र प्रस्तुत गरेको छ।प्रतिवेदनले ५५ अर्थतन्त्र, २२ उद्योग क्षेत्र र १,००० भन्दा बढी विश्वव्यापी रोजगारदाताहरू (जसले संयुक्त रूपमा १ करोड ४० लाखभन्दा बढी कामदार प्रतिनिधित्व गर्छन्) को सर्वेक्षणमा आधारित विश्लेषण प्रस्तुत गरेको छ। सन् २०३० सम्म विश्वका २२% जागिरहरू कुनै न कुनै रूपमा रूपान्तरण हुने अनुमान गरिएको छ। सो अवधिमा करिब १७ करोड नयाँ जागिर सिर्जना हुने र ९ करोड २० लाख जागिर विस्थापित हुने अनुमान छ। यसबाट ७ करोड ८० लाख जागिरको शुद्ध वृद्धि हुने देखिन्छ। प्रतिवेदनअनुसार सन् २०३० सम्म विश्वभर करिब ९ करोड २० लाख रोजगारी विस्थापित हुनेछन्। तर यही अवधिमा करिब १७ करोड नयाँ रोजगारी सिर्जना हुने अनुमान गरिएको छ। यसको अर्थ विश्वले ७ करोड ८० लाख रोजगारीको शुद्ध वृद्धि देख्न सक्छ। अर्थात् समस्या रोजगारको अन्त्य होइन; समस्या रोजगारको स्वरूप परिवर्तन हो।
यसै प्रतिवेदनले अर्को गम्भीर तथ्य पनि देखाउँछ। विश्वका ४१ प्रतिशत रोजगारदाताले आगामी पाँच वर्षभित्र एआई र स्वचालनका कारण कर्मचारी संख्या घटाउने योजना बनाएका छन्। तर उनीहरू समानान्तर रूपमा नयाँ प्रकारका सीप भएका कर्मचारी खोजिरहेका छन्। यसले रोजगारी समाप्त हुँदै छैन, सीपको मूल्याङ्कन फेरिँदै छ भन्ने सन्देश दिन्छ।
गोल्डम्यान स्याक्सको विश्लेषणले विश्वका करिब ३० करोड पूर्णकालीन जागिर कुनै न कुनै रूपमा एआईबाट प्रभावित हुन सक्ने देखाएको छ। तर प्रभावित हुनु र पूर्ण रूपमा समाप्त हुनु एउटै कुरा होइन। अधिकांश पेशामा एआई सहायक हुनेछ, प्रतिस्थापक होइन।
सबैभन्दा बढी जोखिममा दोहोरिने, नियममा आधारित र पूर्वानुमान गर्न सकिने कार्यहरू छन्। डाटा इन्ट्री, आधारभूत लेखा, साधारण ग्राहक सेवा, अनुवाद, प्रारम्भिक कन्टेन्ट लेखन, मेडिकल ट्रान्सक्रिप्सन, पारालिगल दस्तावेज तयारी, आधारभूत प्रोग्रामिङ तथा नियमित प्रशासनिक कार्यहरू स्वचालनतर्फ तीव्र गतिमा अघि बढिरहेका छन्।
तर यसैबीच नयाँ पेशाहरू जन्मिरहेका छन्। एआई इन्जिनियर, प्रम्प्ट इन्जिनियर, डाटा वैज्ञानिक, साइबर सुरक्षा विशेषज्ञ, एआई अडिटर, एआई नीति विश्लेषक, मानव–एआई अन्तक्र्रिया डिजाइनर, डिजिटल एथिक्स विशेषज्ञ, एआई प्रशिक्षक तथा डिजिटल रूपान्तरण परामर्शदाता जस्ता पेशाको माग अभूतपूर्व रूपमा बढिरहेको छ।
पहिलो औद्योगिक क्रान्तिले हातले उत्पादन गर्ने उद्योगलाई कारखानामा रूपान्तरण ग¥यो। हजारौं परम्परागत काम हराए। तर रेलमार्ग, इस्पात उद्योग, ऊर्जा, यातायात र आधुनिक उत्पादन प्रणालीले करोडौं नयाँ रोजगारी सिर्जना ग¥यो। बीसौं शताब्दीको अन्त्यमा कम्प्युटरले कार्यालयको स्वरूप बदलिदियो। धेरैले त्यतिबेला पनि कम्प्युटरले सबै जागिर खाने भविष्यवाणी गरेका थिए। तर आज विश्वमा सफ्टवेयर उद्योग, ई–कमर्स, डिजिटल बैंकिङ, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ र मोबाइल एप विकासजस्ता सम्पूर्ण उद्योग कम्प्युटरकै कारण जन्मिएका हुन्।
प्रख्यात अर्थशास्त्री जोसेफ शुम्पेटरले यस प्रक्रियालाई सृजनात्मक विनाश भनेका थिए। पुरानो संरचना भत्किन्छ। नयाँ संरचना निर्माण हुन्छ। यही आर्थिक विकासको प्राकृतिक चक्र हो।अर्थशास्त्रका नोबेल पुरस्कार विजेता क्रिस्टोफर पिसारिडेसले एआईलाई “मानव उत्पादकता बढाउने प्रविधि“ का रूपमा व्याख्या गरेका छन्। उनका अनुसार प्रविधिको उद्देश्य मानिस हटाउनु होइन, मानिसको क्षमता विस्तार गर्नु हो। यदि शिक्षा प्रणाली समयमै रूपान्तरण भयो भने एआई आर्थिक समृद्धिको सबैभन्दा ठूलो स्रोत बन्न सक्छ।
त्यसैगरी नोबेल विजेता ड्यारोन एसेमोग्लुले एउटा महत्वपूर्ण चेतावनी दिएका छन्। उनी भन्छन्, “यदि एआईलाई केवल श्रम प्रतिस्थापनका लागि प्रयोग गरियो भने असमानता बढ्छ। यदि मानव क्षमता विस्तारका लागि प्रयोग गरियो भने समृद्धि बढ्छ।“ यही नै नीति निर्माणको मूल दर्शन हुनुपर्छ।
विश्वका अग्रणी प्रविधि कम्पनीहरूले पनि मिश्रित अनुभव प्रस्तुत गरेका छन्। सेल्सफोर्सले ग्राहक सेवाका धेरै कामहरू एआईबाट गराउन थालेको छ। आईबीएमले मानव स्रोत व्यवस्थापनका सयौं नियमित कामहरू च्याटबोटमार्फत सञ्चालन गरिरहेको छ। माइक्रोसफ्ट, गुगल र अमेजनले आफ्नो सम्पूर्ण कार्यप्रवाहमा एआई समावेश गरिसकेका छन्। तर यिनैले एआई अनुसन्धान, सुरक्षा, पूर्वाधार, डाटा व्यवस्थापन र जिम्मेवार एआई विकासमा हजारौं नयाँ विशेषज्ञ पनि भर्ती गरिरहेका छन्।
यसले एउटा सत्य उजागर गर्छ। एआईले मानिस हटाइरहेको छैन मानिसको भूमिकालाई पुनर्परिभाषित गरिरहेको छ।
भारत यसको उत्कृष्ट उदाहरण हो। नास्कम (NASSCOM) को प्रक्षेपण अनुसार आगामी केही वर्षभित्र भारतमा लाखौं नयाँ एआईसम्बन्धी रोजगारी सिर्जना हुनेछन्। सरकारले डिजिटल इन्डिया, स्किल इन्डिया र राष्ट्रिय एआई रणनीतिमार्फत विश्वविद्यालय, उद्योग र अनुसन्धान संस्थालाई एउटै प्रणालीमा जोडेको छ।
सिङ्गापुरले “AI Singapore “ कार्यक्रममार्फत हजारौं पेशेवरलाई पुनः सीप विकास गराइरहेको छ। फिनल्यान्डले “Elements of AI“ जस्तो निःशुल्क राष्ट्रिय कार्यक्रममार्फत सर्वसाधारणलाई एआई शिक्षा उपलब्ध गराएको छ। एस्टोनियाले सार्वजनिक प्रशासनमा एआई प्रयोग गर्दै सेवा प्रवाहलाई छिटो र पारदर्शी बनाएको छ। दक्षिण कोरियाले विद्यालय तहदेखि एआई साक्षरता अनिवार्य बनाउन थालेको छ। यी देशहरूले एआईलाई रोजगारविरोधी प्रविधि होइन, राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमताको आधार मानेका छन्।
नेपाल अझै संक्रमणको चरणमा छ। हाम्रो अर्थतन्त्र मुख्यतः कृषि, पर्यटन, वैदेशिक रोजगारी र सेवा क्षेत्रमा आधारित छ। त्यसैले तत्काल ठूलो बेरोजगारीको झट्का सम्भवतः नआउला। तर उच्च मूल्यका डिजिटल रोजगारीमा नेपाल पछाडि पर्ने जोखिम भने अत्यन्त ठूलो छ।
नेपालको आधारभूत प्रशासनिक सेवा, नियमित लेखा प्रणाली, डाटा प्रशोधन र सामान्य डिजिटल सेवा सबैभन्दा संवेदनशील क्षेत्रमा पर्छन्। यदि नेपाली युवा एआई प्रयोग गर्न सक्षम भएनन् भने यी कामहरू विश्व बजारमा सस्तो एआई प्रणाली वा बढी दक्ष जनशक्तिले प्रतिस्थापन गर्न सक्छन्।
यही कारण सरकारले राष्ट्रिय एआई नीति, २०८२ ल्याएको छ। नीतिले एआई अनुसन्धान, शिक्षा, सार्वजनिक सेवा, स्वास्थ्य, कृषि, न्याय र प्रशासनमा एआईको प्रयोग विस्तार गर्ने लक्ष्य लिएको छ। पाँच हजारभन्दा बढी एआई दक्ष जनशक्ति उत्पादन गर्ने, एआई नियमन परिषद् स्थापना गर्ने तथा नेपालको एआई तयारी सूचकांक सुधार गर्ने उद्देश्य स्वागतयोग्य छ।
नेपालको विश्वविद्यालय शिक्षा अझै पनि परीक्षामुखी छ। धेरै पाठ्यक्रम दशकौं पुराना छन्। उद्योग र विश्वविद्यालयबीचको सम्बन्ध कमजोर छ। डिजिटल पूर्वाधार असमान छ। ग्रामीण क्षेत्रमा गुणस्तरीय इन्टरनेट पहुँच सीमित छ। अंग्रेजी, डाटा विश्लेषण र डिजिटल साक्षरतामा ठूलो अन्तर देखिन्छ। यदि यी संरचनात्मक कमजोरी समाधान भएनन् भने उत्कृष्ट नीति पनि कागजमै सीमित रहनेछ।
अक्सफोर्ड विश्वविद्यालयका विद्वान निक बोस्ट्रोमले भनेका छन्, “सबैभन्दा ठूलो जोखिम मेसिन अत्यन्त बुद्धिमान हुनु होइन; मानिस पर्याप्त बुद्धिमान नहुनु हो।“ नेपालको चुनौती पनि यही हो।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले एआईलाई मानवकेन्द्रित बनाउनुपर्नेमा जोड दिएको छ। यसको अर्थ एआईले मानवलाई विस्थापित गर्ने होइन, मानवको क्षमता विस्तार गर्ने माध्यम बन्नुपर्छ। यही नै समावेशी विकासको आधार हो।
यहाँ एउटा नैतिक प्रश्न पनि उठ्छ।यदि एआईले उत्पादकता बढाउँछ भने त्यसको लाभ कसले पाउने? ठूला कम्पनीले? कि श्रमिकले पनि? यही प्रश्न भविष्यको श्रमनीति, कर प्रणाली, सामाजिक सुरक्षा र पुनःसीप विकास कार्यक्रमको केन्द्र बन्नेछ। प्रविधि आफैं निष्पक्ष हुन्छ। त्यसको सामाजिक प्रभाव नीति र शासनले निर्धारण गर्छ।
नेपाली युवाका लागि यो युग संकटभन्दा बढी अवसरको युग हो।दमक, विराटनगर, नेपालगञ्ज, पोखरा वा दाङमा बसेर पनि विश्वका कम्पनीका लागि काम गर्न सकिने अवस्था निर्माण हुँदैछ। फ्रिलान्सिङ, सफ्टवेयर विकास, डिजिटल मार्केटिङ, डाटा एनोटेसन, एआई प्रशिक्षण, अनुसन्धान, डिजाइन, शिक्षा र परामर्श क्षेत्रमा सीमाहीन अवसर खुलिरहेका छन्। भौगोलिक दूरी अब आर्थिक दूरी होइन।
अल्भिन टोफलरले दशकौंअघि नै लेखेका थिए, “एक्काइसौं शताब्दीका निरक्षर ती हुनेछैनन् जो पढ्न र लेख्न सक्दैनन्; ती हुनेछन् जो सिक्न, बिर्सन र पुनः सिक्न सक्दैनन्।“ आज यो भनाइ पहिलेभन्दा धेरै सत्य भएको छ।
एआईले मानव मस्तिष्कको गति बढाउन सक्छ। तर विवेक दिन सक्दैन। यसले उत्तर दिन सक्छ। तर मूल्यनिर्णय गर्न सक्दैन। यसले भाषा लेख्न सक्छ। तर जीवन अनुभव गर्न सक्दैन। यसले चित्र बनाउन सक्छ। तर पीडा महसुस गर्न सक्दैन। यसले विश्लेषण गर्न सक्छ। तर करुणा उत्पन्न गर्न सक्दैन।
त्यसैले भविष्यको सबैभन्दा मूल्यवान् सीप प्राविधिक दक्षता मात्र हुनेछैन। समालोचनात्मक सोच, रचनात्मकता, सहानुभूति, नेतृत्व, नैतिक निर्णय, अन्तरविषयक ज्ञान र आजीवन सिक्ने क्षमता झन् महत्वपूर्ण बन्दै जानेछन्।
एआईको युगमा सबैभन्दा ठूलो प्रश्न प्रविधिबारे होइन। मानिसबारे हो। भविष्यको निर्णायक प्रतिस्पर्धा मानिस र मेसिनबीच हुने छैन। प्रतिस्पर्धा दुई प्रकारका मानिसबीच हुनेछ। सिकिरहने मानिस र सिक्न अस्वीकार गर्ने मानिस।
एआईले जागिर खाँदैन। समयसँग नबदलिने सीपले भविष्य गुमाउँछ। परिवर्तनलाई अँगाल्नेले नयाँ अवसर सिर्जना गर्छ। परिवर्तनबाट भाग्नेले अवसर गुमाउँछ। इतिहासको प्रत्येक युगले यही निर्णय दोहो¥याएको छ। एआईको युगले पनि त्यही निर्णय गर्नेछ।








