पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। आज मन्त्रालयमा आयोजित १ कार्यक्रममा मन्त्री डा वाग्लेले उहाँलाई शपथ गराएका हन्।

Advertisement 1

यही असार ५ गतेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।

शपथपछि अर्थमन्त्री डा वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन पनि दिए। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि मन्त्री डा वाग्लेको भनाइ छ।

Advertisement 2

“कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्”, अर्थमन्त्री डा वाग्लेले भने, “म साथमा छु। सरकारले सबैखाले सहयोग गर्छ। पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस्।”

अर्थमन्त्री डा वाग्लेले पुँजीबजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, छ महिना र एक वर्षका योजना के हुन्, त्यो पेस गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिए। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिए।

Advertisement 3

“पुँजीबजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस्। बजारमा आत्मविश्वास बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्”, अर्थमन्त्रीले भने, “मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन। धेरै बोलेर होइन, नतिजामा काम गर्नुहोस्। मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ।”

नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीज्यूको योजनाअनुसार पुँजीबजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताए। आफ्नो ज्ञान, अनुभव र सीपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

पुँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उनको भनाइ छ।

प्रकाशित :२०८३ असार १५, सोमबार १२:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry