दुर्घटनामुक्त समाज निर्माणको सन्देशसहित राजविराजमा ट्राफिक सप्ताह

सप्तरी। दुर्घटनामुक्त समाज निर्माणको सन्देशसहित राजविराजमा ट्राफिक सप्ताह कार्यक्रम सुरु गरिएको छ।

Advertisement 1

ट्राफिक नियम पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह २०८३ आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सप्तरीले जानकारी दिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराज, सप्तरीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, सप्तरीको सहकार्यमा आयोजित उक्त प्रभातफेरीमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, विभिन्न सङ्घसंस्था, विद्यार्थी, शिक्षक तथा सर्वसाधारण नागरिक सहभागि थिए।

Advertisement 2

‘ट्राफिक नियमको पालना गरौँ, दुर्घटनाबाट आफू बचौँ र अरूलाई बचाऔँ’ भन्ने मूल नारासहित निकालिएको प्रभातफेरीले राजविराज नगरका प्रमुख सडकहरू परिक्रमा गर्दै सडक सुरक्षा, सवारी अनुशासन र ट्राफिक सचेतनाको सन्देश प्रवाह गरिएको छ।

कार्यक्रममा सहभागीले ट्राफिक नियमको पालना, हेल्मेटको अनिवार्य प्रयोग, सिटबेल्ट बाँध्ने बानी, मदिरा सेवन गरी सवारी नचलाउने तथा पैदलयात्रीको सुरक्षामा विशेष ध्यान दिनुपर्ने विषयमा जनचेतनामूलक सन्देश दिएका छन्।

Advertisement 3

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सप्ताहभर विभिन्न जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, प्रशिक्षण तथा सडक सुरक्षासम्बन्धी अभियान सञ्चालन गर्ने जनाएको छ।

बढ्दो सवारी चापसँगै दुर्घटनाका घटनालाई न्यूनीकरण गर्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेको प्रहरीको भनाइ छ। स्थानीयवासीले यस्ता कार्यक्रमले नागरिकमा ट्राफिक सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

ट्राफिक सप्ताहअन्तर्गत सञ्चालन गरिएका गतिविधिले सुरक्षित, अनुशासित र दुर्घटनारहित समाज निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित :२०८३ असार ३, बुधबार १४:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry