प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल र बेमौसमी वर्षाका कारण उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

Advertisement 1

बैठकमा सांसद साजिदा खातुन सिद्धिकीले ‘डायलाइसिस’ गर्ने मेसिन देशका सबै अस्पतालमा उपलब्ध गराउन माग गरे।

सांसद खड्गबहादुर शाहीले मुगुमा यार्सागुम्बा सङ्कलनका क्रममा यही जेठ १० गते टाँकेखोलामा लेक लागेर पेमा लामाको निधन भएको र अहिलेसम्म लास उठाउन नसकिएको समस्या राखे।

Advertisement 2

सांसद जनकसिंह धामीले कञ्चनपुरको शुक्लाफाँटा क्षेत्रमा वीरेन्द्र ठगुन्ना र उनको परिवार बाघको आक्रमणबाट घाइते भएको विषयमा ध्यानाकर्षण गराउँदै वन्यजन्तुको आक्रमणबाट हुने यस किसिमको क्षति नियन्त्रण गर्न माग गरे।

सांसद अनुष्का श्रेष्ठले ट्राफिक व्यवस्थापनमा सुधार देखिए पनि अझ व्यवस्थित गर्न अनुरोध गरीन्।

Advertisement 3

सांसद हरिमोहन भण्डारीले बैतडीमा असिनाबाट कृषिबालीमा क्षति भएको जनाउँदै भीषण वर्षापछिको बाढी, पहिराबाट हुने मानवीय क्षति हुन नदिन बस्ती सार्ने वा पहिरो नियन्त्रण गर्ने कार्यक्रम ल्याउन अनुरोध गरे।

सांसद श्रीराम न्यौपानेले बाँदरका कारण पीडित भएका किसानलाई राहत दिन र देशभर बढिरहेको बाँदरको समस्या समाधान गर्न आग्रह गरे।

सांसद निष्कल राईले कामको सिलसिलामा विदेशमा रहेका नेपालीले दुःख व्यहोर्नुपरेको उल्लेख गर्दै क्रोयसियामा सडक दुर्घटनामा निधन भएका नेपालीको शव स्वदेश ल्याउन समस्या भएकाले त्यसतर्फ ध्यान दिन अनुरोध गरे।

सांसद रमेशकुमार सापकोटा हावाहुरीका कारण कर्णालीका विभिन्न जिल्लामा बिजुली अवरुद्ध भएको अवगत गराए। सांसद ऐनबहादुर महरले सिंहदरबारभित्रको संसद् भवनलाई हतारमा नभई सही र व्यवस्थित ढङ्गबाट सञ्चालन गर्नुपर्ने बताए।

प्रकाशित :२०८३ जेष्ठ १३, बुधबार १३:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry