कोरोनाको महामारीमा पनि सफाइ कर्मचारी रात दिन खट्दै
विश्व अहिले कोरोनाको महामारीमा खेपिरहेको छ । महामारीको क्रममा पनि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सफाइ कर्मचारीहरु खटिरहेका छन् ।
Advertisement 1
काठमाडौं महानगरपालिकामा मात्र करिब ८०० कर्मचारी फोहोर व्यवस्थापनमा खटिएका छन् । उनीहरुले घरघरबाट फोहोर उठाउने, सडक बढार्ने र संकलित फोहोर सिसडोलमा व्यवस्थापन गर्ने गर्छन् । उता, भक्तपुर नगरपालिकाले भने सफाइ कर्मचारीलाई फिल्डमा कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गर्न लगाएको नगरपालिकाको वातावरण शाखाका प्रमुख दिलीपकुमार सुवालले बताए । कर्मचारीले पञ्जा, मास्क, पीपीई अनिवार्य लगाउने गरेको उनले जानकारी दिए ।
गत वर्ष पीपीई लगाउँदा मोबाइल राख्ने ठाउँ नहुँदा भित्री खल्तीमा राख्नुपरेको र मोबाइल झिक्दा पीपीई पूरै फुकाल्नुपरेको बाध्यता सुनाउँदै उनले भने, “यसपटक टु पिस पीपीई पनि दिएका छौँ । पीपीई पातलो भए पनि गुणस्तरको छ । पञ्जा दैनिक माग्न नपर्ने गरी दिएका छौँ ।” उनका अनुसार गत वर्ष ६ यहाँका जना संक्रमित भएका थिए भने यसपटक नगरपालिकाको कोभिड वार्डमा सफाइ गर्न खटाएका चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Advertisement 2
काठमाडौं महानगरमा बिहान ६ बजेदेखि सफाइ कर्मचारी कुचो लगाउने, फोहोर संकलन र व्यवस्थापन गर्न हिँड्छन् । महानगरले कर्मचारीलाई आलोपालो गरी काममा बोलाएको छ । दिनमा धुलो बढार्ने काम पनि भइरहेको महानगरले जनाएको छ । यस्तै, भक्तपुर नगरपालिकामा चालकसहित १३० जना सफाइ कर्मचारी छन्, जो बिहान ५ बजेदेखि काममा खटिन्छन् । महानगरले फोहोर संकलन र व्यवस्थापनको लागि प्रशिक्षण दिएको महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । कर्मचारीलाई मास्क, पञ्जा, स्यानिटाइजर तथा पीपीई दिएको उनले बताए । तर, फिल्डमा खटेका कतिपय सफाइ कर्मचारीले फोहोर संकलन गर्न आउँदा पञ्जा लगाएको भेटिँदैन । यसबारे प्रश्न सोध्दा प्रमुख श्रेष्ठ भन्छन्, “खै, हामीले सबै सामान उपलब्ध गराएका छौँ । प्रशिक्षण दिँदा कोरोनाबारे जानकारी दिएका छौँ ।”