अक्षय तृतीया : शिवालयमा भक्तजनको घुइचो

काठमाडौं। अक्षय तृतीया पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ।

Advertisement 1

पशुपतिनाथलगायत देशभरका शिवालयमा जम्मा भएका भक्तजनले पूजा, आराधना एवं दर्शन गरी अक्षय तृतीया पर्व मनाउँदै छन्। आज सोमबार भएकाले पशुपतिनाथलगायत शिवालयमा यत्तिकै भक्तजनको घुइँचो हुने गरेकामा अक्षय तृतीया पर्व पनि परेकाले भक्तजनको लर्को लागेको हो।

बिहानैदेखि भक्तजनको घुइँचो भएकाले पशुपति क्षेत्रमा आज दर्शनार्थीका लागि विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पशुपति क्षेत्रका धेरै स्थानमा सातु सर्वत खाने व्यवस्था पनि मिलाइएको छ।

Advertisement 2

प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ। अक्षय तृतीयाका दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ। जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो।

गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन्। शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने उनले सुनाए।

Advertisement 3

सत्य युगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ। यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ। यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ।
–––

प्रकाशित :२०८३ बैशाख ७, सोमबार १२:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry