सङ्घ–प्रदेश समन्वय सुदृढ गर्न प्रधानमन्त्री सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गदै

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको सो छलफल सङ्घ प्रदेश सरकारसँग सम्बन्धित विविध महत्वपूर्ण र गहन विषयमा हुनेछ।
Advertisement 1
अपराह्न २ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने सो छलफल सङ्घ–प्रदेश समन्वयलाई अझ प्रभावकारी बनाउने महत्वपूर्ण पहलका रूपमा पनि हेरिएको छ।
सचिवालयका अनुसार छलफलमा विकास–निर्माणका कार्यलाई तीव्रता दिने, स्रोतसाधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहनेछ।
साथै, राष्ट्रिय प्राथमिकताका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषय पनि छलफलको मुख्य ‘एजेण्डा’ हुनेछ।
Advertisement 2
देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत आजको सो छलफलमा हुने अपेक्षा गरिएको छ।
सङ्घीयता कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने र जनतालाई प्रत्यक्ष लाभान्वित गराउने महत्वपूर्ण कदमका रूपमा यो छलफललाई लिइएको छ।


















