मोह र स्वार्थको विरुद्ध आत्मिक विद्रोह

मनुष्य जीवनको मूल उद्देश्य केवल भौतिक सुखसुविधा र स्वार्थको सङ्कलन मात्र होइन। वास्तवमा, जीवनको गहिरो उद्देश्य भनेको आन्तरिक चेतना र आत्मिक एकताको प्राप्ति हो। तर आधुनिक संसारमा मानिस प्रायः आफ्नो जीवनलाई मोह, लोभ र स्वार्थका जालमा बाँधिन्छ। सम्पत्ति, पद, शक्ति, प्रतिष्ठा, र आत्म–सन्तुष्टिका मोहहरूले हामीलाई वास्तविक उद्देश्यबाट विचलित बनाउँछन्। “मोह र स्वार्थको विरुद्ध आत्मिक विद्रोह” सामाजिक, नैतिक र आध्यात्मिक सुधारको अनिवार्य आवश्यकता हो।

Advertisement 1

मोह र स्वार्थले मनुष्यलाई आफ्नो आन्तरिक मूल्य र नैतिकताको बाटोबाट विस्थापित गर्छ। जब व्यक्तिले बाह्य वस्तुहरू, मानिसहरू वा स्थिति प्रतिको आत्मकेंद्रित आसक्ति विकास गर्छ, तब उसले आफ्नो आन्तरिक शान्ति र विवेक गुमाउँछ। यस्तो अवस्थामा विद्रोहको अर्थ आत्म–जागरूकता, विवेक र आन्तरिक स्वतन्त्रताको प्राप्ति हो। आध्यात्मिक विद्रोहले व्यक्ति र समाजलाई समान रूपले लाभ पुर्याउँछ। जब एक व्यक्ति आफ्नो जीवनमा मोह र स्वार्थको नियन्त्रण गर्न सक्छ, तब उसले केवल व्यक्तिगत शान्ति मात्र पाउँदैन, वरन् समाजमा निष्ठा, करुणा, न्याय र सहिष्णुताको प्रसार गर्छ।

आध्यात्मिक विद्रोहको प्रारम्भ आफ्नै अन्तरात्माबाट हुन्छ। यहाँ बाह्य संघर्षको आवश्यकता हुँदैन। हाम्रो मन, जसमा ईर्ष्या, द्वेष, घृणा र स्वार्थको बीउ रोपिएको छ, त्यसलाई बुझ्नु र त्यससँग सचेत रूपमा सामना गर्नु नै विद्रोहको पहिलो चरण हो। ध्यान, योग, प्रार्थना र आत्मचिन्तनले यस प्रक्रियामा मार्गदर्शन गर्छ। यी साधनहरूले हामीलाई हाम्रो असली आवश्यकता र वास्तविक मूल्य बुझ्न मद्दत गर्छ। जब व्यक्ति भौतिक मोह र स्वार्थबाट मुक्त हुन्छ, तब उसले आफ्नो जीवनलाई साँचो अर्थ दिन सक्ने क्षमता विकास गर्छ।

Advertisement 2

मोह र स्वार्थको विरुद्ध विद्रोहले परिवार, समुदाय र राष्ट्र स्तरमा नैतिक सुधार ल्याउँछ। उदाहरणका लागि, कुनै समाज जहाँ मानिसहरू केवल आफ्नो लाभ र स्वार्थका लागि काम गर्छन्, त्यहाँ असमानता, दुराचार, भ्रष्टाचार र सामाजिक विभाजनको समस्या बढ्छ। तर जब व्यक्तिले आन्तरिक विद्रोहमार्फत मोह र स्वार्थलाई नियन्त्रण गर्छ, तब उसले दान, सहयोग, सहिष्णुता, र सत्य–न्यायको अभ्यासमा सक्रिय योगदान दिन्छ। यसरी, आत्मिक विद्रोह समाजमा सकारात्मक ऊर्जा, स्थायित्व र मानवता प्रवर्द्धन गर्ने माध्यम बन्न सक्छ।

धर्म र आध्यात्मिक शिक्षाले पनि यही विद्रोहको महत्व बताउँछन्। भगवद्गीता, उपनिषद् र अन्य वैदिक ग्रन्थहरूमा स्पष्ट रूपमा उल्लेख छ कि जीवनको उद्देश्य केवल भौतिक सुख होइन, बरु आत्म–बोध, कर्मयोग र सेवा हो। अर्जुनले कुरुक्षेत्रमा आफ्नो मोह र स्वार्थको द्वन्द्व सामना गर्दा, उसले वास्तविक युद्धको स्वरूप बुझे—आन्तरिक शान्ति र धर्मको रक्षा। यही सन्देश आजको आधुनिक मानव जीवनमा पनि प्रासंगिक छ। जब मानिसले आफ्नो आन्तरिक मोह र स्वार्थ विरुद्ध लड्छ, तब उसले न केवल व्यक्तिगत आध्यात्मिक उन्नति गर्छ, तर समाजमा नैतिक मार्गदर्शन पनि स्थापित गर्छ।

Advertisement 3

आजको विश्वमा, जहाँ संघर्ष, द्वेष, हिंसा र युद्धले लाखौं मानिसको जीवन प्रभावित गरिरहेका छन्, त्यहाँ यो विद्रोह अझै आवश्यक छ। मध्यपूर्वको तनाव, इरान–इजरेल द्वन्द्व, वा अन्य राजनीतिक–भूराजनीतिक संघर्ष केवल बाह्य शक्ति र रणनीतिमा आधारित छैनन्। यी द्वन्द्वको जरा मोह, स्वार्थ र असन्तुलित इच्छामा पनि लुकेको छ। जब राष्ट्र र नेताहरू केवल आफ्नो शक्ति, सम्पत्ति र प्रभुत्वका लागि संघर्ष गर्छन्, तब आम जनता पीडित बनिन्छ। यस्तो समयमा व्यक्तिगत र सामूहिक चेतना, मानवता र करुणामा आधारित आत्मिक विद्रोह नै दीर्घकालीन शान्ति र स्थायित्वको आधार बन्न सक्छ।

आध्यात्मिक विद्रोहको अर्को महत्वपूर्ण आयाम भनेको अहंकारको नियन्त्रण हो। अहंकार, स्वार्थको अग्रभागमा रहने प्रमुख कारक हो। मानिस आफ्नो नाम, प्रतिष्ठा, वा शक्ति प्रतिको मोहमा फसेर आफ्नो मूल्य र विवेक गुमाउँछ। यसै क्रममा, आत्मिक विद्रोहले व्यक्तिलाई सिकाउँछ कि वास्तविक शक्ति र सम्मान केवल बाह्य प्राप्तिमा नभई आन्तरिक विवेक, संयम र नैतिकता पालनमा छ। जब व्यक्ति आफ्नो अहंकार र स्वार्थमाथि विजय प्राप्त गर्छ, तब उसले केवल आफ्नो जीवन सुधार्दैन, वरन् समाजमा स्थायित्व र न्यायको स्थापनामा योगदान पुर्याउँछ।

मोह र स्वार्थको विरुद्ध आत्मिक विद्रोहले व्यक्तिलाई समानता, भाईचारा र सहिष्णुतामा अभ्यस्त बनाउँछ। यसले जात, धर्म, सम्पत्ति वा सामाजिक स्थिति अनुसारको भेदभावलाई न्यून गर्छ। जब एक समुदायका सबै सदस्यले आफ्नो व्यक्तिगत स्वार्थ र मोह नियन्त्रणमा राख्छन्, तब समाजमा असमानता, द्वेष र हिंसा कम हुन्छ। यही प्रक्रिया विश्वव्यापी रूपमा लागू भए, तब विश्व मानवतामै आधारित स्थिरता र शान्तिको मार्गमा अघि बढ्न सक्छ।

विद्रोहको अर्को महत्वपूर्ण आयाम भनेको कर्तव्य–निष्ठा र उत्तरदायित्वको बोध हो। जब व्यक्ति केवल आफ्नो लाभको लागि होइन, समाज, राष्ट्र र मानवताको हितका लागि कार्य गर्न थाल्छ, तब उसले आत्मिक शान्ति र सन्तोष प्राप्त गर्छ। यही सिद्धान्त आधुनिक प्रशासन, सामाजिक सेवा, र नेतृत्त्वमा पनि लागू गर्न सकिन्छ। यदि प्रत्येक नागरिक, नेतृत्वकर्ताले आफ्नो व्यक्तिगत स्वार्थ र मोहमाथि नियन्त्रण राखेर कार्य गर्छ भने, समाजमा भ्रष्टाचार, असमानता र हिंसा स्वतः न्यून हुन्छ।

मोह र स्वार्थको विरुद्ध आत्मिक विद्रोह जीवनको सत्य मार्ग स्थापित गर्ने साधन हो। यसले व्यक्तिलाई आन्तरिक शक्ति, विवेक, र नैतिकताको मार्गदर्शन दिन्छ। यो केवल व्यक्तिगत सुधारको मात्र होइन, सम्पूर्ण मानव समाजको उन्नतिको मार्ग पनि हो। आत्मिक विद्रोहमार्फत हामी केवल बाह्य वस्तु र स्थिति प्रतिको मोहलाई परास्त गर्दैनौं, बरु हाम्रो आन्तरिक चेतना, करुणा, प्रेम, संयम, र सत्यतामाथि विजय प्राप्त गर्छौं।

आजको विश्वमा जब हिंसा, युद्ध, द्वेष, र स्वार्थले मानव जीवनलाई धमिलो बनाइरहेको छ, त्यहाँ यो विद्रोह अझै आवश्यक छ। व्यक्तिगत र सामाजिक चेतना, मानवता र नैतिक मूल्यको आधारमा यो विद्रोहले मात्र दीर्घकालीन शान्ति, स्थायित्व र सामाजिक सद्भाव स्थापना गर्न सक्छ। त्यसैले, प्रत्येक व्यक्तिले आफ्नो जीवनमा मोह र स्वार्थको विरुद्ध यो आत्मिक विद्रोहलाई अवलम्बन गर्नु अपरिहार्य छ।

आजको विश्व युद्ध, ध्रुवीकरण र अविश्वासको चपेटामा छ। यस संकटबाट बाहिर निस्कने बाटो थप हतियार वा कडा सीमामा छैन, बरु चेतनाको विस्तारमा छ। भौतिक सीमाबाट आत्मिक एकतासम्मको यात्रा नै मानवताको वास्तविक विजय यात्रा हो। यही यात्राले मानिसलाई केवल नागरिक होइन, विश्वनागरिक बनाउँछ—जहाँ पृथ्वी घर हो र मानवता परिवार।

भौतिक सीमाहरू जसले मानवताको विशाल समुद्रलाई सानो पोखरीमा सीमित गर्न खोज्छ। राष्ट्रका नाममा बनाइएका बार, जातका नाममा खडा गरिएका पर्खाल र धर्मका नाममा कोरिएका रेखाहरूले मानिसको मनोभूमिमा द्वेषको दलदल बनाइरहेका छन्। तर मानवताको महान्गंगा यिनै दलदलबाट माथि उठेर सहिष्णुता र सहकार्यको सागरमा बग्न चाहन्छ।

भौतिक सीमा मात्र होइन, चेतनाका कुहिरोले पनि मानव हृदयलाई बन्धनमा राखेको छ। यी चेतनाका सीमा बनेका छन्—हाम्रो अहंको अडान, हाम्रो ‘मेरो’ को मोह र हाम्रो स्वार्थको साँघुरो सोच। यी सीमाहरूलाई भत्काउन नसकेसम्म हामी विश्वबन्धुत्वको पवित्र प्रभात देख्न सक्दैनौँ।हामीलाई चाहिएको छ चेतनाको चराको पंख, जसले हामीलाई भौतिक सीमाभन्दा माथि उडाएर सबैलाई एउटै परिवारको सदस्यका रूपमा देख्ने दृष्टि दिन सकोस्। जब चेतनाका आकाशमा मानवता उड्छ, तब राष्ट्रियताको ‘राजनीतिक रङ’ फिका पर्छ र ‘समभावको सूर्य’ उदाउँछ।

जब हामी भौतिक सीमाबाट माथि उठेर चेतनासम्म पुग्छौं, तब मात्र हामी यथार्थमा ‘मानव’ बन्छौं। चेतनाको अडानले मात्र विश्वशान्ति सम्भव छ। हरेक मानिसलाई दया र माया दिएर, हरएक हृदयमा करुणा र समभावको जलबीज रोपेर, हामी विश्वबन्धुत्वको पुनर्जागरण गर्न सक्छौं। हामीले रगतको रेखाभन्दा ठूलो रगतको सम्बन्ध देख्न सिक्नुपर्छ। हाम्रो रगतको रङ एउटै हो, हाम्रो आकाश एउटै हो, हाम्रो अस्तित्व एउटै छ। यो अनुभूति नै मानवतालाई द्वन्द्व र युद्धको अन्धकारबाट निकालेर शान्ति र समृद्धिको सप्तरङ्गी बिहानमा पुर्याउन सक्छ।

विश्वभरका धेरै समस्या र द्वन्द्वको जरा भौतिक रगतले कोरिएका सीमामा छ। राष्ट्र, जाति, भाषा, धर्म र क्षेत्रीय भेदले मानवीय सम्बन्धहरूलाई कमजोर पार्दै छन्। यस्ता सीमाले हाम्रो सोच र व्यवहारलाई विभाजित गरी द्वेष र हिंसाको वातावरण सिर्जना गर्छ। तर मानव जगतले यस्ता सीमाभन्दा माथि उठ्न सक्नु पर्दछ। यसले सबै मानवलाई एउटै साझा परिवारका सदस्यको रूपमा हेर्न सिकाउनुपर्छ, जहाँ प्रेम, सहिष्णुता र सहकार्यको बलले राष्ट्र, जाति र भाषा भेदलाई पन्छाउने हो।

मानवता त्यहीँ बलियो हुन्छ जब हामी भौतिक सीमाहरूको झुठो प्रहारलाई छोडेर आन्तरिक सद्भाव, नैतिकता र सहअस्तित्वको मार्ग अपनाउँछौं। विश्वशान्ति, सामाजिक न्याय र समृद्धिको लागि सबैले साझा मानवीय मूल्यलाई प्राथमिकता दिनुपर्ने हुन्छ। यसले जातीय, धार्मिक र राष्ट्रिय भेदभावलाई कम गरी अन्तरराष्ट्रिय मेलमिलाप र सहयोगलाई बढावा दिन्छ।विश्वका अधिकांश द्वन्द्व, कलह र विभाजनको मूल कारण भौतिक रगतले कोरिएका सीमाहरू हुन्राष्ट्र, जाति, धर्म, भाषा र क्षेत्रीय भेद। यस्ता सीमाले हामीलाई एकअर्काबाट अलग राख्ने, द्वेष र असहिष्णुता बढाउने मुख्य कारण बनेका छन्। तर, भौतिक सीमाले मात्र होइन, चेतनाका सीमाहरूलाई पनि भत्काउन आवश्यक छ। चेतनाका सीमाहरू भनेको हाम्रो सोचाइ, दृष्टिकोण र अन्तरदृष्टिलाई बाँध्ने मानसिक बन्धनहरू हुन्, जसले हामीलाई साझा मानवता भन्दा माथि उठ्नबाट रोक्छन्।

विश्वमा भइरहेका विभिन्न समस्याहरू जस्तै जातीय द्वन्द्व, धार्मिक झगडा, सीमा विवाद र युद्धले देखाउँछन् कि सीमारेखाले मानिसहरूलाई बाँध्न सक्दैन, बरु यसले विघटन र असमानता ल्याउँछ। यसैले भौतिक सीमारेखालाई मात्र नभई मनोवैज्ञानिक, सांस्कृतिक र सामाजिक सीमाहरूलाई पनि हटाउँदै मानवता र समृद्धिको नयाँ युग स्थापना गर्नुपर्छ।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् )

प्रकाशित :२०८२ चैत्र १८, बुधबार १२:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry