‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री वितरणका लागि डेरीमार्ट थप गर्दै लगेको छ। पहिलो ‘डेरीमार्ट’ भरतपुर महानगरपालिका–१० दूरसञ्चार रोडमा सञ्चालनमा ल्याएको सङ्घले दोस्रो शाखा नारायणगढको बेलचोकमा सञ्चालनमा ल्याएको हो।
Advertisement 1
सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार यो वर्षमा ५ स्थानमा डेरीमार्ट सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको छ। सङ्घले आफैँले उत्पादन गरेका दुग्धजन्य पदार्थ बिक्रीवितरण र बजारीकारणका लागि मार्ट सञ्चालनमा ल्याएको उनले बताए। सङ्घले रत्ननगरमा आफ्नो डेरी उद्योग सञ्चालनमा ल्याएर त्यहाँबाट उत्पादित दूध, दही, घ्यू, पनिरलगायत सामग्री मार्टमार्फत बिक्रीवितरण सुरु गरेको हो।
उपभोक्तबाट गुणस्तरीय वस्तु पाइएको भन्दै सकारात्मक सन्देश पाएपछि शाखाहरू थप गर्न लागिएको उनले बताए। जिल्लामा उत्पादित दूधलाई बजारीकरण गर्न र दूधको भूक्तानी नपाउने समस्या समाधान गर्न यो मार्टले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।
Advertisement 2
अहिले जिल्लामा रहेका ११५ वटा दुग्ध उत्पादक सहरकारी सङ्घले दूध उत्पादन र बिक्रीवितरण गर्दै आएका छन्। दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको यहाँबाट स्थानीय बजारसहित काठमाडौँ, पोखरालगायत ठूला सहरमा दूध पु¥याउँदै आइएको छ। यहाँका किसानले रु ५० करोड बराबरको दूधको भुक्तानी पाउन बाँकी छ। समयमा भुक्तानी पाउन नसकेपछि सहकारी आफैँले प्रशोधन गरेर बजारीकरण गर्न थालेको हो।














