दलीय छांयामा परेको सामाजिक सेवा

पहिला पहिला पनि गाऊ, घर, समाजमा झै-झगडा हुने गर्थे तर तिनीहरूको समाधान स्थानीय भद्र भलाद्मीको रोहवरमा गरिन्थ्यो, अड्डा अदालत धाउने,प्रति – प्रति पक्षी हुने अवस्था नै रहन्नथ्यो। समाज र गाऊ घरमा हुने विकास, निर्माण र मर्मत सम्भार आदि कार्य स्थानीयहरूबाटै सम्पन्न हुने चलन थियो, गाऊ घरमा पर्ने आकस्मिक कार्यहरू जस्तै घर बनाउदा, मेलापात जादा सहयोग गर्ने, पर्म जाने गरेर एक अर्कोमा सहयोग गर्ने चलन थियो, त्यसैगरी मर्दा पर्दा स्वस्फूर्त तवरले सहभागिता जनाउने चलन थियो।
Advertisement 1
तर आजभोलीको अवस्था एकदम भिन्न हुदै गएको छ। जन्ति मलामीमा पनि यो कुन पार्टीको हो भनेर विचार गरेर मात्र सहभागिता जनाईन्छ, ऐंचो, पैंचो सरसापटको त कुरै नगरौ आफ्नो राजनीतिक विचार नमिल्ने संग त अछूतको ब्यबहार गरिन्छ। अर्म- पर्म खेताला, हली, बाऊसे समेत राजनीतिक पार्टी हेरेर खोजिन्छ।
यसले के देखाउछ भने हामी राजनीतिक दलको नामबाट विभाजित हुन पुग्यौ। के राजनीति भनेको यही हो त? अवश्य पनि हैन।
Advertisement 2
राजनीतिका अध्येताले राजनीतिलाई यसरी परिभाषित गरेका छन्-
Politics involves the formulation of public policies, exercise of authority, management of conflicts, and allocation of values such as wealth, rights, and opportunities in a community or nation.
यी अध्येताले राजनीतिलाई समुदाय वा राष्ट्रको लागि सार्वजनिक नीति निर्माण गर्ने, विवादको ब्यबस्थापन गर्ने, अख्तियारको अभ्यास गर्ने साधनको रूपमा लिएको पाईन्छ। यो परिभाषाले राजनीतिलाई कुनै पनि समुदायलाई विभाजित मानसिकतामा लैजाने साधनको रूपमा लिएको पाईदैन।
Advertisement 3
हो, अवश्य पनि राजनीति राज्यका नीतिहरू मध्ये सर्वोत्कृष्ठ नीति हो। यही नीतिको जगमा राज्यले आफ्ना अरू नीति बनाउछ तर राजनीतिको यो गन्तब्यलाई विर्सेर नेपालको राजनीति दलीय राजनीतिमा बदलिएको हुनाले नेपालको राजनीति विषाक्त हुन पुग्दाको परिणाम अहिले देश र समुदायले भोगी रहेको पाईन्छ।
हाल नेपालको राजनीतिले सबै जनताको बिचार बोक्न सकेको पाईदैन। बिचारहरू बोक्ने नाममा नेपालको राजनीति विभक्त हुन पुगेको छ। खासगरी देशको विकासको लागि राज्यको गन्तब्य स्पष्ट हुन जरूरी हुन्छ। यही निर्धारित गन्तब्य हेरेर त्यस गन्तब्य पूरा गर्न हाम्रा राजनीतिक दलहरू लाग्नु पर्ने हो तर त्यसो भएको देखिदैन। हाम्रा राजनीतिक दलहरूले राज्यको गन्तब्यलाई भन्दा आफ्नो गन्तब्यलाई प्राथमिकता दिदा नेपालको सामाजिक अबस्थाको हालत यस्तो भएको हो।
नेपालमा दलीय छांयाको प्रभाव समाजमा त पर्यो नै, यसको प्रभाव जनतालाई सेवा प्रवाह गर्ने माध्यम निजामति सेवामा पनि पर्यो। यो सेवामा कार्यरत कर्मचारी नै राजनीतिक पार्टीका कार्यकर्ता सरह हुन पुगे, कतिपय कर्मचारीले त छद्म नाममा सदस्यता नै लिए। यसरी कर तिरेर सरकारको सेवा लिने जनतामा समेत भेदभाव हुने स्थिति बन्यो। कर्मचारीको सरूवा र पदस्थापनमा समेत खुल्लम् खुल्ला हस्तक्षेप गर्ने चलनै बस्यो।
सरकारमा गएका पार्टीले आफूलाई मतदान गर्ने र नगर्ने स्थानीय समुदायमा हुने विकास निर्माणका काममा समेत विभेद गर्न थाले।
हामीले दल माथि प्रतिवन्ध लगाएको निर्दलीय शासन भएको पंचायती ब्यबस्थाको विरूद्धमा लामो समय सम्म संघर्ष गरेर ल्याएको वहुदलीय ब्यबस्थाको यो तवरबाट दुरूपयोग होला भनेर त्यतिबेला संघर्ष गर्ने राजनीतिक नेतालाई पनि लागेको थिएन होला तर भै दियो त्यस्तै। यस्तै विकृतिले ठूलो रूप लिंदै हाल यो झांगिएको अवस्था छ।
हाम्रो देशमा गरिएको राजनीतिले देश र समाजको विकास गर्नुको सट्टा आफ्नो पार्टी र आफ्नो मात्र विकास गर्नाले हाम्रो समाज अहिले निर्जीव र स्वार्थी बन्न पुगेको हो।
अर्को कुरा के छ भने हाम्रा मतदाताहरू समेतमा दलीय प्रभाव परेको छ। स्वतन्त्र र तटस्थ मतदाता पाउन गाह्रो भएको अबस्था छ। निर्वाचनका उम्मेद्वारहरू मत माग्न जादा हच्किनु पर्ने अवस्था छ।
सरकारका निर्णायक शक्ति भनेका मतदाता हुन्। यी मतदाता दलहरूका मूल्यांकनकर्ता पनि हुन्। यी मतदाता नै हुन् जस्ले नेपाल र नेपालीको हित कसरी हुन्छ भनेर दुधको दुध पानीको पानी छुट्याएर राजहंशको भूमिका निभाउछन् तर यस्ता मतदातालाई समेत प्रलोभनमा पारेर दलहरूले विषाक्त बनाएका छन्। त्यसैको परिणाम हो समाजको विखण्डन । यसैले मतदातालाई स्वतन्त्र रूपमा निर्णय गर्न छाडी दिनु पर्छ र कुनै पनि राजनीतिक दलले मतदातालाई पार्टीका झोले बनाउन तिर लाग्नु हुदैन र मतदाता पनि दलीय प्रलोभनमा पर्नु हुदैन।
हाम्रो समाज बनाउने जिम्मा त्यो समाजमा बस्ने बासिन्दा कै हो। हामीलाई आपद् विपद् पर्दा समेत हार गुहार दिने भनेकै स्थानीय समाजले नै हो। त्यसैले समाजको निर्माण र विकासमा हामीहरू जुन सुकै राजनीतिक आस्था र विश्वासका भए पनि हामी एकमत हुन जरूरी छ। हाम्रो समाजमा आउन सक्ने विखण्डनको मार हामी त्यही समुदायमा बस्नेले बेहोर्नु पर्ने हुन्छ। अतः समाजको विकास र संरक्षणमा हामी मिल्नुको विकल्प देखिदैन।














