नेपालको पहिलो एस्काभेटर महिला चालक मुनाको कहालीलाग्दो संघर्ष
मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ, आफ्नो इतिहास तर सबैको कहाँ लेखिन्छ र इतिहास ? जसले फरक ढंगले काम गर्छ, जसले रेकर्ड ब्रेक गर्छ, उसैको कोरिन्छ इतिहास । सयौं नेपाली चेलीमध्येकी हुन् मुना घिमिरे श्रेष्ठ । आजभन्दा २० वर्षअघि कस्तो थियो होला पुरुष र महिलाबीच विभेदको खाडल ? त्यस्तो विभेदका बीच गोरखाको एउटा गाउँ हर्मीमा जन्मिएर पहिलो महिला हेभी इक्विपमेन्ट चालकका रूपमा नाम लेखाउन सफल चेली हुन् उनी ।
Advertisement 1
मुना आजभन्दा झण्डै चार दशकअघि जन्मिएकी । परिवारका दुई सन्तान, दुवै छोरी । छिमेकीले काट्थे नानाथरि कुरा ।
पढ्दै थिइन् नजिकैको विद्यालयमा । तिनताक मध्यमस्र्याङ्दी जलविद्युत् परियोजनाको काम चल्दैथियो । बाटोमा देख्थिन् हेभी गाडी गुडिरहेका । कलिलो दिमागमा नाच्थ्यो आफू हेभी गाडी चालक भएका दृश्य । निम्नवर्गीय परिवारमा जन्मिएकी मुनाको अध्ययनमा ब्रेक लाग्यो । ९ कक्षामाथि पढ्न सकिनन् । पढाइलाई पूर्णविराम लगाएर लागिन् कामको खोजीमा । गोर्खा बजारबाट नेपालगञ्जतिर झरिन्, हितैषीको साथ लागेर । पहिलो पटक घर छाड्दा धेरैले कुरा काटे । तेरो छोरी पोइल गई भनी कुरा लगाउनेहरू नै प्रशंसा गर्न थाले । भन्छन् नि, सबसे बडा हें रोग क्या कहेंगे लोक । उनले सुनिनन् अरूको कुरा, सुनिन् त आफ्नै अन्तरमनको आवाज । साथीको नातेदार रहेछन् नेपालगञ्जमा । र, त्यही यात्रा नै जीवनको यूटर्न बनिदियो ।
जीवन नियमले होइन, संयोगले चल्छ भन्छन् । संयोगवश जागिर भेटिन् कन्स्ट्रक्सन कम्पनीमा । मनमा सपना थियो, ठूला गाडी चलाउने तर काम भेटिन् फोन उठाउने । आफू कार्यरत अफिसअगाडि देख्थिन् प्रशस्त गाडी तर छुन पाउँदिन थिइन् । त्यसैगरी समय व्यतित भए ६ महिना । दैवले भन्छ रे, तँ आँट म पु¥याउँछु । फोन उठाउने काम गरिरहेकी मुनालाई एक दिन त्यही कम्पनीका मालिक मानबहादुर लामाले सोधे, एस्काभेटर चलाउन सिक्छ्यौ त ?
Advertisement 2
ढुंगा खोज्दा देउता मिलेझैं भयो । आत्मविश्वाससहित जवाफ फर्काइन्, पाए त सिक्थें नि ! उनै मानबहादुरको निगाहमा बिहान बेलुका एस्काभेटर सिक्न थालिन् । आत्मविश्वास उँचो हुँदै गयो । शुरुमा लामा स्वदेश निर्माण सेवा कम्पनीबाट स्काभेटर चलाउन सिकिन् । स्काभेटर अपरेटर बिदामा रहेको एक दिन उनै लामाले सोधे, ‘तिमी टिपरमा सामान लोड गर्न सक्छौ त ? खोलाको बालुवा टिपरमा लोड गर्नुपर्ने थियो । एस्काभेटरको लिफ्टरलाई चलाउन मात्र जाने पुग्थ्यो । मुनाले मौकाको फाइदा उठाइन्, हिम्मत गरेर लोड गरिन्, राम्रो भयो । काम गर्ने आँटले अझ आत्मविश्वासी बनायो ।
तेज कन्स्ट्रक्सन, कालिका कन्स्ट्रक्सन हुँदै कालान्तरमा सरकारी जागिरे मात्र बनिनन् नेपालकै पहिलो एस्काभेटर चालक महिला बनेर नाम लेखाउन सफल भइन् । त्यही क्रममा भेट भयो कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेसँग मुनाको आँट र लगनशीलता देखेर प्रस्ताव गरे, हाम्रो कम्पनीमा काम गर्नुहुन्छ ? उनी कालिकामा ज्वाइन् भइन् । कामकै सिलसिलामा पूर्वी भेग घुमिन् । ०५७ सालमा राजधानी छिरिन् । हातमा सीप हुँदैमा मात्र पनि कहाँ प्रिय हुँदो रहेछ र काठमाडौँ ! कहाँ सहजै टिक्न सकिने र काम पाइँदो रहेछ । त्यस्तै तीता अनुभव भोगिन् काठमाडौंमा । कामको खोजीमा कहाँ मात्र पुगिनन् ? जता पुग्थिन् उतैबाट हात लाग्थ्यो मात्रै निराशा ।
Advertisement 3
तर, हरेश खाइनन् । काठमाडौंका सवारी मालिकहरू महिलाले हेभी गाडी चलाउन सक्छे भन्नेमा विश्वासै गर्दैनथे । आत्मविश्वास डगमगाउन दिइनन् उनले । कामकै खोजीमा पुगिन् थानकोट । त्यहाँ थियो तेज कन्स्ट्रक्सनको ग्यारेज । त्यहाँबाट पनि रिंग्याइयो । जावालाखेल जानू भन्यो । काम पाउने छाँटकाँट देखिएन । अझै मनलाई हार्न दिइनन् । फेरि पुगिन् थानकोट । संयोग यसपटक भेटिए मालिक । उनको खुबी हेरेपछि पत्याए मालिकले । र, पाइन् जागिर । कामकै सिलसिलामा रसुवाको चिलिमे हाइड्रोपावर, सिन्धुली बर्दिबास सडकखण्ड पुगिन् । कामकै सिलसिलामा स्याङ्जामा गोरखाकै सुरेश श्रेष्ठसँग भेट भयो । उनी शर्मा एण्ड कम्पनीमा म्यानेजर थिए । दुई आँखा चार मात्र भएन, प्यार हुँदै विवाहमा रूपान्तरण भयो । झण्डै ६ महिनामा एस्काभेटर चलाउन सिकिसकेकी उनले ०६२ सालमा चारपांग्रे र ०६४ सालमा एस्काभेटरको लाइसेन्स निकालिन् ।
फेरि अर्काे संयोग आइलाग्यो– तेज कन्स्ट्रक्सनका मालिक उनलाई खोज्दै आए । अनि उनी र श्रीमान् सुरेश भारतको गुजरातमा काम गर्न गए । त्यहाँ काम सकेर फर्किए नेपाल ।
स्वदेश फर्किएपछि उनको मन निजी काममा रमेन । सरकारी सेवा गर्ने रहर पलायो । पर्खाल बनेर उभियो शिक्षा । नौ कक्षाभन्दा बढी अध्ययन गरेकी थिइनन् । हेभी गाडी चालकका लागि वा खरदार तहको जागिर खान पनि कम्तीमा एसएलसी उत्तीर्ण गरेको हुनुपर्ने रहेछ ।
हिम्मत हारिनन् । हौसला थप्ने, ऊर्जा थप्ने श्रीमान् थिए । पहिला गरिब परिवारमा जन्मिएका कारण पढ्न पाइनन् । जब करारमा सरकारी सेवामा छिरिन् तब लाग्यो योभन्दा माथिल्लो तहमा जान त पढ्नैपर्ने रहेछ । कलंकीस्थित जनसेवा वैकल्पिक उच्च माविमा पढ्न थालिन् । बिहान पाँच बजे स्कुल, साँझ ट्युसन पढेर ०६९ सालमा ५७ प्रतिशत अंकसहित फलामे ढोका पार गरिन् । ०७२ सालमा लोकसेवाका लागि आवेदन दिइन् ।
आठ महिनापछि रिजल्ट आउँदा नाम निस्कियो । त्यही वर्ष ४ फागुनबाट सरकारी कर्मचारी भइन् । अर्को वर्ष फेरि पद बढोस् भन्ने हेतुले अर्को परीक्षा दिइन् । त्यसमा पनि पास भइन् । त्यसयता सडक विभागअन्तर्गत हेभी इक्विपमेन्ट डिभिजन कार्यालयमा काम गरिरहेकी छन् ।सरकारी सेवामा प्रवेश गर्न पढाइ चाहिने भएकाले १५ वर्षपछि २०६९ सालमा एसएलसी पास गरिन् । अहिले स्नातक तह पुरा गरेकी छन् । श्रीमान् भने मुना एण्ड राज कन्स्ट्रक्सन प्रालि चलाइरहेका छन् ।
प्रशासनको एउटा सुब्बाले प्रशासन त चलाउन सक्ला तर गएर डोजर चला भन्यो भने किमार्थ सक्दैन तर मुना यस्तो कर्मचारी हुन् जो डोजर मात्र होइन, प्रशासन पनि चलाउने हिम्मत राख्छिन् । उनको मन दुख्छ, जब प्रशासनका सुब्बालाई सबैले नमस्कार गर्ने तर डोजर चलाउनेलाई यो अपरेटर त हो नि भनेर हियाउने गरिन्छ ।