पाइन छाडे घोंगी, गङ्गटा र सुतही जस्ता जलचर

बर्दिया। मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका बेला माछा, घोंगी, गङ्गटा, सुतही मारेर चाड मनाउँथे। तर केही वर्षयता यस क्षेत्रका खेत, खोलानाला, तालतलैयामा घोंगी, गङ्गटा, सुतही जस्ता माछा प्रजातिका जलचर पाइन छाडेका छन्।
Advertisement 1
बढैयाताल गाँउपालिका–५ जगतियाका ६० वर्षीय बलीराम थारु भन्छन्, “पहिले धेरै मात्रमा घोंगी, गङ्गटा, सुतही पाइन्थे। अहिले पाइनै छाडे।” आधुनिक खेती प्रणालीले गर्दा खेतमा रसायनिक मल र विषादीको प्रयोग बढ्न थालेपछि खेत, नदी, खोलामै यी प्रजाति मासिन थालेको उनको अनुमान छ। सिमसार र तालतलैयाहरुमा पानी कम हुनु, सुख्खा क्षेत्र बढ्नुले पनि यी माछाका प्रजातिहरु कम हँुदै गएको हुनसक्ने उनी बताउँछन्।
पहिले स्थानीयले जाल तथा हेल्का वा हातले माछाको सिकार गर्थे। हिजोआज नदी, खोलानालाहरुमा विष हाल्ने, करेन्ट लगाउने चलन बढेपछि माछाका प्रजाति फस्टाउन नसकेको स्थानीय बताउँछन्। नेपालकै ठुलो ताल भनिने बढैयाताल १०७ विगाहमा फैलिएको छ। यो तालमा समेत दोहन हुन थालेपछि घोंगी, गङ्गटा, सुतही पाइन छाडेका छन्।
Advertisement 2
बढैयाताल गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीकाअनुसार पहिलेको तुलनामा अहिले थोरै मात्रामा यी प्रजाति पाइन्छन्। “तालमा पानी सुक्दै गएको छ, यहाँ आउने धेरै चराहरुले आहारा नपाउँदा चराहरुको बासस्थान समेत पाइन छोडेको छ। तालमा चराका चिरविर आवाज पनि सुनिन छाडेको छ।”
अर्कोतर्फ यसको संरक्षण भन्दा पनि बढी यस्ता प्रजाति मारेर बिक्री गर्ने चलन बढेपछि उनीहरुको बासस्थाननै मासिन थालेका हुन्। घोंगी, गङ्गटा, सुतहीको परिकार स्थानीय घरबास (होमस्टे) हरुमा पाहुनाका लागि आकर्षण भएपछि सिकारीहरु व्यावसायिक रुपमै यसको सिकार गर्न थालेका छन्।
Advertisement 3
यस क्षेत्रमा २ थरिका घोंगी पाइन्छन्। गङ्गटा ५ थरीका र सुतही २ थरीका पाइन्छन्। बालविशेषज्ञ डा विश्वनाथ यादवकाअनुसार घोंगी, गङ्गटा सुतहीमा प्रोटिन, क्याल्सियम पाइन्छ। जसले ग्यास्ट्राइटिसका लागिसमेत औषधिको काम गर्छ। हड्डी बलियो बनाउँछ। यिनै विशेषता बारे थाहा भएकाले पनि हुनसक्छ यसको उपभोग वृद्धि भइ यस्ता जलचर मासिन थालेको डा यादव बताउँछन्।
माछा प्रजातिका यी जलचरहरु लोप हुने क्रममा पुगेको एकिकृत कृषि विकास तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख कमला अधिकारी बताउँछिन्। उनले भनीन्, “पहिले जस्तो खेती प्रणाली छैन। धानमा रसायनिक मलको प्रयोग गर्नु, विषादी प्रयोग गर्नु, नदी नालाहरुमा डोजर लगाएर ढुङ्गा गिट्टी उत्खन्न गर्दा यी प्रजातिको बासस्थानमा समेत खलल पुगेको छ।”
उनले विगतमाझैँ पानी पर्न छाडेपछि सिमसार क्षेत्र मासिँदा जलचरहरु मासिन थालेको बताइन्। पहिलेका तुलनामा हिजाआज १० प्रतिशत मात्र घोंगी पाइने उनको भनाइ छ। सरोकारवालाहरु भने माछा प्रजातिका यी जलचरहरुको संरक्षण गर्नुपर्ने बताउँछन्।










