स्याउको राजधानी ‘मुस्ताङ’मा इतिहासकै बढी स्याउ उत्पादन

गलेश्वर। स्याउको राजधानी भनेर चिनिने मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ। स्याउ निर्यात गरेर मुस्ताङी किसानले ९२ करोड रुपैयाँभन्दा बढी जिल्लामा भित्र्याएका छन्। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार तीन सय ३० मेट्रिकटन स्याउ उत्पादन भएको छ।

Advertisement 1

कृषि ज्ञान केन्द्र प्रमुख राजेश गुरुङले उक्त जानकारी दिए। ‘यसवर्ष मुस्ताङमा हालसम्मकै धेरै स्याउ उत्पादन भयो। प्रारम्भिक मूल्यांकनअनुसार यसवर्ष करिब ९३ करोड रुपैयाँको स्याउ निर्यात भएको पाएका छौं,’ उनले भने, ‘पूरै तथ्यांक अझै आइसकेको छैन। यसवर्ष स्याउ फूल्ने र दाना लाग्ने समयमा अनुकूल मौसमका कारण उत्पादन वृद्धि भएको हो।’

जसबाट किसान निकै लाभान्वित भएका उनको भनाइ छ। विगतको तुलनामा यस वर्ष करिब ३५ प्रतिशतले स्याउको उत्पादन बढेको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ। गतवर्ष मुस्ताङमा ६ हजार ५ सय ९६ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यसवर्ष गत वर्षभन्दा सात सय ३४ टनभन्दा बढी उत्पादन भएको निर्देशनालयले जनाएको छ। गत वर्ष ५४ करोड ७२ लाख रुपैयाँ बराबरको स्याउ निकासी भएकोमा यसवर्ष गत वर्षभन्दा करिब २९ करोड रुपैयाँ बढी आम्दानी भएको कृषि ज्ञान केन्द्रका प्रमुख गुरुङले जानकारी दिए। यसैगरी कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको तथ्यांकअनुसार मुस्ताङमा स्थानीय जातको स्याउ ६ हजार ७८ मेट्रिकटन उत्पादन भएको छ।

Advertisement 2

स्थानीय जातको स्याउ कुल आठ सय ३० हेक्टर क्षेत्रफलमा लगाइएकामा पाँच सय ६६ हेक्टर क्षेत्रफलको स्याउका बोटबाट उत्पादन भइरहेको छ। यसवर्ष किसानबाट खरिद गर्दा व्यापारीले औसत मूल्य एक सय १० रुपैयाँ दिएका छन्। जसको कुल मूल्य ६६ करोड ८६ लाख ७२ हजार रुपैयाँ हाराहारी रहेको जनाइएको छ। स्थानीय जातका स्याउ प्रतिकेजी एक सय १० रुपैयाँ र हाईब्रिट स्याउ प्रतिकेजी दुई सय रुपैयाँमा निकासी हुँदा मुस्ताङमा करिब ८३ करोड रकम भित्रिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख गुरुङले जानकारी दिए।

कृषि विकास निर्देशनालय गण्डकीका महानिर्देशक बासुदेव रेग्मीले यसपटक करिब ६० करोड १८ लाख मूल्य बराबरको स्थानीय जातको स्याउ खपत तथा निर्यात हुने अनुमान गरिएकामा अनुमान गरेभन्दा ६ करोड रुपैयाँ बढीको स्याउ विक्री भएको बताए।

प्रकाशित :२०८१ कार्तिक ८, बिहीबार १०:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry