भाउ सस्तिएपछि च्यांग्राको व्यापार बढ्यो

गलकोट। बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्यांग्रा भित्रिएको छ। आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्यांग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ वटा च्यांग्रा ल्याए। तीन दिनअघि बागलुङका च्यांग्रा व्यापारी महेन्द्र केसीले ७४ च्यांग्रा भित्र्याए।

Advertisement 1

मुस्ताङी च्यांग्राको मूल्यमा गिरावट आएपछि माग बढेको हो। एक सय चार वटा च्यांग्रामध्ये ५० च्यांग्रा बागलुङ आइपुग्दै बिक्री भइसकेको छ्याङ्तो गुरुङले बताए। मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरबाट ११ दिन लगाएर बागलुङमा च्यांग्रा ल्याएको गुरुङको भनाइ छ। गत वर्ष रोज्जा च्यांग्रालाई रु ५५ हजारमा बिक्री गरेको बताउँदै यो वर्ष रु ४५ हजारमा बिक्री गरिरहेको बताए। ‘छोसेरबाट हिँडेर ११ दिनमा बागलुङ आइयो, बाटोमै ५० च्यांग्रा बिक्री भइसके, अझै ५४ च्यांग्रा रहेका छन्, अहिले च्यांग्राको भाउ सस्तिएका कारण व्यापार फस्टाएको छ,’ गुरुङले भने, ‘परम्परागतरुपमा पाल्दै आएको च्यांग्रा बिक्रीका लागि आफैँ बिक्री गर्दै आएको छु, आफैँ च्यांग्रा उत्पादन र आफैँ बिक्री गर्दा नाफा धेरै हुन्छ।’

कोसेलीका लागि र दसैँमा च्यांग्राको मासु खाने चलनका कारण मुस्ताङको च्यांग्रा बिक्रीका लागि म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरासम्म पुग्ने गरेको छ। च्यांग्राको मूल्यमा १० देखि १५ हजारसम्म घटेकाका कारण चाँडो व्यापार भएको च्यांग्रा व्यापारी छेक्तेन गुरुङले जानकारी दिए। बागलुङमा महेन्द्र केसीले भित्र्याएका ७४ च्यांग्रामा १६ वटा बिक्री भइसकेको बताए।

Advertisement 2

गत वर्ष च्यांग्राको व्यापार घट्दा यस वर्ष बागलुङका थोरै च्यांग्रा व्यापारी बागलुङबाट मुस्ताङ पुगेर च्यांग्रा खरिद गरेको केसीले जानकारी दिए। च्यांग्राको माग उच्च भएको र आयात थोरै हुँदा भाउ महंगो भएपछि यस वर्ष केही सस्तो भएको हो।

हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले दसैँमा भेडाच्यांग्रा खोज्ने केसीले जनाए।

प्रकाशित :२०८१ आश्विन २१, सोमबार १६:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry