२ जना सचिवसँग उद्योगमन्त्री भण्डारीले गरे कार्यसम्पादन सम्झौता
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउत र वाणिज्य सचिव गोविन्द कार्कीसँग आज कार्यसम्पादन सम्झौता गरेका छन्।
Advertisement 1
मन्त्रालयका सबै कर्मचारीसहितको बैठकमा कार्यसम्पादन सम्झौता गर्दै मन्त्री भण्डारीले सबै मन्त्रालयभन्दा उत्कृष्ट बनाउने गरी काम गर्नुपर्ने बताए। ‘इमान्दारिपूर्वक आफ्नो दायित्व र जिम्मेवारी सम्झेर आजका विद्यमान समस्या समाधान गर्दै नागरिकमैत्री सेवा प्रवाहमा जुट्न आग्रह गर्दछु,’ मन्त्री भण्डारीले भने।
दृढ इच्छाशक्ति भए आइपर्ने सबै कामलाई साझा रुपले समाधान गर्न सकिने पनि उनले बताए। ‘यो कार्यसम्पादन सम्झौता परम्परागत हिसाबले गर्नुछ भनेर गरिएको होइन, वास्तविक रुपमा नतिजा देखिने गरी काम गर्ने उद्देश्यले गरेका हौं,’ उनले भने।
Advertisement 2
वर्तमान अवस्थामा विभिन्न चुनौतीहरु रहेकाले सबै एकजुट भएर चुनौतीको सामना गर्नुपर्ने बताउँदै मन्त्री भण्डारीले जिम्मेवारीबाट पन्छिने छुट कसैलाई नरहेको बताए।