पहिरोले सुदूरपश्चिमका प्रमुख राजमार्ग अवरुद्ध

महाकाली राजमार्ग अन्तर्गत बैतडीको सिल्लेगडामा खसेको पहिरो। तस्बिर : विनोदसिंह विष्ट/रासस

सुदूरपश्चिम। अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। ठाउँ ठाउँमा गएको पहिरोका कारण धनगढी-डडेलधुरा (भीमदत्त) , डडेलुधरा-दिपायल (केआईसिंह), बुडर-जोगबुढा सडक, खोड्पे-बझाङ (जयपृथ्वी) राजमार्गमा आवागमन अवरुद्ध भएको छ। यसैगरी डोटीको जोरायल सडक, र सहजपुर—बिपीनगर सडकमा पनि गएको पहिरोले बाटो अवरुद्ध भएको छ।

Advertisement 1

राजमार्गमा गएको पहिरोका कारण गन्तव्यतर्फ हिँडेका यातायातका साधन बीचबाटैमै रोकिएका छन्। कैलालीको अत्तरियास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले वर्षासँगै गएरातिदेखि विभिन्न राजमार्गमा गएको पहिरोले राजमार्गमा आवागमन अवरुद्ध भएको जनाएको छ।

सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका सात जिल्लालाई जोड्ने भीमदत्त राजमार्गको छ÷सात ठाउँमा पहिरो जाँदा यातायात आवागमन अवरुद्ध भएको छ। आज मध्यान्हनसम्म यो राजमार्गको कतिपय ठाउँको पहिरो पन्छ्याइएको छ।

Advertisement 2

अन्य कतिपय ठाउँको पहिरो पन्छ्याएर सडक यातायात सुचारु बनाउने प्रयास भइरहेको कार्यालयका प्रहरी सहायक निरीक्षक गंगादत्त भट्टले जानकारी दिए। अविरल वर्षासँगै सडक डुबानमा परेपछि कञ्चनपुरको डोके बजारदेखि बेलौरी सडक खण्डमा पनि आवागमन अवरुद्ध भएको छ।

वर्षासँगै कैलालीको भजनी, जानकीनगर, पथरैया, कैलारी, जोशीपुर लगायतका कतिपय बस्तीमा डुबान भएको छ। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

Advertisement 3

अबिरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, शिवगंगा, कटैनीलगायत नदीमा पानीको बहाब बढेको छ। कर्णाली नदीमा मध्यान्हसम्म पानीको सतह १० दशमलब ६५ मिटर (खतराको तहमा) पुगेको गेज रिडर पार्वती गुरुङले जानकारी दिए। खुटिया र मोहना नदीमा पनि पानीको बहाव खतरा तह नजिक पुगेको छ।

कैलाली र डोटीका जिल्ला प्रशासन कार्यालयले शनिबारसम्ममा कैलाली र डोटीसहितका जिल्लामा अतिभारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपाउन अनुरोध गरेको छ। वर्षासँगै धनगढी उपमहानगरपालिका क्षेत्र जलमग्न हुँदा कतिपय बस्तीमा दुई÷तीन फिटसम्म पानी जमेर आवागमन असहज बनेको छ। हावाहुरीसहित भएको वर्षाले बिजुलीका खम्बा ढल्दा धनगढीका केही टोलमा विद्युत् आपूर्तिसमेत बन्द भएको छ।

प्रकाशित :२०८१ भाद्र २८, शुक्रबार १५:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry