ताप्लेजुङमा ४ वर्षमा ७२६ जनाले पाए राष्ट्रिय परिचयपत्र

फुङ्लिङ। जिल्लामा हालसम्म सात सय २६ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन्। चार वर्षअघि जिल्ला प्रशासन कार्यालयले परिचयपत्रका लागि विवरण संकलन थालेको थियो।
Advertisement 1
कार्यालयको राष्ट्रिय परिचयपत्र फाँटका दर्ता कर्मचारी वसन्त निरौलाले हालसम्म तीन सय ४७ महिला र तीन सय ७९ पुरुषले परिचयपत्र लिएको जानकारी दिए। उनका अनुसार जिल्लामा तयार भएका ७ हजार ९६७ परिचयपत्रमध्ये ७ हजार दुई सय ४१ कार्यालयमा छन्। परिचयपत्रको विवरण दर्ता गराएका अधिकांश नागरिकले लामो समयसम्म कार्ड छपाइ भएर आएको जानकारी नपाएकाले कार्यालयमा उक्त संख्यामा परिचयपत्र थन्किएका निरौलाले बताए।
परिचयपत्र लिनका लागि सम्बन्धित व्यक्ति कार्यालयमा उपस्थित हुनुपर्ने नियमका कारण पनि कार्ड कार्यालयमा थन्किएको उनको भनाइ छ। ‘प्रशासनले कार्ड आइसकेपछि बुझ्नका लागि नागरिकलाई पटकपटक आह्वान गरिरहेको छ। प्रशासनद्वारा जारी सूचनाको पहुँच नहुनु वा बेवास्ताका कारण अपेक्षित सहभागिता नदेखिएको परिचयपत्र फाँटका कर्मचारी निरौलाले उल्लेख गरे। यसैबीच कतिपय नागरिकले चार वर्षसम्म पर्खँदा पनि परिचयपत्र नपाएको गुनासो गरेका छन्। विवरण दर्ता गरेको चार वर्षसम्म पनि परिचयपत्र उपलब्ध नगराएपछि प्राप्त गर्ने आशा हराएको सेवाग्राहीको गुनासो छ।
Advertisement 2
आर्थिक वर्ष २०७७/७८ देखि परिचयपत्रका लागि विवरण संकलन थालिएको थियो। हालसम्म ६९ हजार ५ सय ९८ जनाको विवरण संकलन भइसकेको निरौलाले जानकारी दिए।
स्थानीय तहमा सञ्चालन भएका अभियानमार्फत ४६ हजार दुई सय पाँच र प्रशासन कार्यालयमा २३ हजार तीन सय ९३ जनाको विवरण संकलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षको साउनमा नौ सय ३७ जनाको विवरण संकलन भएको छ।