श्री केश तेल बिक्रीमा प्रतिबन्ध!
काठमाडौं। काठमाडौं महानगरपालिकाले श्री केश तेलको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। टाउकोमा कपाल उमार्ने र झर्नबाट रोक्ने भन्दै पछिल्लो समय व्यापक चर्चामा रहेको तेलको बिक्री वितरणमा महानगरपालिकाले प्रतिबन्ध लगाएको हो। महानगरपालिकाका अनुसार तीन दिनका लागि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो।
Advertisement 1
प्रचारप्रसार बढी गरेको, तर प्रसारप्रसारमा भनिएजस्तो गुणस्तरीय नभएको उजुरीको आधारमा महानगरपालिकाले तीन दिनका लागि प्रतिबन्ध लगाएको हो। गुणस्तरबारे परीक्षण गर्ने र त्यसको रिपोर्ट आएपछि आवश्यक कारबाही अघि बढाउने महानगरपालिकाले जानकारी दिएको छ। गुणस्तर तथा उपभोक्तासँग सम्बन्धित विषयमा अनुगमन गर्ने अधिकारी वाणिज्य विभागलाई भए पनि विभागले आवश्यक पहल नचालेको आरोप लागिरहेको छ। श्री केश तेलको फ्याक्ट्री तथा बिक्री स्थान काठमाडौं महानगरपालिकाभित्र भएकाले महानगरले उक्त कदम चाल्न पाएको हो। उत्पादकमाथि बिनाअध्ययन जडीबुटीयुक्त तेल बिक्री वितरण गरेको आरोप पनि छ।
महानगरपालिकामा तेलको गुणस्तरबारे पनि गुनासो आएको थियो। अनुगमनका क्रममा कम्पनीको दर्ता प्रक्रिया ठिक देखिएको र गुणस्तरबारे आवश्यक अध्ययन भइरहेको महानगरपालिकाले जानकारी दिएको छ। मपदण्डअनुसार गुणस्तर पाइएमा मंगलबारदेखि बिक्री वितरण खुला गर्ने महानगरपालिकाले जानकारी दिएको छ। यसको उत्पादक सप्तऋषि आयल एन्ड कस्मेटिक प्रालिको कार्यालय महानगरपालिकाअन्तर्गत मध्यबानेश्वरमा रहेको छ।