मुगुमा यार्सा संकलक ४ जनाको मृत्यु, एक सिकिस्त
मुगु। मुगुमा यार्सा संकलन गर्न गएका ४ जनाको मृत्यु भएको छ। पछिल्लो २ दिनमा जिल्लाका विभिन्न ठाउँमा यार्सा संकलन गर्न गएका उनीहरुको लेक लागेर ज्यान गएको हो। लेक लागेर सिकिस्त भएका १ जनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
Advertisement 1
मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुई जना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको हो।
शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो। देवराज बुढाको मृत्युसँगै मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।
Advertisement 2
गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो। मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा संकलन गर्न मुगुमकार्मारोङ गाउँपालिकाले गत वैशाख २५ गतेदेखि प्रवेश खुला गरेको हो। रासस