‘युवा पुस्तालाई रोजगार दिन श्रमाधान मेला’

विराटनगर। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले युवा पुस्तालाई स्वरोजगार बनाउन श्रमाधान मेलाको आयोजना गरिएको बताएका छन्।

Advertisement 1

विराटनगरमा आयोजित श्रमाधान रोजगार मेला सफलताको शुभकामना दिँदै उनले रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाबीचको दूरी हटाउन मेला फलदायी हुने बताए। मन्त्रालयले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न र स्वदेशमै रोजगार दिन आवश्यक सल्लाह र सुझाव आदानप्रदान गर्न श्रमाधान कल सेन्टर स्थापना गरेको मन्त्री अर्यालले जानकारी दिए।

तीनै तहका सरकार तथा निजी क्षेत्र मिलेर रोजगार सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उनले स्वदेशी उद्योगमा विदेशी कामदार हुने र स्वदेशी कामदार विदेश जाने प्रवृतिलाई चिर्न पनि यो मेला सहयोगी हुने बताए। यस्तो मेला सातवटै प्रदेशमा आयोजना गरिने उनले जानकारी दिए।

Advertisement 2

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजी कमजोर भएकाले रोजगार सिर्जना कम भएको बताए। ‘पुँजी कमजोर भएका कारण उद्योग फस्टाउन सकेनन् साथै रोजगार पनि सिर्जना हुन सकेन,’ उनले भने।

बैंकको चर्को ब्याज र कोभिड–१९ का कारण थला परेका उद्योगलाई फस्टाउन सरकारले आवश्यक नीति बनाउनुपर्ने सुझाव दिँदै मुख्यमन्त्री कार्कीले समाजवादको नारालाई पूरा गर्न राष्ट्रिय पुँजी बलियो बनाउनुपर्नेमा जोड दिए।

Advertisement 3

उनले विराटनगरको जोगबनीदेखि चीन जोड्ने किमाथांका बाटो निर्माण भए हजारौँ रोजगारी सिर्जना हुने बताए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले मुलुकमा थुप्रै रोजगारको अवसर भएको उल्लेख गर्दै रोजगारदाता र रोजगारी खोज्नेबीच दूरी घटाउन मेला आयोजना गरिएको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानी गर्ने वातावरण सिर्जना भएमा रोजगारीको समस्या त्यसै समाधान हुने भन्दै निजी क्षेत्रको विकास गर्न सरकारबाट भएका काम सराहनीय रहेका बताए।

प्रकाशित :२०८१ जेष्ठ १७, बिहीबार १४:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry