गर्मीले विद्युत् माग बढ्यो, बारा र पर्साका औद्योगिक क्षेत्रमा ‘ट्रिपिङ’ समस्या

वीरगञ्ज। औद्योगिक नगरी बारा र पर्सामा विद्युत्‌को माग र आपूर्तिबीच सन्तुलन नमिल्दा ट्रिपिङ (झ्याप्प–झ्याप्प) विद्युत् कटौती हुने समस्या देखिएको छ। बारा र पर्साका औद्योगिक कोरिडोरमा दैनिक ३ सय मेगावाट विजुलीको माग भए पनि अहिले २ सय मेगावाटको हाराहारीमा मात्रै विद्युत् आपूर्ति हुँदै आएको छ। त्यसैले बेला बखत यहाँ विद्युत् झयाप्प–झ्याप्प जाने समस्या देखिएको हो।

Advertisement 1

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अवधेशकुमार दुबे विद्युत्को माग र आपूर्तिबीच सन्तुलन नहुँदा बेला बखत ट्रिपिङ हुने समस्या रहेको बताउछन्। ‘बारा–पर्सा औद्योगिक कोरिडोरमा तीन सय मेगावाट विद्युत्को माग छ,’ उनले भने, ‘रक्सौल–परवानीपुर १३२ केभीको प्रसारण लाइनबाट एक सय ४० मेगावाट विद्युत् भारतबाट आयात हुँदै आएको छ। अन्य ६० मेगावाट विद्युत् ११ केभीको प्रसारण लाइनबाट आपूर्ति हुँदै आएको छ।’

प्रमुख दुबेले बारा–पर्साका औद्योगिक क्षेत्रलाई प्राथमिकताका साथ विद्युत् उपलब्ध गराउँदै आएको बताए। बारा र पर्सामा अत्यधिक गर्मी बढेकाले पनि घरासयी तथा औद्योगिक क्षेत्रको विद्युत्को माग अत्यधिक बढिरहेकाले पनि बेला बखतमा ट्रिपिङ हुने गरेको उनको भनाइ छ।

Advertisement 2

प्रमुख दुबेका अनुसार परवानीपुर–पिलुवा एक सय ३२ केभीको डबल सर्किट लाइनको प्रसारण लाइनमध्ये एउटा लाइनको कन्डक्टर अपग्रेडको काम भइरहेको छ। ‘कन्डक्टर अपग्रेडको काम केही समयभित्रै सक्ने प्रयास भइरहेको छ। त्यसपछि वितरण लाइनमा केही सहजता आउनेछ,’ उनले भने। उक्त समस्या एक महिनाभित्र समाधान हुने उनको भनाइ छ। वीरगञ्ज वितरण केन्द्रअन्तर्गत कूल ५६ हजार ग्राहक छन्।

प्रकाशित :२०८१ जेष्ठ १४, सोमबार १०:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry