नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिनेमा प्रतिबद्ध छौँः परराष्ट्रमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवम परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल–चीनबिच उच्चस्तरीय भ्रमणको आदान प्रदानबाट द्विपक्षीय सम्बन्धमा ऐतिहासिक प्रगति र गतिशीलता हासिल गरिएको बताएका छन् । नेपालस्थित चिनियाँ राजदूतावासले आइतबार आयोजना गरेको नेपाल–चीनको कूटनीतिक सम्बन्धी कार्यक्रममा उनले चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण, नेपालबाट तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण त्यसपछि भएका विभिन्न उच्चस्तरीय भ्रमणले दुई देश बिचको चिरस्थायी मित्रता सहितको सहकार्यको रणनीतिक साझेदारीलाई बढवा दिएको बताएका हुन् ।
Advertisement 1
परराष्ट्र मन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशबिच सम्झौता, परियोजना र पारस्परिक सहयोगका विषयमा सहमति भएको बताए । उनले भने, ‘भ्रमणका क्रममा भएका सहमतिहरू कार्यान्वयन गर्न हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ ।’ नेपाल–चीनबिच भएको उच्चस्तरीय भ्रमणले दुवै देशको सम्बन्धलाई अझै उचाइमा पुर्याएको बताउँदै उनले आफूले हालै गरेको चीन भ्रमणले दुई देशको सम्बन्धमा झन् सहयोग पुर्याएको बताए ।
भ्रमणका क्रममा कनेक्टिभिटी, पूर्वाधार विकास, कृषि, व्यापार, पर्यटन, लगानी, आइसिटी, जनस्तरको सम्बन्ध लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको समेत उनले बताए । नेपाल र चीनबिच रहेका परम्परागत १४ वटा नाका खुलाउने सहमति भएको बताउँदै उनले चीनले नेपालीका लागि भिसा निःशुल्क गरेको विषय पनि भ्रमणको उपलब्धि रहेको बताए ।
Advertisement 2
नेपाल एक चीनप्रति प्रतिबद्ध रहेको बताउँदै उनले नेपालको भूमि चीनका विरुद्ध प्रयोग हुन नदिनेमा प्रतिबद्ध रहेको बताए । तिब्बत तथा ताइवान चीनको भू–भाग रहेको विषयमा नेपाल स्पष्ट रहेको बताउँदै उनले चीन पनि नेपालको सार्वभौमिकता तथा अखण्डताप्रति प्रतिबद्ध रहेको आफूले पाएको बताए ।
नेपाल र चीनले व्यापार, लगानी, विकास सहयोग, पर्यटन, संस्कृति लगायतको दायरा अभिवृद्धि गर्न द्विपक्षीय संयन्त्रमार्फत मिलेर काम गरिरहेका बताउँदै मन्त्री श्रेष्ठले नेपाल र चीनबिच भएको बेल्ट एन्ड रोड इनिसिएटिभ्ससम्बन्धी सम्झौता चाँडै कार्यान्वयनमा आउने पनि उनले बताए । उनले भने, ‘बीआरआई कार्यान्वयन योजना अन्तिम चरणमा छ । नेपाल आपसी सहज समयमा हस्ताक्षर गर्न तयार छ ।’
Advertisement 3
नेपालले ग्रुप अफ फ्रेन्ड्स अफ ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्समा सामेल हुने निर्णय गरेको जानकारी गराउँदै मन्त्री श्रेष्ठले जलवायु परिवर्तन विरुद्धको लडाई लगायतका साझा विकास प्रयासहरूमा थप संलग्न हुने निर्णय आफैँमा उपलब्धि भएको बताए । नेपालले आयोजना गरेको लगानी सम्मेलनमा चीनले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले नेपाल भ्रमण वर्ष सफल पार्न समेत चीनलाई आग्रह गरे ।