देशभर वन डढेलोको अवस्था विकराल बन्दै, ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो

काठमाडौँ । देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ ।
Advertisement 1
वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । यता जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल तथा मौसम पूर्वानुमान महाशाखाले भने तत्कालका लागि डढेलो नियन्त्रण हुने किसिमको वर्षा नहुने बताएको छ । आगामी तीन दिनसम्म मुलुकको केही स्थानमा छिटफुट मात्रै वर्षाको सम्भावना भए पनि डढेलो नियन्त्रण हुने गरी पानी नपर्ने महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।
उनले भने, ‘आगामी तीन दिनसम्म कोशी, गण्डकी, कर्णालीका केही पहाडी भेगमा आंशिक बदलीसहित छिटफुट वर्षाको सम्भावना रहेको छ । तर वन डढेलो नै नियन्त्रण हुने किसिमको पानी पर्ने सम्भावना तत्काल छैन । अन्य भूभागमा भने मौसम सफा रहनेछ ।’
Advertisement 2
वन डेढेलो नियन्त्रणकै कारण ललितपुरमा दुई जनाले ज्यान गुमाइसकेका छन् । गोदावरी नगरपालिका–४ बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा शङ्कर पहारीको मङ्गलबार तथा रमेश पहारीको बुधबार बिहान मृत्यु भएको हो ।
लामो समयसम्म पानी नपरेको र सुक्खा भएका कारण वन डढेलो नियन्त्रणमा आउन गाह्रो भइरहेको प्राधिकरणका डढेलो विज्ञ सुन्दर शर्माले बताए । उनले भने, ‘आज पनि देशभर डढेलोको अवस्था विकराल बनेको छ । नेपालको भौगोलिक विकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ । पानी परेको छैन, तर हावाहुरीले वारिको आगो पारि पुर्याएर डढेलो फैलिरहेको छ ।’
Advertisement 3
उनका अनुसार डढेलोबाट सल्यान, सुर्खेत, कैलाली, दैलेख, डोटीलगायतका जिल्ला प्रभावित भएका छन् । वन डढेलोका कारण ज्यान र मानवीय बस्ती नै कसरी बचाउने भन्ने चिन्ता भएको उनको भनाइ छ । शर्माले वन डढेलोका कारण बर्सेनि ८० घर जल्ने गरेको जानकारी दिए । उनका अनुसार नेपालमा साधारणतया वर्षमा दुइ हजार ५०० को हाराहारीमा डढेलोको घटना हुन्छन् । , शर्माले भने, ‘८० प्रतिशत वन डढेलोको घटना फागुनको मध्यदेखि जेठको मध्यसम्म चार महिनामा हुने गर्छ । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटना हुने गर्छ । यस कारण अहिले हामी उच्च जोखिमको समयमा छौं । ‘मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलोको घटना हुने भएकाले यो समयमा एकदमै सतर्क भएर बस्नुपर्ने अवस्था छ । वैशाखको दोस्रो साता एकदमै डढेलो लाग्ने गर्छ । यो समयमा डढेलोको घटना बढी हुने गरेको पाइन्छ ।’
वनको दिगो व्यवस्थापन हुन नसक्दा वन डढेलोको घटना पनि बढिरहेको भन्दै संरक्षणमुखी वन व्यवस्थापनमा भन्दा व्यवस्थापनमुखी वन विकासमा जोड दिनुपर्ने वनविज्ञ डा.सोनी बराल गौलीले बताए । जङ्गली जनावारले घरपालुवा जनावारलाई आक्रमण गर्ने र जङ्गली जनावार धपाउनका लागि पनि वनमा आगो लगाउने गरेको डिभिजन वन कार्यलय ललितपुरका वन अधिकृत थीरप्रसाद कोइरालाले जानकारी दिए । मानवीय कारणले नै जङ्गलमा आगलागीका घटना बढिरहेको उनको भनाइ छ ।
वन डढेलो नियन्त्रण गर्नकै लागि अहिले डिभिजन वन कार्यालयले व्यापक जनचेतनाका कार्यक्रम सुरु गर्न थालेको छ । यस्ता घटनामा मानवीय गतिविधि रोक्न केही डिभिजन वन कार्यालयले सिसी क्यामरा जडान कार्यसमेत सुरु गर्न थालेको छ । चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा जङ्गलमा फाल्ने, जङ्गलमा घाँस पलाउने भन्दै जाना जान लगाउनेजस्ता मानवीय गतिविधिका कारण जङ्गलमा आगो लाग्ने गरेको डिभिजन वन अधिकृतको भनाइ छ ।
सिसी क्यामरा जडान गरेर डढेलो लगाउनेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउन पनि वनविद्को सुझाव छ ।
मानिसले जानाजान जङ्गलमा आगो लगाउन थालेपछि नियन्त्रणका लागि सिसी क्यामरा जडान अगाडि बढाइएको कपिलवस्तुका डिभिजन वन अधिकृत विजयराज सुवेदीले बताए । उनले भने, ‘हाल दुई वटा सिसी क्यामरा जडान भइरहेको छ । अब सिसी क्यामरा जडानको प्रक्रियालाई प्रथिमकतामा राखेर अगाडि बढाउने सोच बनाएका छौँ । नभए त जङ्गलमा गएर आगो लगाउने गतिविधि नै नरोकिने भयो । कारबाहीको दायरामा ल्याउन पनि सहज हुनेछ ।’
यस्तै अन्य डिभिजन वन कार्यालयले पनि यस्ता मानवीय गतिविधि नियन्त्रणका लागि वन क्षेत्रमा सिसी क्यामरा राख्ने तयारी गरेको जनाइएको छ । यसका साथै वनका पातपतिङ्गर सफा गरेर आगलागी हुन नदिनेलगायतका कार्य अगाडि बढाइएको छ ।
मानिसले जङ्गलमा आगो लगाएमा कारबाही हुने कानुनी व्यवस्था छ । वन ऐन २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ । ‘कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ’, ऐनमा उल्लेख छ ।
वन डढेलो व्यवस्थापन रणनीति २०६७ ले डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकाय परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रिम जानकारी लिन पूर्वतयारी गर्नेलगायतका लक्ष्य राखेको छ ।
वन डढेलो व्यवस्थापन रणनीति २०६७ ले डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकाय परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रिम जानकारी लिन पूर्वतयारी गर्नेलगायतका लक्ष्य राखेको छ ।
यसैगरी आगोको व्यवस्थित प्रयोगबाट पारिस्थितिकीय प्रणालीमा सकारात्मक प्रभाव र स्थानीय जनताको जीविकोपार्जनमा टेवा पुर्याउने, आन्तरिक तथा अन्तरदेशीय डढेलो विपद् तथा यसबाट उत्पन्न जलवायु परिवर्तनलगायत वातावरणीय समस्या समाधानका लागि द्विपक्षीय, बहुपक्षीय समन्वय, सहकार्य र सहयोग विस्तार गर्ने रणनीतिमा उल्लेख छ ।
रणनीतिको मुख्य लक्ष्य डढेलोबाट हुने जन, धन, वन, जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीको क्षतिलाई न्यूनीकरण गर्दै यसको उचित व्यवस्थापनबाट वनको उत्पादकत्वमा टेवा पुर्याउनु रहेको छ । नीतिगत, कानुनी तथा संस्थागत सुधार गर्ने, बहुसरोकारवालाको संलग्नतामा वन क्षेत्रसँग सम्बन्धित नीति, ऐन, नियम, निर्देशिका तथा मार्गदर्शनको परिमार्जन गरी डढेलो व्यवस्थापनसम्बन्धी विषयलाई समावेश गरी प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाइने डढेलो निरोधात्मक रणनीति रहेको छ ।
साथै, नयाँ बन्ने वनसम्बन्धी नीति, रणनीति, ऐन, नियम, निर्देशिका तथा मार्गदर्शनमा वन डढेलोको विषय समावेश गरिने वन तथा भू(संरक्षण मन्त्रालय र अन्तर्गतका निकायको संस्थागत संरचना सुधार गरी वन क्षेत्रबाहेकका अग्नि प्रकोप व्यवस्थापन तथा नियन्त्रण सम्बन्धित निकायसँगको समन्वयमा डढेलो व्यवस्थापन संरचना वा संयन्त्रको विकास गरिँदै लगिने रणनीति छ ।
तर, सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)का अध्यक्ष ठाकुर भण्डारीले उक्त रणनीतिको प्रभावकारी कार्यान्वयनको अभाव रहेको बताए । उनले भने, ‘वनमा लागेको आगलागी नियन्त्रणमा जाँदा उपभोक्ताको ज्यानै गएको छ । सरकारले कसरी सुरक्षित तरिकाले आगलागी नियन्त्रण गर्ने भन्ने विषयमा क्षमता अभिवृद्धि गर्न जरुरी छ ।’