शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका राजाबीच भेटवार्ता, विपिन जोशीको रिहाइको पहल गरिदिन आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ । मंगलबार अपरान्ह भएको दुई राष्ट्रप्रमुखबीचको भेटमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा पनि विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको हो ।

Advertisement 1

शीतल निवासको गण्डकी हलमा भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारी सहभागी थिए । कतारका अमिर अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै शीतल निवास पुगेका थिए ।

यसअघि, विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत विशिष्ट पदाधिकारीले अमिर अल थानीलाई स्वागत गरेका थिए । अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलले मंगलबार नै रात्रिभोजको आयोजना गरेका छन् । कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच बुधबार द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । राष्ट्रपति पौडेलको निमन्त्रणामा कतारका अमिर अल थानी मंगलबार नै नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आएका हुन् ।

Advertisement 2

राष्ट्रपति रामचन्द्र पौडेल र नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता गर्दै । तस्बिरः रत्न श्रेष्ठ / रासस

यसैविच भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले इजरायलमा हमासको आक्रमणपछि बेपत्ता रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अमिरसँग आग्रह गरेका छन् । द्विपक्षीय भेटवार्ताका क्रममा पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्त्वपूर्ण चासोको विषय रहेको बताउँदै रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेका राष्ट्रपति कार्यालयका प्रवक्तासमेत रहेका सहसचिव सैलजा रेग्मीले जानकारी दिईन ।

गत ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका जोशीको अवस्था अझै अज्ञात छ । कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने जवाफ दिएका प्रवक्ता रेग्मीले बताईन ।

प्रकाशित :२०८१ बैशाख ११, मंगलवार २१:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry