नगदविहीन बजार
कुमार दाहाल,
Advertisement 1
२०४६ को आन्दोलनपछि वीर गणेशमानले भनेका थिए, ‘अब राजनीतिक आन्दोलन सकियो । आर्थिक क्रान्ति गरौँ ।’ तर उनको भाषा नेपाली कांग्रेसले समेत बुझेन । त्यतिखेर राजनीतिबाट खुला भएको समाज लगानी, बचत र उत्पादनबाट अगाडि बढ्न चाहन्थ्यो ।
संसारकै उदारवादी अर्थतन्त्रले साहारा दिएकै थियो । आर्थिक वर्ष २०४८/०४९ देखि २०५१/०५२ सम्म नेपालको आर्थिक बृद्धिदर झण्डै आठ प्रतिशतसम्म पुग्यो । यो उदारीकरण र प्रजातन्त्रको पहिलो संकेत थियो । तर यसैमा राजनीति रमाउन थाल्यो र बजारको विश्वासमा संस्थान बिक्री हुँदै गए । अन्ततः रोजगारी सकियो । घर जग्गा र अनुत्पादक क्षेत्रमा लगानी यति बढ्यो कि उद्योग क्षेत्र ओझेलमा पर्यो ।
Advertisement 2
आयातमुखी अर्थतन्त्रले व्यापार र उद्योगको सीमा रेखालाई छुट्याएन । घर जग्गाको लगानीले बिस्तारै बैंकिङ क्षेत्र अव्यक्त ट्रयापमा पर्दै गयो । यो स्वाभाविक थियो किनकि जग्गा दर्ता र आयातमुखी कर नीतिले आजको अवस्था निम्त्याउँछ भन्ने कुरा राजनीति भित्रका विज्ञलाई थाहा थिएन भन्ने ठाउँ छैन । कारण यो दुवै कर प्रणाली संसारमा भरपर्दो होइन, र स्थायी मानिदैन । यिनै कर्मबाट आज नेपालको अर्थतन्त्र यो अवस्थामा पुग्यो भन्दा दुईमत नहोला ।
कार्ल माक्र्स पुँजीको ध्रुवीकरणबाट मध्यमवर्गीय पँुजीपति वर्ग श्रमिक वर्गमा पलायन हुने र तिनै श्रमिकबाट पुँजीवादको विरुद्धमा आवाज उठ्ने कुरा गर्छन् । अर्थ राजनीतिको समीकरण नभएको हाम्रो देशमा उनको यो सिद्धान्त कतिको लागू होला भन्न सकिँदैन । तर, यसको प्रभाव अहिले देखिएको छ ।
Advertisement 3
निम्न मध्यमवर्गीय र मध्यमवर्गीय उद्योगी, व्यापारी, लगानीकर्ता अहिले मारमा छन् । उनीहरूको घरजग्गा लिलामीमा छ । पाखुरा बलियो हुने र अवसर भएकाहरु विदेसिँदै छन् । केही गराैँ भन्ने सोच र जाँगर भएकाहरु देशभित्रै परिवर्तनको खोजीमा छन् ।
उनीहरूका लागि यो अवस्था बाँच्नु न मर्नुको सीमामा छ । यसलाई खेल सम्झिनु सकिनु हो । किनकि जीवनको केन्द्रविन्दुमा अहिले पैसा छ । उच्च पुँजीपति वर्ग आफ्नै बैंक र पुँजीमा ढुक्क छ । बैंकमा ब्याज घटाउने र बढाउने उनैको हातमा छ । उनीहरु मध्यमवर्गीय र निम्न आय भएका उद्योगीको संरक्षणमा ध्यान दिँदैनन् । पुँजीको संरक्षण कसरी हुन्छ ? र कुन देशमा हुन्छ यो चिन्ता अहिले उनीहरुमा छ ।
सरकारले कठोर कदम चाल्न सक्दैन भन्ने कुरामा यो वर्ग विश्वस्त छ, किनकि राजस्वको अधिकांश हिस्सा ओगट्ने उद्योगी र व्यापारी वर्ग बिना आन्तरिक आय मजबुत हुँदैन भन्ने मानसिकता सरकारमा छ ।
तर अर्थतन्त्रको मेरुदण्ड मध्यम र निम्न वर्गीय लगानीकर्ता सडकमा पुगिसकेका छन् । यो वर्ग लगानी उठ्ने र आफू कसरी सुरक्षित हुने भन्ने खोजीमा छ । बैंकको ब्याज घटे पनि बैंकको रबैयाबाट मुक्त हुन सजिलो छैन भन्ने उनीहरुलाई भय छ । अहिले सुरुवाति आन्दोलनको विषय यसैमा केन्द्रित भए पनि आन्दोलनको सीमा रेखा यसै भित्र सीमित होला भन्न सकिँदैन ।
राजनीति शास्त्रको आदर्श शासनपद्धति गणतन्त्र हो । गणतन्त्रमा राजनीतिका सबै सम्भावना पूरा हुन्छन् । गणतन्त्रबाट एकात्मक राजनीतिको आदर्श खोज्नु भनेको राजनीतिक मजाक हो । तर, यही मजाक हामी भोग्दैछौं । सायद गणतन्त्रवादीलाई यो कुरा नपच्ला । सत्य यही हो । गणतन्त्रभन्दा उच्च अर्को तन्त्र राजनीतिशास्त्रमा सिद्धान्ततः छैन ।
तर, विडम्बना नेपालको आदर्श शासन राजतन्त्रलाई नै मानिँदै छ । राजनीतिशास्त्रमा यसलाई परिवर्तन होइन पुनरागमन भनिन्छ । यो प्रजातन्त्रिक आन्दोलन कै अर्को रूप हो ।
त्यसैले अहिलेको आन्दोलन राजनीति कम र आर्थिक क्रान्तिको सुरुवात बढी हो । पुँजीले पद्धति निर्माण गर्दा यसले राजनीतिका सबै आदर्शलाई भत्काउन सक्छ । आर्थिक होसियारीमा राजनीति दाउमा राख्ने धेरै देश अहिले विकसित भइसकेका छन् । यो कुरा हाम्रा राजनीतिक दल र नेताले कहिल्यै हेक्का राखेनन् । गणतन्त्रलाई धन्दा बनाउनेका दिन अब फर्केलान् जस्तो लाग्दैन ।
२० लाख तलब दिएर सिइओ नियुक्ति गर्ने र अर्वौैं नाफा देखाउने बैंक अहिले ब्याजदर घटाउन डराउँछन् । बैंकका यी प्रगतिबाट कोही खुसी छैनन् । सायद मालिक यसमा मनोरन्जन गर्लान् । किनकि संसारमा सजिलै पैसा कमाउने एउटै मात्र उपाय भनेकै ब्याज हो ।
अर्थशास्त्रमा यसलाई आर्थिक अपराध मानिन्छ । यसबाट युवा पलायन, गाउँघर सुनसान र आयातमुखी व्यापार निश्चित होला । तर, आन्तरिक उत्पादन, उद्योग, रोजगारी र निर्यात वृद्धि सम्भव छैन । यसका लागि ब्याज पाँच प्रतिशतभन्दा कममा झार्नै पर्छ ।
बचत र लगानीको अन्तर दुई प्रतिशतभन्दा बढी हुनुहुँदैन । अमेरिकामा बचतमा एक प्रतिशत कम र लगानीमा दुईदेखि तीन प्रतिशतमा पुँजी पाइन्छ. । यसले उद्यमी बढ्छ । प्रतिस्पर्धा बढ्छ । खेत गुल्जार हुन्छन् .। पाँच प्रतिशतभन्दा तल ब्याजपछि सरकारी अनुदान कटौती गरे हुन्छ । निश्चित संरक्षित क्षेत्रमा मात्र अनुदान दिए हुन्छ । सरकारी अनुदानका विकृति स्वत सिद्धिन्छन् । छिमेकी बजारसँग उत्पादनले प्रतिस्पर्धा गर्न थाल्छ । यसका लागि बैंकले सोच्नै पर्छ । यो नै लगानीको मूल सूत्र हो । त्यसपछि लगानीकर्ताले जहाँ आफूलाई सम्भावना देख्छ, त्यही लगानी गर्छ ।
राष्ट्र बैंकले ब्याजदर नियमन गरे पुग्छ । लगानीका क्षेत्रको निगरानी र नियमन गरिरहनु पर्दैन, जुन अहिले पनि कमजोर छ । व्याजदरको स्थिरता लगानीको प्रथम सुचक हो ।
यही मात्र गरेको भए पनि अहिले सर्वसाधारण आन्दोलित हुनुपर्ने स्थिति आउदैन थियो कि ? मुद्रालाई वस्तु र सेवाको आयात र निर्यातले बलियो बनाउँछ, मुद्राको निर्यातले होइन । चालु खाताको अनुबन्धले कसैलाई असहज बनाएकै होला । तर उद्यम, उद्यमी र व्यापारबाट नै देशको मुद्रा बलियो हुन्छ । यो हेक्का सरकार र पुँजी उत्पादक दुबैले गर्नैपर्छ ।
त्यसैले लगानी, बैंकको भूमिका र व्याजको सन्तुलन आजको माग हो । यसैबाट विदेशिएका युवा लगानी गर्न देश फर्किन्छन् । किनकि विदेशमा थुप्रै नेपालीसँग पैसा छ, प्रविधि छ, ज्ञान र अनुभव छ । उनीहरु नेपालमा लगानीको अवसर खोज्दैछन् ।
यसको मुख्य आकर्षण नेपालको अर्थनीति नै हो । अर्थनीति लगानी अनुकूल भएपछि राजनीतिप्रति मानिसको खासै चासो हुदैन । यो स्वतः प्रजातान्त्रिक छदैछ । पैसाको व्यापार गरेर धन कमाउने उद्यमी बढेपछि सीमान्त र मध्यम वर्गका व्यापारीले आन्दोलन नगरे के गर्ने ? यसलाई देशको समग्र आर्थिक क्रान्तिले मात्र समेट्न सक्छ ।
अहिले सबै कारोबार नगदमा हुदैछन् । तर यही रफ्तारमा अघि बढ्ने हो भने देशमा आगामी पाँच वर्षमा बजार नगदविहीन हुने निश्चित छ । यो बिक्रेता र ग्राहक दुवैको माग हो । ५० हजारभन्दा माथिको सबै कारोबार डिजिटल गर्दा बजारको पैसा स्वतः बैंकमा जान्छ । तरलता सस्तो ब्याजमा सीमान्त वर्गसम्म पुग्छ ।
यसले अर्थतन्त्रको जीवन पद्धतिलाई बढी चलायमान बनाउँछ । धेरै देशले अपनाएको अर्थनीति नै यही हो । यसबाट पैसा बैंकमा राखेर ब्याजको सपना देख्ने नेपाली बानीमा यसले केही फरक पर्ला कि ? तर यस्ता नीतिको सुरुवात भने त्यति सजिलो छैन । किनकि देशको अर्थनीति उच्च पुँजीपतिको हातमा पुगिसकेको छ । तर, त्यो वर्ग पनि यो संकटबाट सुरक्षित छैन ।
हुन त परिवर्तनको माग अहिले रहर होइन, बाध्यता बनेको छ । र यसले अरु संरचनामा असर गर्दै जान्छ । भीड मनोविज्ञानले निर्धारण गरेको नीति विवेकशील नहुनसक्छ । त्यसैले समयमा द्धन्द्ध बुझ्नु व्यवस्थापनको सर्वोत्तम कला हो । त्यसैले अहिले नै सबै वर्ग र क्षेत्र परिवर्तनका लागि तयार हुन जरुरी छ ।