प्रमुख प्रशासकीय अधिकृत र मेयरसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालिन नगर प्रमुख र तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७८–७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनियमितता गरेको भन्दै नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा गंगा पासमान र निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँच जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
Advertisement 1
अख्तियारले तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मण्डलले स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आह्वानको लागि निर्णय गरी सार्वजनिक सम्पत्तिको नोक्सानी पुर्याएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।
त्यस्तै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविनकुमार महतोले निर्माण स्थलको व्यवस्था नभई भवन बनाउनको लागि सम्झौता गरेको र निर्माण कम्पनीलाई पेस्की रकम दिएको अख्तियारले दाबी गरेको छ । निर्माण व्यवसायी महालक्ष्मी पाण्डे एण्ड कम्पनीरड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवले कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि पेस्की लगेर काम सुरु नगरेको अख्तियारको भनाइ छ ।
Advertisement 2
अदालतको आदेशसमेत नमानी सार्वजनिक सम्पत्तिको नोक्सानी पुर्याएको भन्दै अख्तियारले सबै प्रतिवादीलाई एक करोड आठ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना गर्नुपर्ने दाबी गरेको छ । उच्च अदालत जनकपुरले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र स्थानान्तरण नगराउन आदेश दिएको थियो ।