मन्त्री आवासले हराउँदै मगर गाउँको परिचय

ललितपुर । ललितपुर महानगरपालिका–१८ भैँसेपाटीको सैँबु मगर गाउँमा मन्त्री आवास निर्माण भएपछि बिस्तारै हराउँदैछ यस गाउँको परिचय।
Advertisement 1
संघीयमन्त्रीका लागि ९६ रोपनीसहित प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि २७ रोपनी १२ आना जग्गामा आवास निर्माण भएपछि मगर गाउँको परिचय नै आवास क्षेत्र बन्दै गएको छ।
शाहकालीन राज्यदेखि नै मगर गाउँको इतिहास छ। नेपाल एकीकरण गर्नेक्रममा बहादुर मगर जातिले आफूलाई ठूलो सहयोग गरेको भन्दै विसं १७६९ मा पृथ्वीनारायण शाहले ललितपुरको भैँसीपाटीमा गोरखा जिल्ला पीपलथोक धातथलोका जगजजित थापालाई पाँच सय रोपनी जग्गा लालमहोहर लगाएर दिएको इतिहास शिलालेखमा उल्लेख गरिएको इतिहासका जानकार एवं स्थानीय राजेश पन्तले बताए।
Advertisement 2
समयअनुसार बस्ती बढ्दै गएपछि ललितपुरको सैँबु मगर गाउँको नामले परिचित भएको थियो। गोरखा जिल्लाका थापा मगर बसाइँ सरेर सैँबु मगर गाउँमा आएपछि पीपलबोट रोपेको इतिहास पनि शिलालेखमा उल्लेख गरिएको छ। त्यही पीपलको रुख भएको ठाउँलाई अहिले मगर गाउँ चोकको नामले चिनिन्छ।
उनले भने, ‘मन्त्री निवास निर्माण गर्ने बहानामा ऐतिहासिक बस्तीको बेवास्ता गर्नुभएन। आवास क्षेत्र वरपर ११ मिटर चौडा बाटो चाहिन्छ भनेर विरोध गरेका हौँ।’
Advertisement 3
ऐतिहासिककालदेखि स्थापित भएको गाउँको परिचय गुम्ने हो कि भन्ने चिन्ता बढेको पन्तको भनाइ छ। गरे। उनले भने, ‘सहरीकरण बढ्दै गएपछि मगर गाउँको परिचय लोप नहोस् भनेर शिलालेख निर्माण गरेका छौँ। शिलालेखमा एकीकरणको समयमा मगर समुदायले पृथ्वीनारायण शाहलाई पुर्याएको योगदानका बारेमा उल्लेख छ।’
मगर गाउँ चोक छेउमा विसं २०६५ मा निर्माण गरिएको पशुपतिनाथ मन्दिर छ। त्यही मन्दिरको मुख्य गेटमा मगरगाउँको इतिहास झल्किने शिलालेख तयार गरिएको छ। मन्त्री आवास निर्माण नहुँदा आवास क्षेत्र खेतीयोग्य जमिन भएको पशुपतिनाथ मन्दिरका पुजारी सुदर्शन अर्यालले बताए।
अहिले धेरैले मगरगाउँलाई मगर गाउँ नभनेर आवास क्षेत्र भन्ने गरेका पजारी अयालले बताए। मगर गाउँको परिचय बिस्तारै हराउँदै गएको उनको भनाइ छ। मन्त्री आवास निर्माण भएपछि स्थानीयले फराकिलो बाटो र बस्ती सुरक्षा तथा पार्क हुनुपर्ने माग गर्दै आएका छन्।
प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माण सकिए पनि सङ्घीयमन्त्री भने अझै काम सम्पन्न भएको छैन। -रासस