ट्रकबाट आगो सल्किँदा कर्णाली पुलको ‘सपोर्ट’ डोरीमा आंशिक क्षति, आवतजावत बन्द
लम्की। सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवतजावत बन्द गरिएको छ। प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले बताएको छ। आगलागीबाट पुलको १४ वटा ‘सपोर्ट’ डोरीमा आंशिक क्षति पुगेको छ। पुलमा तत्कालका आगि यातायात बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले जानकारी दिए। ‘हामी रातिदेखि नै घटनास्थलमा छौँ।
Advertisement 1
आज बिहान प्राविधिकको अर्को विशेषज्ञ टोली आउँदैछ। पुलको परीक्षण नहुँदासम्म पुलमाथि सवारीसाधन आवतजावत बन्द गरेका छौँ।’ कर्णाली पुलबाट सवारीसाधन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौँ तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न सबैलाई अग्रह गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले बताए।
काठमाडौँ तथा अन्य जिल्लाबाट सुदूरपश्चिम प्रदेश भित्रिने सवारीसाधनलाई नेपालगञ्ज र बर्दिया हुँदै टीकापुरको मार्ग प्रयोग गर्न उनले बताए। कर्णालीको पुलमा गुड्दै गरेको अवस्थामा सोमबार अपराह्न पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा पछाडिबाट एक्कासी आगलागी भएको थियो। लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दियाबाट आएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो ४ घण्टापछि राति ९ बजे पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरी निरीक्षक डाँगीले बताए।