जताततै फेरी कोरोना फैलियो

बढ्दो हेलचेक्र्याइँ र बेवास्ताका कारण कोरोना संक्रमणको दोस्रो लहरको जोखिम अत्यधिक बढेको छ । त्यसैले, फेरि एकपटक सबै जना चनाखो हँुदै सावधानी अपनाउनुपर्ने अवस्था आएको छ । मास्क र स्यानिटाइजरको उचित प्रयोग तथा भौतिक दूरीमा विशेष जोड दिएर सावधानी अपनाउन सकिए दोस्रो लहरको कोरोनाबाट बच्न सकिने चिकित्सकले बताएका छन् ।
१५ महिनादेखि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको दोस्रो लहरले विश्वलाई झस्काउन थालेको छ । युरोप, अमेरिका हुँदै हाल विश्वका विभिन्न मुलुकमा देखिएको दोस्रो लहर अझ बढी प्राणघातक रहेकाले सजगता अपनाउन सामाजिक सञ्जालमा विश्वव्यापी प्रचार शुरु गरिएको छ ।
Advertisement 1
छिमेकी मुलुक भारतमा समेत फैलन थालेको कोरोनाको दोस्रो लहरका कारण साउदी अरेबियाले लकडाउन घोषणा गरेको छ । मुलुक बाहिर र भित्र हुने सबै हवाई उडानमा रोक लगाइएको छ । त्यसैगरी,तान्जानियाले पूर्ण लकडाउन थालेको छ भने ब्राजिल फेरि गत वर्षको जस्तै हजारौं मानवीय क्षतिको चरणमा प्रवेश गरेको छ । उता,स्पेनले पनि मार्च अन्तिमसम्मको लागि संकटकाल घोषणा गरिसकेको छ । बेलायतले एक महिनाको लकडाउन शुरु गरेको छ । ती सबै देशले दोस्रो लहर पहिलो भन्दा बढी घातक हो भनेर पुष्टि गरेका छन् । त्यसैले अब विश्वका अन्य देशले समेत थप होशियारी र सबै खालका सावधानीहरू अपनाउनुपर्ने अवस्था छ ।
हिजोसम्म विश्वमा कोरोना भाइरसबाट १२ करोड ३८ लाख ७७ हजार ६४ जना संक्रमित भएका छन् । ९ करोड,९७ लाख ९८ हजार २ सय ५५ जना निको भएका छन् भने २७ लाख २७ हजार ८ सय ९९ जनाको निधन भइसकेको छ ।
भिडभाड, सभा र जुलुस नगर्न अपिल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने कुनै पनि किसिमका सभा–सम्मेलन नगर्न सबैलाई अपिल गरेको छ । भारतमा कोरोना संक्रमण दर बढेसँगै मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी देशभर कुनै पनि सभा तथा सम्मेलन आयोजना नगर्न अपिल गरेको हो ।नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, (याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने व्यवसाय र कार्य नगर्न÷नगराउँन स्वास्थ्य मन्त्रालयले आह्वान गरेको हो । यद्यपि, कलेज, सिनेमा हल निर्बाध रूपमा जनस्वास्थ्यका मापदण्ड पालना नै नभई सञ्चालनमा छन् ।
Advertisement 2
मन्त्रालयले हात धुन, मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्नेगरी जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैमा अपिल गरेको छ । मन्त्रालयले यसअघि पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न र हेलचेक्र्याइँ नगर्न अपिल गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । नेपालमा हालसम्म २ लाख ७५ हजार ९ सय ६ जनामा संक्रमण देखिएको छ । आइतबार मात्रै देशभर ७७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।