मन्त्रीको ‘रिर्पोट कार्ड’:- शरद्सिंह अब्बल, डिगबहादुर सबैभन्दा कमजोर

प्रचण्ड सरकारको ‘हिरो’ मानिएका मन्त्रीहरू नै कार्यसम्पादनमा ‘कमजोर’ ! यो कसैले लगाएको आरोप होइन, गृहले पठाएअनुसार प्रम कार्यालयले तयार पारेको ‘रिपोर्ट कार्ड’ ले बोलेको तथ्य हो ।

Advertisement 1

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोचोटी प्रधानमन्त्री बनेको वर्ष दिन पुग्दैछ १० पुसमा । उनको क्याबिनेटमा दुई उपप्रधानमन्त्री, १९ मन्त्री र ३ राज्यमन्त्री छन् । जसमध्ये अधिकांश मन्त्री डेलिभरी दिन असफल भएको, कतिपय दल र गुटको कोटा पूरा गर्ने काममा सीमित भएको, मन्त्रीको झण्डायुक्त गाडी चढ्ने र स्टन्टबाजीमा मात्र सीमित रहेको प्रम कार्यालयले तयार पारेको अप्रकाशित रिपोर्ट कार्डले देखाएको छ ।

दुई दर्जन मन्त्रीको भीडमा थारै आशा जगाउने मध्येका थिए गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पर्यटनमन्त्री सुदन किराँती । ब्युरोक्रेसीको गतिलो साथ नभएर हो वा अन्य कारणबस् प्रम कार्यालयको कार्यसम्पादन रिपोर्टमा ती दुवै पछिल्तिरै छन् । पदबहाली लगत्तै सुराकी खर्च खारेज, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र ६१ किलो सुन प्रकरणमा हात हालेको नारायणकाजी श्रेष्ठले सम्हालेको गृह मन्त्रालय ५४ प्रतिशत अंकसहित पाँचौं स्थानमा छ ।

Advertisement 2

एकनारायण अर्यालले श्रममा हुँदा ‘रोपेको फलको जस’ शरत्सिंह भण्डारीले लिन पाएका छन् । अर्यालले वैदेशिक रोजगार अनलाइन प्रणालीमा लगेर बिचौलियामुक्त बनाउने, स्थानीय तहबाटै श्रम स्वीकृति लिन पाइने, वैदेशिक रोजगारीमा गएकाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनेजस्ता गतिला निर्णय गरेका थिए । अर्याल असारदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन्् । यसबीच वैदेशिक रोजगार विभागमा बसेर म्यानपावरविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आएका मदन दाहाललाई ६ महिनामै हटाइएको छ । तिनै शरत्सिंह भण्डारीलाई प्रधानमन्त्री कार्यालयको रिपोर्ट कार्डले भने अब्बल देखाएको छ । भण्डारी ५७.८७ प्रतिशत प्राप्तांकसहित ‘बी ग्रेड’ ल्याएर २१ मन्त्रीमध्ये फष्र्ट पोजिसनमा छन् ।

सुदन किरातीले वायुसेवा निगमलाई सुधार्ने, बजार खोज्ने र दुर्गम क्षेत्रमा उडान भर्न तीनवटा जहाज ल्याउन टेण्डर निकाल्न लगाउने, विमानस्थलमा हुने अव्यवस्था हटाउनेजस्ता काममा केही सुधारको काम थालेको देखिन्छ । उनलाई प्रधानमन्त्री कार्यालयकै रिपोर्ट कार्डले ३९ दशमलव १० प्रतिशत अंक दिएर पुच्छरतिर राखेको छ । प्रम कार्यालयको अप्रशोधित रिपोर्ट कार्डअनुसार, ३२ दशमलव ४२ प्रतिशत अंक ल्याएर सबैभन्दा कमजोरमा दह्रिएका छन्् युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु ।

Advertisement 3

वर्षभरिका मन्त्रालयगत कामको आधारमा प्रम कार्यालयले कार्ड तयार पारेको हो । यसमा कुनै पनि मन्त्रीले ६० प्रतिशत कटाउन सकेका छैनन् । २१ वटै मन्त्रालयसँग कार्यसम्पादन (परफर्मेन्स ) मूल्यांकनको फाइल अनलाइनबाट मागी रिपोर्ट कार्ड तयार पारिएको हो । सचिव गणेश पाण्डे नेतृत्वको टोलीले कार्यसम्पादन मूल्यांकन फाइल हेरेको थियो । जसमा परराष्ट्रमन्त्री एनपी साउदलाई ५१ दशमलव ७५ प्राप्तांक ल्याएर दोस्रो स्थानमा, भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलाई ५० प्राप्तांकसहित तेश्रो स्थानमा राखिएको छ । अर्थमन्त्री र अर्थसचिवद्वयदेखि विज्ञ ८ जना डाक्टर थुपारेरसमेत वर्तमान अर्थतन्त्रको दुर्गतिको साक्षी डा. प्रकाशशरण महतको अर्थ मन्त्रालयले ५४ दशमलव ५७ ल्याउँदा नारायणकाजी श्रेष्ठ ५४ दशमलव १२ प्रतिशत सहित पाँचौं स्थानमा छन् । यस्तै पूर्णबहादुर खड्काले सम्हालेको रक्षा मन्त्रालयले ५३ दशमलव ८९, रेखा शर्मा नेतृत्वको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ५२ दशमलव ५० प्रतिशत प्राप्तांक प्राप्त गरेको प्रम कार्यालयले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासनको ५० दशमलव ८२, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ४६ दशलमव ७४, वन तथा वातावरणको ४६ दशमलव १५, नाम शक्ति बस्नेत भए पनि काम शक्ति विहिन भएको ऊर्जा मन्त्रालयले ४५ दशमलव ३३ अंक पाएको छ ।

लक्ष्य, त्यसअनुसार प्राप्त उपलब्धिलगायत सय वटा विषय छुट्ट्याइएकोमा सोही उपलब्धिको आधारमा अंक दिइएको हो । रिपोर्ट कार्डअनुसार १० मन्त्रालय कार्यसम्पादनमा कमजोर देखिएका छन्् । खानेपानी मन्त्रालयले ३९ दशमलव ७५ अंकभार पाएको छ । स्टण्टवाज मन्त्री मोहन बस्नेतले सम्हालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४३ दशमलव ३० प्रतिशत, सीता गुरुङको शहरी विकास मन्त्रालयले ४० दशमलव ८६ प्रतिशत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले ३९ दशमलव १०, महिला, बालबालिकाले ३९ दशमलव ०१, कानुन, न्यायले ३८ दशमलव ०४ प्राप्त गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ३७ दशमलव ३७, उद्योग, वाणिज्य तथा आपूर्तिले ३६ दशमलव ९६, कृषिले ३६ दशमलव ४१ र युवा तथा खेलकुद ३२ दशमलव ४२ प्रतिशतसहित प्लस मात्रै ग्रेड पाउँदै कमजोर नतिजा ल्याउनेमा दर्ज भएका छन्् ।

रिपोर्ट कार्डअनुसार सरकारको वर्ष दिन औसतमात्र देखिएको छ । ९० भन्दा बढी अंक ल्याउनेलाई अति उत्कृष्ट, ७५ देखि ९० ल्याउनेलाई उत्कृष्ट अर्थात् ‘ए’, ६० देखि ७५ अंक ल्याउने राम्रो अर्थात् ‘बी’ प्लस, ४५ देखि ६० अंक ल्याउनेलाई सन्तोषजनक अर्थात ‘बी’, ३० देखि ४५ अंक ल्याउने कमजोर अर्थात् ‘सी’ प्लस र ३० भन्दा कम अंक ल्याउनेलाई सी मानक राखिएकोमा ११ मन्त्री बी प्लस र १० मन्त्री बी ग्रेड ल्याउन सफल भएको देखिन्छ ।

प्रकाशित :२०८० मंसिर २८, बिहीबार १२:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry