सार्वजनिक जग्गा मिचेर ठडाएको बंगालामा एमाले अध्यक्षको बास

जनतासँग सिधै सम्पर्कमा रहने जिल्ला तहका नेताले पार्टीको पदीय हैसियतलाई दुरुपयोग गरी दिनदहाडै सार्वजनिक जमिन मिचेर सदरमुकाममा देखिने कमाई बिना नै आलिशान महल ठड्याएपछि पार्टी केन्द्रले जति नै अभियान चलाएपनि ०८४ मा एमालेले कसरी बहूमत ल्याउला ?

Advertisement 1

सर्वसाधारणले प्रयोग गर्ने जग्गा मिचेर बनाइएको महलमा पार्टी अध्यक्ष केपी ओली नै गएर बसिदिए र बदमाशीलाई अनुमोदन गरिदिए भने रामेछापमा एमालेको हालत झन् कमजोर हुनबाट कसले रोक्ने ? सन्दर्भ नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ र उनले दुइतिर ४/४ फिट सरकारी जग्गा मिचेर बनाएको घरको हो । अरु व्यवसाय केही नभएका आनन्दको रोजिरोटी केही वर्ष अघिसम्म पनि मन्थलीमै रहेको सानो चिया पसलले चलेको थियो । नेकपाको विभाजनसँगै जिल्ला पार्टी अध्यक्ष बनाइएका उनले त्यसपछि पछाडि फर्किएर हेर्नुपरेको छैन । अध्यक्ष भएपछि नै उनले मन्थलीमै घर बनाउन शुरु गरे । रामेछापमा रहेका एमाले निकट ठेकेदारहरुसँग हारगुहार गरी एकतल्ला बनाए । उनलाई रत्न गौतम नाम गरेका एमाले पार्टीका ठूला नेतासँग साझेदारीमा अरबौंको ठेक्काका काम गर्ने ठेकेदारले गिट्टी, बालुवादेखि रड, सिमेण्ट लगायत सहयोग गरेका बताइन्छ ।

यस क्रममै स्थानीय निकायको निर्वाचन शुरु भयो । रामेछापमा स्थानीय निकायमा अध्यक्ष, उपाध्यक्षदेखि वडा अध्यक्षको टिकट वितरणका क्रममा निकै आर्थिक चलखेल भएको चर्चा निकै चलेको थियो । त्यसपछिका दिनमा उनले घरलाई पाँच तल्ले बनाए । पार्टीका नेताहरु र स्थानीयवासीको लगातारको विरोधका बाबजुद आनन्दले सरकारी जग्गा मिचेर घर ठड्याई छाडे । तत्कालीन मन्थली नगरपालिकाका मेयर तथा एमाले जिल्ला नेता रमेश बस्नेतले आनन्दको यस कार्यको जमेर विरोध गर्दैै आएका छन् । उनले सामाजिक सञ्जालमा आनन्दले बनाएका पाँच तले बंगलाको फोटाहरु राखी जग्गा कसरी मिचिएको छ भनी प्रष्ट्याएका छन् । अहिलेको नगरपालिका व्यवस्थपनले सार्वजनिक जग्गा नमिच्न सार्वजनिक सूचना प्रकाशित गरेको प्रति र आनन्दले बनाएको घरको फोटा विवरण राख्दै नियम सबैलाई लाग्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनले फोटोमा पहिले सार्वजनिक जमिन रहेको स्थान संकेत गरी मिचिएको स्थल समेत खुलाएका छन् ।

Advertisement 2

त्यसमा आनन्दले समेत जनाएको प्रतिक्रियाको जवाफ दिंदै रमेशले नगरपालिकाले लगाएको पर्खाल भत्काएर आनन्दले सरकारी जग्गामा घर बनाएका भनी खोई पर्खाल भन्दा आनन्द नाजवाफ देखिएका छन् । यसैगरी एमालेकै अर्का जिल्ला कार्यकर्ता पूर्ण क्षेत्री बरुवालले पनि सामाजिक सञ्जालमै स्ट्याटस राखी आनन्दलाई सरकारी जग्गा मिचेको र घर बनाएको आम्दानीको श्रोत सार्वजनिक गर्न चुनौती दिएका छन् । उनले त यही बेलामा मन्थलीमा निर्माणाधीन पार्टी कार्यालय पुष्पलाल भवनको नाममा उठाइएको रकमको हिसाबकिताब पनि पारदर्शी बनाउन अनुरोध गरेका छन् । अहिले फेरी यो घर चर्चामा आउनुको कारण आनन्दले सोही विवादित घरमा संकल्प यात्रामा रहेका पार्टी अध्यक्ष केपी ओली लगायत नेताहरुलाई राख्ने तयारी गरेका छन् । सार्वजनिक जग्गा मिचेर अपारदर्शी रुपले बनाएको विवादित घरमा पार्टी अध्यक्षलाई राखेर विवाद मत्थर पार्ने आनन्दको प्रयासले पार्टीलाई हानी पुर्याउने एमाले जिल्ला नेताहरु बताउँछन् । हेर्दै जाउँ, पार्टीको अभियान समृद्धिका लागि संकल्प यात्रालाई दुरुपयोग गरी व्यक्तिगत समृद्धिका लागि सदुपयोग गर्ने आनन्दको प्रयासले सार्थकता पाउँछ कि पाउँदैन ।

Advertisement 3

प्रकाशित :२०८० मंसिर २४, आईतवार १८:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry