देशमा ढोँगी, दलालहरुको जगजगी छ :- सर्बेन्द्र खनाल

पूर्व प्रहरी महा निरीक्षक सर्बेन्द्र खनालले देशमा ढोँगी, दलालहरुको जगजगी रहेको बताउनु भएको छ । गत शनिबार प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद नेपालको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।
पूर्व महा निरीक्षक खनालले भन्नुभयो ‘देशमा अहिले भ्रष्टाचारीको संरक्षण भैरहेको छ, सुरक्षाकर्मीको अपमान भैरहेको छ, कालाधन आर्जन गर्नेको बोलवाला बढीरहेको छ, देश चलाउनेहरुले आ–आफ्नै स्वार्थ पूर्ति गर्नुबाहेक अरु केही गरेनन । ’ उहाँले अगाडि थप्नुभयो ‘रातदिन, झरी, बादल, चाडपर्व, घरपरिवार नभनी जनताको जिउ, धनको सुरक्षामा खटिने सुरक्षाकमी जहिले पनि उपेक्षामा पर्ने, अपहेलित हुनुपर्ने अनि अनपढ, गवार नेताहरु जहिले पनि सत्तामा बसेर मोजमस्ती गरिरहने ?’ भनेर प्रश्न गर्दै सम्झदा पनि कहाली लगेर आउने बताउनुभयो ।
कोरोनाको बेला देशमा भएको अस्तव्यस्तता देखेर आफूले ३० वर्ष नागरिकको जीउधनको सुरक्षा गरेको अनुभव उपयोग गर्दै सहयोगीहरुसँग अनुरोध गरेर १५÷२० वटा एम्वुलेन्स जम्मा गरी छोरीको सहयोग लिई डाक्टरसहितको सेवा प्रदान गरेको स्मरण गर्दै पूर्व आइजीपी खनालले भन्नुभयो ‘मेरो के स्वार्थ थियो र त्यस्तो खतराको अवस्थामा पनि नागरिकको सेवा गर्ने ?’
सुरक्षाकर्मीको राशनमा ठेकेदारले गर्ने चरम दुरुपयोगलाई ठिक ठाउँमा ल्याउन आफूले ठूलै संघर्ष गर्नु गरेको स्मरण गर्दे खनालले आफूले ३० वर्ष प्रहरीबाट गरेको योगदानको कदर गरेर जनताले त्यसको मूल्यांकन गर्लान भन्ने सोचेको तर त्यस्तो हुन नसकेको तितो अनुभव सुनाउनु भयो ।
नेपाल र नेपालीको हितमा के गर्न सकिन्छ भनेर हमेशा लागेको र कतिपय विदेशीहरुसँगको भेटमा देश र नेपालीको भलोको बारेमा कुरा उठाएको स्मरण गर्दै खनालले भन्नुभयो ‘धेरै पटक प्रधानमन्त्री, मन्त्री, सांसदहरुसँग देश र नागरिकको जीवनस्तर उठाउने कुरा उठाएको छु, उनीहरुले एउटा कानले सुनेर अर्को कानले उँडाइदिए ।’ नेता, प्रधानमन्त्री, मन्त्री बोल्न त धेरै बोल्नुहुन्छ तर काम गर्नु हुृन्न भन्दै उहाँँँले भन्नुभयो ‘टे्वुलमा बसेर थोरै समय काम गर्ने निजामति कर्मचारीलाई सतप्रतिशत भत्ता दिन तयार हुन्छन् तर रातदिन नभनी घर परिवार त्यागेका सुरक्षाकर्मीलाई १० प्रतिशत भत्ता दिन मान्दैनन् ।’
तँ आईजीपी हुँदा के गरिस् भनेर प्रश्न गर्नु होला, पदमा बसेपछि केहि लिमिटेशनहरु हुन्छन्, त्यसको पालना गर्ने त्यो पदको दायित्व हुन्छ भन्दै खनालले भन्नुभयो ‘तैपनि ललिता निवास काण्डको अनुसन्धान, म्याच फिक्सिङको छानविन, काठमाडौंका गुण्डा नियन्त्रण, जनकपुरका सशस्त्र हतियारधारीबाट भएको चन्दा आतंक जस्ता घटनालाई कसैको दबाब नसुनी काम गरेको हुँ ।’ तिनै घटनामा संलग्नहरु र तिनका आफन्तहरु मेरो पछाडि हात धोएर लागेका छन्, उनीहरु कहिले कुन घटनामा संलग्न भनेर आरोप लगाउने गर्छन् त कहिले कुन काण्डमा भनेर सामाजिक सञ्जालमा मेरो बदनाम गर्नमा तल्लिन छन् भन्दै खनाले भन्नु्भयो ‘म पदमा रहँदा वा अवकाश पाएपछि पनि देश र जनताको हित विपरित गैरकानुनी कार्यमा लागेको छैन, भ्रम छर्ने काम थुप्रै भएका छन्, यदि भएमा कारवाही गरेर देखाउन चुनौति दिन चाहन्छु ।’
देश र जताको हितमा केही गरौं भनेर योजना लिएर नेतालाई भेटन खोज्दा भेट नदिने, गवाँर पिएसँग समय लिन बारम्वार फोन गर्दा पनि नदिने, भेट्न जाँदा घण्टौँ पर्खनुपर्ने तिता अनुभव सुनाउँदै पूर्व महा निरीक्षक खनालले देशमा प्रधानमन्त्री भैसकेकाहरुको नालायकीपनको पराकाष्ठ नाघेको बताउनुभयो ।
संसारका स–साना देशले पनि विकास गरेर कहाँ पुगिसके तर हाम्रा देश बनाउन भनेर आएकाहरुको अवस्था देख्दा दिक्क लागेको भन्दै अब पूर्व सुरक्षाकर्मी देश र जनताको लागि अगाडि बढ्नु पर्ने उहाँको धारणा थियो । यदि तपाईहरु राम्रो कामको लागि केहि गर्नुहुन्छ भने मेरो हमेशा साथ रहनेछ भन्दैै खनालले भन्नुभयो ‘नेतृत्वबाट भएको अक्षमता अव टुलुटुलु हेरेर बस्नु हुँदैन, राजनीतिक बागडोर सम्हाल्न पछाडि हट्नु हुँदैन ।’ नेपालमा राम्रा मान्छे धेरै छन्, वदमासको जालो तोड्न सकिन्छ भन्दै पूर्व आईजीपीले भन्नुभयो ‘देशको शान, मान कायम गर्ने सुरक्षाकर्मीले नै हो र म सधैँ तपाईहरुको साथमा छु ।’
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका पूर्व एआईजी कृष्ण कुमार तामाङले पूर्व सुरक्षाकर्मीलाई निजामतिको भन्दा विभेदपूर्ण व्यवहार गरेको बताउनुभयो । दलहरु आसेपासेको पछी लागेको बताउँदै उहाँले सम्पूर्ण सुक्षाकर्मी एक भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । सकारात्मक सोच राखेर अघि बढ्ने हो भने परिवर्तन टाढा नभएको उहाँको भनाई थियो ।
अर्का वक्ता राष्ट्रिय अनुसन्धान विभागका पूर्व बरिष्ठ उपरीक्षक किवाङहाङ राईले देशमा खतरा बढेकोले पूर्र्व सुरक्षाकर्मी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । आफूलाई विभागको प्रमुख बनाउँछु भनेर लोभ्याउने नेताको पछि नलागेको स्मरण गर्दै राईले दलमा नाताबाद, कृपावाद, गुटवाद बढेको बताउनुभयो । देशका नेताहरु विदेशीको सामु लम्पसार परेको बताउँदै वरिष्ठ उपरीक्षक राईले उनीहरुले धर्म, संस्कृति, जातजातिको नाममा लडाउने काम गरेको हुँदा त्यसलाई हामीले सवैको साझा फूलवार बनाउनु पर्ने धारणा राख्नुभयो । पृथ्वीनारायण शाहले नेपाल सबै जातको फूलवारी भनेको स्मरण गर्दै उहाँले पूर्व सुरक्षाकर्मीले सवै नेपालीलाई एकतामा गास्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा भारतीय गोर्खाका पूर्व कर्णेल अम्वर बहादुर बस्नेतले पूर्व सुरक्षाकर्मीको कार्यक्रममा बोल्न पाएकोमा खुशी व्यक्त गर्दै आफु अवकास पश्चात पनि भारतको पेन्सन शाखामा कार्यरत रहेकाले कुनै काम परेमा सहयोग गर्ने बताउनुभयो । अर्का बक्ता नेपाली सेनाका पूर्व प्रमुख सेनानी देवबहादुर कार्कीले परिषद अझै बढी सक्रिय भएर देश र जनताको हितमा सक्रिय हुनुपर्ने बताउनुभयो ।
त्यसैगरी नेपाल सरकारका पूर्व उपसचिव पुष्पमुनी बज्राचार्यले पेन्सनमा कर नलाग्ने जान्दा जान्दै पनि बैंकहरुले १ प्रतिशत कर लगाएकोमा आफ्नो पहलबाट त्यो हटाएको जानकारी दिनुभयो । त्यसैगरी सैनिक वीरगति परिवार तथा एकल महिला संघकी अध्यक्ष रिता कार्कीले जनयुद्धको नाममा जथाभावी मान्छे मारेको र अझै तिनीहरुको परिवारलाई न्याय नदिएको भन्दैै आफूहरुलाई न्याय दिलाउन पूर्व सुरक्षाकर्मी परिषदले गरेको सहयोगको लागि धन्यबाद दिँदै अभिभावक भएर काम गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा पूर्व सुरक्षाकर्मी परिषदका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संयोजक उत्तर कुमार श्रेष्ठ, केन्द्रीय सदस्य एवं च्रन्द्रागिरी नगर अध्यक्ष विक्रम पाण्डे, कञ्चनपुर जिल्ला अध्यक्ष गोरख पुजारा, गोरखा जिल्ला अध्यक्ष हरिकृुमार थापा लगायतका बक्ताहरुले देश बर्वादी तर्फ गएकोले पूर्व सुरक्षाकर्मी परिषदले पार्टी खोलेरै भएपनि देशलाई बचाउनु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा परिषदमा रहेर उत्कृष्ठ काम गर्ने सदस्य तथा पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मान पाउनेहरुमा संरक्षक एवं केन्द्रीय सदस्य थमनबहादुर बस्नेत, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संयोजक उत्तर कुमार श्रेष्ठ, केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला अध्यक्ष डिल्लीराम ढुंगेल, केन्द्रीय सदस्य एवं चन्द्रागिरी नगर अध्यक्ष विक्रम पाण्डे, गोरखा जिल्ला अध्यक्ष हरिकुमार थापा, गोकर्णेश्वर नगर अध्यक्ष नारायण कार्की, कमलामाई नगर अध्यक्ष गोपाल श्रेष्ठ र शहिद लखन गाउँपालिका अध्यक्ष जगतबहादुर राना रहेका छन् । पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरी सुरु गरिएको कार्यक्रमको सभापतित्व पूर्व सुरक्षाकर्मी परिषद नेपालका अध्यक्ष के वी राउतले गर्नुभएको थियो । पञ्चेवाजासहित उद्घाटन गरिएको उक्त कार्यक्रममा स्वागत परिषदका उपाध्यक्ष खगेन्द्रराज बस्नेतले गर्नुभएको थियो ।
प्रकाशित :२०८० मंसिर १७, आईतवार ११:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry