नेपाल भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु
नेपाल सशस्त्र प्रहरी बलले सीमानाकाका सीमास्तम्भको पुनःनिर्माण, मर्मत सम्भार र रंगरोगनको काम थालेको छ।
Advertisement 1
मधेश प्रदेशका आठवटै जिल्लाको भारतीय सीमानाकामा रहेको सीमास्तम्भको पुनःनिर्माण, मर्मत सम्भार र रंगरोगनको काम बिहीबार धनुषादेखि सुरु भएको छ। बिहीबार धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ जटही स्थित १८५ नम्बर सहायक सीमा स्तम्भको मर्मत तथा रंगरोगन गर्दै कार्यको थालनी भएको छ ।
मधेशका करिब चार हजारभन्दा बढी सीमास्तम्भ रहेकोमा अहिलेलाई १ हजार सीमास्तम्भको मर्मत र रंगरोगनको काम सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालयका प्रमुख दीपेन्द्र शाहले बताए। दुरुस्त अवस्थाको सीमा स्तम्भले सशस्त्र प्रहरी बल नेपाललाई थप प्रभावकारी रुपमा सीमाको सुरक्षा गर्न सहज हुने भएकाले यो कार्यको थालनी गरिएको डीआईजी शाहको भनाइ छ । यसले सीमाको सुरक्षामात्र नभएर सीमा अपराध नियन्त्रण गर्न पनि मद्दत पुग्ने उनको भनाइ छ ।
Advertisement 2
धनुषाका मात्र १५५ सीमास्तम्भको मर्मत र रंगरोगन हुने सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक दिनेश मल्लले जानकारी दिए। धनुषाको सीमावर्ती नगरपालिका नगराईन नगरपालिका-२ जटही नाका छेउको सिमा नं. २८५-४ बाट उक्त कार्यको शुभारम्भ गरेका छन्।
२०७७ साल साउन १९ गतेको मन्त्रिपरिषद् निर्णयवाट सीमाका ती स्तम्भहरूमध्ये बिजोर नम्बरका सीमास्तम्भहरूको पुनःनिर्माण, मर्मत सम्भार रंगरोगनको काम नेपालले गर्ने निर्णय बमोजिम उक्त काम थालनी भएको हो। सीमास्तम्भहरूको रंगरोगन तथा मर्मत कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका अधिकृत कृष्ण खड्का, वीरगन्ज– २ का वडाध्यक्ष महमद रियाज, वीरगन्ज– १६ का वडाध्यक्ष परशुराम चौरसिया, एसएसबी बटालियन पन्टोका रक्सोलबाट आनिन्द्र मनी र दीपक सबिताको उपस्थिति रहेको थियो।