कृषिमा आत्मनिर्भर हुनुपर्ने

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक कृषिमा परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन । उनले निर्वाहमुखी कृषिलाई व्यावसायिक र आत्मनिर्भर बनाउने शिक्षामा जोड दिन आग्रह गरेका थिए ।

Advertisement 1

आज गृहजिल्ला झापास्थित गौरादह कृषि क्याम्पसको नवनिर्मित पुस्तकालय र प्रयोगशाला भवनको उद्घाटन कार्यक्रममा उनले कृषिको आधुनिकीकरण र दक्ष जनशक्तिको उत्पादन गर्ने प्राविधिक शिक्षामा जोड दिनुपर्ने बेला आएको बताए ।

“गोलभेँडा र खोर्सानी पनि आयात गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय हो”, अध्यक्ष ओलीले भने, “विद्यालय र क्याम्पसलाई सैद्धान्तिक विषयको ज्ञान दिने थलो मात्र बनाउनु हुँदैन, व्यावहारिक अभ्यासलाई पढाइसँगै अघि बढाउने शिक्षा आजको आवश्यकता हो ।”

Advertisement 2

उनले कृषि विषय अध्ययनरत विद्यार्थीलाई किसानको खेतबारीमा प्रत्यक्षरुपमा पुगेर व्यावहारिक अभ्यास गर्ने अवसर प्रदान गर्न आग्रह गरेका थिए । व्यावहारिक अभ्यासबिनाको सैद्धान्तिक ज्ञान उपयोगी नहुने उनको भनाइ थियो ।

नेपाली हावापानी र माटो उर्बर भएकाले थोरै जग्गा भएका प्रत्येक नागरिकले पनि कृषि कर्म गरेर उत्पादनसँग जोडिनुपर्ने धारणा राख्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल बनाउन मुलुकको कृषि क्षेत्रमा आमूल परिवर्तनको खाँचो औँल्याएका थिए ।

Advertisement 3

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा धर्मकान्त बाँस्कोटाले नेपालमा कृषि तथा वन विज्ञान विषयमा भइरहेको पठनपाठनका विषयमा जानकारी दिएका थिए ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले गौरादहमा रहेको कृषि क्याम्पस कोशी प्रदेशकै गौरव भएको बताए । गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले कृषि विज्ञान पढ्ने विद्यार्थीका लागि निःशुल्क कोटा बढाउनुपर्ने र गौरादहमा भेटनरी अस्पताल स्थापना गर्न माग गरे ।

गौरादह कृषि क्याम्पसमा हाल दुई सय ३६ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । क्याम्पसको पुस्तकालय र प्रयोगशाला निर्माणका लागि विश्वविद्यालय अनुदान आयोगले रु छ करोड ४४ लाख चार हजार सहयोग गरेको क्याम्पस प्रमुख सुबोध खनालले जानकारी दिए ।

तीन तले १४ कोठे सो भवन तीन वर्षअघि निर्माण प्रारम्भ भएको थियो । भवनमा १४ कोठा रहेको क्याम्पसले जनाएको छ । क्याम्पसले कृषि स्नातक तहको दुई ब्याचको अध्ययन पूरा गरिसकेको खनालले बताए ।

प्रकाशित :२०८० आश्विन ३०, मंगलवार २१:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry