संघीय शिक्षा ऐन संसद्मा पेस हुँदै, निजामती ऐन साउनभित्रै

सरकारले आज (मंगलबार) संघीय शिक्षा ऐनको विधेयक संसद्मा पेस गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियतामा मंगलबार विधेयक प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी भएको हो ।
Advertisement 1
हाल कार्यान्वयनमा रहेको शिक्षा ऐन, २०२८ लाई समयसापेक्ष बनाउन भन्दै २०७३ सालमा आठौं संशोधन भएको थियो। तर आठौं संशोधनले विद्यमान शैक्षिक प्रणालीलाई पर्याप्त रूपमा समेट्न नसकेको र पुरानो भइसकेको भन्दै नयाँ ऐन निर्माणको आवाज उठ्दै आएको थियो।
ऐनले शिक्षकको सरुवा, बढुवा, काज, कारबाहीको अधिकार प्रदेश सरकारलाई दिने परिकल्पना गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ऐनको मस्यौदामा शिक्षक दरबन्दी मिलान तथा २०७४ साल यता भर्ना भएका शिक्षकको व्यवस्थापनको विषयलाई पनि समेटिएको छ। यस्तै, सरकारी शैक्षिक संस्था र विश्वविद्यालयको व्यवस्थापन, निःशुल्क शिक्षा कार्यान्वयन, शिक्षामा स्थानीय तहको भूमिकालाई पनि नयाँ ऐनको मस्यौदामा समेटिएको छ।
Advertisement 2
नयाँ ऐनले शिक्षक कर्मचारीको औषधि उपचार लगायत सामाजिक सुरक्षाको विषयलाई पनि समेटेको छ। नयाँ ऐनले निजी शैक्षिक संस्थाको दायित्व र पालना गर्नुपर्ने नयाँ व्यवस्थाबारे पनि व्यवस्था गरेको बताइएको छ।
त्यस्तै साउन महिनाभित्रै संघीय निजामती ऐन संसदमा टेबुल गर्ने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बताएका छन् । मन्त्री मोदीले ऐनका सबै कामहरु सकेर आफूले रायका लागि अर्थ र कानुन मन्त्रालयमा पठाएको बताए ।उनले सबैसँग कुरा गरिसकेको अर्थ र कानुन मन्त्रालयले पनि अब राय लेखेर पठाउँदै रहेको बताए । मन्त्री मोदीले ऐनमा सबैको भावना समेटिएको समेत उल्लेख गरे ।