द्धन्द व्यवस्थापनको कारण, किसिम, रणनीति र शैली

१) द्वन्द्वको अर्थ
द्वन्द्व मतभेद रहनु वा स्वार्थको टकरावको स्थिति हो । द्वन्द्व एउटा यस्तो अवस्था हो जहाँ व्यक्ति वा समुह आफ्नो उद्देश्य वा आवश्यकता पूरा गर्ने क्रममा एकले अर्कोलाई असजिलो पार्ने गर्दछन जहाँ विचार, आवश्यकता र समझदारी फरक हुन्छ त्यो नै द्वन्द्वको सम्भाव्य स्थिति को अवस्था हो । द्वन्द्वले क्रियाशिल गराउने हैसियत राख्दछ । विवादले चेतना, प्रतिवाद, अपुग र अवरोध जस्ता पक्षलाई समेटेको हुनाले यसलाई संगठनमा सकारात्मक – नकारात्मक – अवसर र जोखिमकारुपमा लिनुपर्दछ ।
२. परिचय :
द्वन्द्वको शाब्दिक अर्थ झगडा, मनमुटाव र मनोमालिन्य हो । कुनै बिषय वा प्रसङ्गमा रहने फरक मतलाई कार्यस्थलमा विभिन्नरूपमा प्रस्तुत गर्ने तरिका नै द्वन्द्व हो ।
संगठनात्मक दृष्टिकोणले द्वन्द्व सिर्जनात्मक शक्तिको रूपमा पनि लिन सकिन्छ । द्वन्द्व व्यवस्थापन अहिले एक छुट्टै अध्ययन–क्षेत्रको बिषयको रूपमा बिकास हुँदै आएको छ । द्वन्द्व व्यवस्थापनले पुर्णता नपाएको अवस्थामा यो तनावलाई न्युनिकरण गर्ने कार्यमा तत्पर रहन्छ । जस्तैः परिस्थितिमा पनि द्वन्द्व व्यवस्थापनले द्वन्द्वरत सम्बन्धहरुलाई व्यवस्थापन गर्न सकिने कुरामा विश्वास गर्दछ । द्वन्द्वले झगडा, मनमुटाव, बैरभाव,दुश्मनी, काटमार, हिंसा,लडाइँ ईत्यादिलाई बुझाउछ । द्वन्द्व त्यसवेला घटित हुने ठानिन्छ जब दुई वा दुई भन्दा बढी सरोकारवालाहरु आ–आफ्नो हित अनुकुल नभएको महसुस गर्दछ्न । द्वन्द्व एकै रातमा उत्पन्न नभई निरन्तररुपमा हुदै आएको अन्तरक्रियाको परिणामस्वरूप घटदछ ।

Advertisement 1

३. द्वन्द्वको परिभाषा

३.१ द्वन्द्व भनेको व्यक्तिहरू वा समुहहरुको विचमा हुने सांस्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक स्वार्थ, दृष्टिकोण वा बुझाईमा देखिएको भिन्नताको कारणले सिर्जित अवस्था हो । ✍️ फुज स्टानफोर्ड

Advertisement 2

३.२ द्वन्द्व भनेको सामाजिक जीवनको एक अपरिहार्य यथार्थ हो जुन शक्तिको प्रभाव र भिन्नतावाट उब्जिएको हुन्छ । ✍️ ओयवर

३.३) द्वन्द्व भनेको समाजको शक्ति र उत्पादनको स्रोत माथी नियन्त्रण गरेका सम्पन्न वर्ग र स्रोत एवं शक्ति कम भएका विभिन्न वर्ग विच उक्त स्रोत र शक्ति आफ्नो पक्षमा पार्ने मानसिकतावाट सिर्जित अवस्था हो, जुन असमानता रहेसम्म रहिरहन्छ । ✍️ कार्लमार्क्स

Advertisement 3

४.) द्वन्द्वका विशेषताहरु :-
४.१) स्वार्थ, दृष्टिकोण र बुझाईको भिन्नता
४.२) लक्ष्यहरु एक अर्कासंग बाझिए पश्चात् उत्पन्न हुने परिस्थिति
४.३) परिवर्तनशील समाजको सुचक
४.४) स्वरुपमा भिन्नता
४.५) सामाजिक,आर्थिक, राजनीतिक, सांस्कृतिक मूल्य– मान्यता जस्ता क्षेत्रहरूमा व्याप्त
४.६) शक्ति र स्रोतमाथिको असमानतावाट सिर्जना,
४.७) सामान्यतया हिंसा बिना समाधान गरिने आदि ।

५.) द्वन्द्व उत्पन्न हुनाका कारणहरु :-
५.१) मुल्य–मान्यता, व्यक्तित्व र संस्कृतिमा असमानता अर्थात् विचार, मान्यता, आवश्यकता फरक फरक भएपछि द्वन्द्वको सम्भावना बढछ ।
५.२) सूचना तथा जानकारी नहुनु वा प्राप्त जानकारी सहि सम्प्रेषणमा नहुनु ।
५.३) वातावरणिय र परिस्थितिजन्य दबाब ः प्रत्येकको चाहना अनन्त हुनु तर त्यसलाई पूरा गर्ने क्षमता सिमित हुनु, घरायसी तथा यौनजन्य समस्या
५.४) निभाउनु पर्ने भुमिका आफ्नो क्षमता र सामर्थ्य अनुरुप नहुनु – आफ्नो भुमिका बारे फरक समझदारी हुनु भविश्यको कार्यदिशा र नतिजा अनिश्चित हुनु
५.५) अनुपयुक्त संगठन संरचना
५.६) अनुपयुक्त सम्बन्ध प्रणाली
५.७) अस्पष्ट नीति नियम र कार्यदिशा ।

६.) द्वन्द्वका किसिम :

६.१) फाईदाका हिसाबमा:

(क) रचनात्मक
(ख) ध्वंसात्मक
(ग) सुधारात्मक

६.२) द्वन्द्व तहका अनुसार :

(क) बैयक्तिक द्वन्द्व : प्रत्येक व्यक्तिमा भिन्ना भिन्नै चाहना हुन्छन् जसलाई परिपुर्ति गर्ने तरिका पनि फरक फरक हुन्छन् । ती विभिन्न चाहनाको विश्लेषण गरि प्राथमिकता तोक्ने तथा उपलब्ध साधन स्रोत तथा क्षमताका सन्दर्भमा प्राप्त गर्न सकिने उद्देश्यहरुको पहिचान गर्न नसक्दा आन्तरिकरुपमा द्वन्द्व उत्पन्न हुने गर्दछ ।

(ख) अन्तरबैयक्तिक द्वन्द्व :-यो व्यक्ती व्यक्ती बिचमा रहेका बैयक्तिक भिन्नताहरु, स्रोत– साधन, आफ्नो र अन्यको भुमिका प्रतिको दृष्टिकोण तथा कार्यमा कति न्याय अन्याय भयो भन्ने भावनावाट उत्पन्न हुन्छ ।

(ग) संगठनात्मक द्वन्द्व : यो पनि अन्तरबैयक्तिक द्वन्द्व नै हो । तर यसमा संगठनमा रहेका अन्य कारणहरु जस्तैः संगठन ढांचा, कार्यको यखभचबिउउष्लन र अख्तियारीको असमान वितरणवाट सिर्जना हुन्छ ।
७.) द्वन्द्व व्यवस्थापनको रणनीति : द्वन्द्व व्यवस्थापन गर्ने छुट्टै व्यवस्थापन सिध्दान्त छ भन्न सकिन्न । यो व्यवस्थापनकै अभिन्न भाग भएकाले नेतृत्व र संचार व्यवस्थासंग अभिन्नरुपमा गांसिएको हुन्छ । तर पनि यसको अन्तर्निहित आधार भने हुने गर्दछ । कुनै व्यक्तिले द्वन्द्वको अवस्थामा गर्ने रणनीतिक व्यवस्थालाई दुई आधारभुत आयामवाट हेर्न सकिन्छ :-

७.१) आत्मसंरक्षणको मात्रा
आफ्नो चाख प्राप्त गर्न प्रयास गरिन्छ । यो लिने प्रवृत्ति हो । यसमा आफ्नो हित संरक्षण हुन्छ ।

७.२) सहयोगको मात्रा

अरुको चाख परिपुर्ति गराउने प्रयास गरिन्छ । यो दिने प्रवृत्ति हो । यसमा अरुको हित संरक्षण हुन्छ ।

८.) द्वन्द्व व्यवस्थापन शैली :
द्वन्द्व भएको अवस्थामा यी ५ व्यवहार मध्ये कुनै एक शैलीलाई अपनाईन्छ :

(क) दबाबपुर्ण शैली
एकले जित्ने र अर्कोले हार्ने गर्दछ । यो जीत– हारको अवस्था हो ।

(ख) साझेदारी
एक आपसमा सहयोग हुने गरि दुबै पक्षको अनुकूल अवस्था सिर्जना गर्ने धारणा राखिन्छ । यसमा कसैको हार हुँदैन दुबैको जीत हुन्छ ।
(ग) सम्झौतामुखी
यसमा कुनै पक्ष बीच केही लिने र केही छाडने गरि सहमती कायम गरिन्छ । यसमा कुनै पनि पक्षको पुर्ण हार वा जीत हुँदैन ।
(घ) तिरस्कारी
द्वन्द्व बेकारको बिषय हो भनी त्यसलाई पन्छाईन्छ । यस्मा आफ्नो हित पनि नहेर्ने र अर्को पक्षको हित पनि संरक्षण नगर्ने शैली अपनाईन्छ । सामान्यतया द्वन्द समाधानको लागत भन्दा द्वन्द्व समाप्ती पछि हुने फाईदा घटी भएमा वा यथास्थितिको फाईदा बढी भएमा यो शैली उपयुक्त हुन्छ ।
९.) कुन शैली कुन बेला उपयुक्त हुन्छ ?
कुन शैली सबैभन्दा महत्त्वपूर्ण हुन्छ भन्ने बिषय द्वन्द्वको परिवेशमा आधारित हुन्छ । यसलाई यी चार परिबेशजन्य अवस्थामा रहेर हेर्नू पर्ने हुन्छ ।
९.१) बिकल्पको अवस्था
९.२) परस्पर सद्भाव
९.३) तुलनात्मक शक्ति सन्तुलन
९.४) समयको उपलब्धता ।
यसर्थ, परिस्थितिको माग र व्यवस्थापन सीपले द्वन्द्व समाधानको ःबतचष्ह लाई निर्धारण गर्द्छ ।

१०.) द्वन्द्व समाधानका आधारभुत सीपहरु

१०.१) सामान्य सीपहरु

१०.१.१) द्वन्द्व परिस्थितिको मष्बयनलष्कभ गर्ने, क्ष्ककगभक पहिचान गर्ने ।
१०.१. २) द्वन्द्वका कारण परिणाम र असरको मुल्यांकन गर्ने ।
१०.१.३) द्वन्द्व व्यवस्थापनका सम्भाव्यताको पहिचान गर्ने ।
१०.१.४) पहिचान भएका औजारहरुको मुल्यांकन गर्ने
१०.१.५) उपयुक्त औजार प्रयोग गर्ने ।

१०.२) संचार सीप

१०.२.१) सुन्न सक्ने क्षमता
१०.२.२) बुझ्न सक्ने क्षमता
१०.२.३) बुझाउन सक्ने क्षमता

१०.३ नेतृत्व सीप :

१०.३.१) व्यवस्थापनको प्रमुख काम नै विवाद समाधान हो ।
१०.३.२) यो नेतृत्वका सीपमा भर पर्दछ ।
१०.३.३) संगठन भित्रको द्वन्द्व व्यवस्थापन र विकास नेतृत्वको सफलताले गर्दछ ।
१०.३.४) प्रत्येक परिवर्तनले द्वन्द्व ल्याउन सक्छ ।
१०.३.५) द्वन्द्वलाई लामो समयसम्म त्यतिकै राखेमा जटिल अवस्था सिर्जना गर्न सक्छ ।

११. उपसंहार :

परम्परागत अर्थमा द्वन्द्वलाई नकारात्मक रुपमा लिईन्थ्यो, शास्त्रीय अर्थमा स्वाभाविक र आधुनिक अर्थमा अपरिहार्य रुपमा लिईन्छ । यसको तात्पर्य आधुनिक संगठनहरुमा द्वन्द्व मुलतः संरचनात्मक संगठनको मांग, आवश्यकता एवं चाहना, जनशक्तिको बिकास, सूचना प्रविधिको प्रयोग अवश्यम्भावी र अपरिहार्य द्वन्द्वका रुपमा आमन्त्रण गर्नुपर्दछ भन्ने मान्यता राखिन्छ । जहाँ द्वन्द्व हुन्छ त्यहाँ बिकास र प्रगति हुन्छ । आवश्यकता नै आविष्कार कि जननी हुन् भन्ने भनाई पनि छ ।

-(लेखक अधिकारी युवा तथा खेलकुद मन्त्रालयका उपसचिव हुन् । )

प्रकाशित :२०७७ फाल्गुन १९, बुधबार १२:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry