अझै सम्पन्न भएन नक्खु–बुङमती सडक
नक्खुखोलाबाट भैँसेपाटी हुँदै बुङमतीसम्मको सडक विस्तारको काम शुरु भएको चार वर्षमा अझै सकिएको छैन । दुई खण्डमा सडक निर्माणको काम भइरहेकामा एउटा खण्डमा ६५ प्रतिशत र अर्को खण्डमा अहिलेसम्म ७० प्रतिशत मात्रै निर्माण सकिएको छ ।
Advertisement 1
सडक विस्तार विभिन्न अवरोधका कारण निर्माणमा ढिलाइ भइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । निर्माण शुरु भएको वर्षमा सडकको चौडाइ बढाउन नसकिएर ढिलाइ भएकामा गत आर्थिक वर्षमा कोभिड–१९ र निर्माण सामग्रीको अभावका कारण अघि बढ्न नसकेको योजनाका सूचना अधिकारी लक्ष्मण देवकोटाले बताए । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडकको सीमाङ्कन गरेपछि मात्रै जिल्ला प्रशासन कार्यालयले निर्माणस्थल खाली गर्ने भए पनि निर्माणस्थल खाली हुन समय लाग्दा निर्माण शुरु हुन ढिला भएको आयोजनाले जनाएको छ । उनले भने, “एक त निर्माण शुरु नै गर्न सकिएको थिएन भने शुरु भएपछि पनि अवरोध आइरहेको छ ।”
यस सडकको केही स्थानमा विद्युत्, टेलिफोनका तार र कतिपय स्थानमा रुखसमेत हटाउन कठिन भएकाले पनि निर्माण अघि बढ्न नसकेको योजनाले जनाएको छ । अझै पनि कतिपय स्थानमा घर हटाउन नसकिएको इञ्जिनीयर लक्ष्मण देवकोटाले बताउनुभयो । लामो समयसम्म निर्माण नभए पनि अहिले उपलब्ध चौडाइमै कालोपत्र गरेर ठेक्का पूरा गर्न लागिएको उनले बताए ।