पहिराले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

अबिरल वर्षासँगै आएको पहिराले कक्षाकोठा पुरिँदा एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ । पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना माध्यमिक विद्यालय दुई वटा भवन पुरेपछि समस्या भएको हो ।

Advertisement 1

असार १४ गते राति आएको अबिरल वर्षापछि गएको पहिराले विद्यालयको तीन–तीनकोठे दुईवटा भवनमा क्षति पुर्‍याएको विद्यालयका प्रधानाध्यापक विष्णु शर्माले जानकारी दिए । विद्यालय बिदा भएको समयमा पहिरो आएकाले मानवीय क्षति नभएको उनको भनाइ छ ।

“अबिरल वर्षासँगै विद्यालयमा माथिबाट पहिरो खस्यो, उक्त दिन बिदा भएका कारण मानवीय क्षति भएन”, उनले भने । विद्यालयमा पहिराले क्षति पुर्याएसँगै कक्षाकोठाको अभाव भएको उनको भनाइ छ । “अहिले तत्कालका लागि केही गर्न सक्ने अवस्था छैन”, उनले भने, “बर्खायाम भएकाले अझै क्षति हुने सम्भावना छ ।” उहाँले वर्षे बिदापछि कक्षा सञ्चालन हुने भएकाले वैकल्पिक कक्षाकोठाका लागि व्यवस्थापनमा समस्या हुने बताए ।

Advertisement 2

विद्यालयले जग्गा अभावका कारण दुई ठाउँमा कक्षा सञ्चालन गरिरहेको छ । विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्मको आधारभूत तह सञ्चालन भइरहेको छ । शर्माका अनुसार एउटा तीनकोठे भवन २०७५ सालमा रु ३१ लाख ५० हजारमा निर्माण गरिएको हो भने अर्को भवन २०७६ सालमा रु १६ लाख २० हजारमा २०७६ सालमा निर्माण गरिएको थियो ।

ठेकेदारको लापरबाहीका कारण विद्यालयमा क्षति पुगेको स्थानीयको भनाइ छ । सडक निर्माणका क्रममा ठेकेदारले विद्यालयमाथि जथाभावी माटो फालेका कारण विद्यालयमा क्षति भएको स्थानीय अभिभावक राजेन्द्र क्षेत्रीको आरोप छ । “शुक्रबार बिहान १० बजे सडकमाथिबाट झरेको पहिराले नाली पुरियो । उक्त पानी नाली हुँदै ग्यावियनभित्र छिरेपछि पहिरो गएको होे”, प्रत्यक्षदर्शी क्षेत्रीले भने, “ठेकेदारका कारण विद्यालयको भौतिक संरचनामा ठूलो क्षति भयो ।”

Advertisement 3

सडक निर्माणका क्रममा ठेकेदारको लापरवाहीका कारण विद्यालयमा क्षति पुगेको अभिभावकहरुको आरोप छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितवहादुर थापा मगरले सडक निर्माणका क्रममा प्राविधिक त्रुटी भएको आशंका व्यक्त गरेका छन ।

सडक निर्माणका क्रममा हामीले ठेकेदार र प्राविधिकलाई विद्यालयमाथि माटो राख्दा समस्या हुन्छ भनेर बारबार अनुरोध गरेको भएपनि सुनुवाई नभएको उनको भनाइ छ । “अविरल बर्षसँगै आएको एक दिनको पानीले लाखौको क्षति बनायो”, उनले भने, “तत्काललाई समस्या नभएपनि विद्यालय संचालनका क्रममा विद्यार्थी कहाँ राख्ने भन्ने चिन्ताले सताउन थालेको छ ।”

गत सोमवार फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधर तिवारीले विद्यालयको स्थलगत निरिक्षण गरेका थिए । विद्यालयमा भएको क्षतिको विषयमा प्रहरी मुचुल्का बनाएर विभिन्न सङ्घसंस्था हुँदै गृहमन्त्रालयमा पठाउने तिवारीले बताए । विद्यालयको क्षति र समस्याका विषयमा तत्काल राहतका लागि पहल गर्नेसमेत तिवारीको भनाइ छ । विसं २०१३ सालमा स्थापना भएको विद्यालयमा हाल ४३८ जना विद्यार्थी छन् ।

प्रकाशित :२०८० असार २०, बुधबार ११:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry