कम्युटर अपरेटरको सरुवा पत्र आठ महिनासम्म किन होल्ड गर्न लगाए राजेश्वर ज्ञवालीले ?
निजामती क्षेत्रमा सबैभन्दा बढी लाभको पद र अवसर पाउने कर्मचारीमध्ये पर्दछन् सहसचिव राजेश्वर ज्ञवाली ।
जस्को उदाहरण छात्रवृत्तिलाई नै लिन सकिन्छ । पावर र पहुँच पुर्याउन नसक्ने कर्मचारीहरुले एउटै वैदेशिक छात्रवृत्तिको अवसर पाएका छैनन् तर शक्तिकेन्द्र रिसाउने खुबी भएका ज्ञवालीले अहिलेसम्म तीन पटक अवसर पाइसकेका छन् । हाल ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रहेका ज्ञवाली यस अघि केही समय काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरे । उनले अहिलेसम्म तीनपटकसम्म छात्रवृत्ति पाइसकेका छन् । निजामतीमा उनीमात्र त्यस्ता अपवाद पात्र होलान । जो २०५८ सालमै छात्रवृत्ति पाए र इटालीबाट बौद्धिक सम्पत्ति कानुनमा एलएलएम गरेर फर्किए । सात बर्ष पछि फेरि अन्तर्राष्ट्रिय व्यापारमा दक्षिण कोरियाबाट स्नातकोत्तर गर्न गए । यस्का अलवा इरायलको अलुम्नी युनिभर्सिटीबाट चारमहिने कोर्स गर्ने अवसर पनि ज्ञवालीले नै पाए ।
यति धेरै वैदेशिक छात्रवृत्तिमा अध्ययनको अवसर पाएका ज्ञवाली जहाँ जहाँ बसे ती कार्यालयमा अनियमितताको एक पछाडि अर्का बान्कीहरु छरपष्ट भएका छन् ।
जस्तो जतिखेर उनी काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए,त्यही समयमा बोलपत्रको मापदण्ड पूरा नगर्ने समानान्तर निर्माण कम्पनीलाई महानगरको साढे ६९ करोडको भवन निर्माणको ठेक्का दिए । काठमाडौं महानगरपालिकाको टेकुस्थित साढे ६९ करोड रुपैयाँ लागतको भवनको ठेक्काको ‘प्राविधिक मूल्यांकन प्रक्रियामा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरेको’ अभियोगमा यो प्रकरणमा प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली मुछिए । अख्तियारले समेत यो प्रकरणमा हात हाल्यो । तर अख्तियारले प्रमुख प्रशासकीय अधिकृत र मेयरलाई उन्मुक्ति दिएर पाँच कर्मचारीविरुद्ध मात्र मुद्दा चलाएको छ ।
Advertisement 1
उनै ज्ञवाली प्रमुख प्रशासकीय अधिकृत हुँदा काठमाडौं महानगरपालिकाले आफ्ना सबै स्थायी दरबन्दीका कर्मचारीको एक तह वा स्तर बढुवा गर्यो । लोकसेवा आयोगको समेत स्वीकृत नलिइ एक हजार ८ सय कर्मचारीको एकैपटक बढुवा गर्दा बढुवा गरिएका कर्मचारीबाट प्रमुख प्रशासकीय अधिकृतले अतिरिक्त लाभ लिएको चर्चा महानगरकै कर्मचारीहरुले गर्ने गर्दछन् ।
महानगरपालिकाबाट गृहमा पुगेका ज्ञवाली झापाको प्रमुख जिल्ला अधिकारी हुने जोडबलमा लागे । सफल भएनन् । मुख्य सचिव शंकरदास बैरागीका अत्यन्त प्याारा भएकै कारण उनी अर्थ हुँदै अहिले ठूला करदाता कार्यालयका हाकिम छन् ।
ज्ञवाली प्रशासन समुहका कर्मचारी हुन् । जानकारका अनुसार ज्ञवालीलाई करको क र राजश्वको र पनि आउँदैन । तर, जुनसुकै सरकार फेरबदल भए पनि उनै ज्ञवाली ठूला करदाता कार्यालयमा प्रमुख कर प्रशासकको जिम्मेवारीमा ढलिमली गरिरहेका छन् ।
Advertisement 2
ज्ञवालीको सबैभन्दा ठूलो खुबी भनेको जुनसुकै पार्टी होस् वा व्यक्ति–सबैलाई रिझाएर आफ्ना लागि कुस्त लाभ लिन सक्नु हो । ठूला करदाता कार्यालय त्यही हो, जसले मुलुकको राष्ट्रिय ढुकुटीका लागि सबैभन्दा धेरै कर वा राजश्व उठाएर योगदान पुर्याउन सक्छ । तर, त्यही कार्यालयबाट सबैभन्दा धेरै राजश्व चुहावट भइरहेको भेटिन्छ ।
उनै ज्ञवालीले आठ महिना अगाडि नै सरुवा भएका एक जना कम्युटर अपरेटरलाई रमाना नदिइ आफ्नै सचिवालयमा रोकेर राखेको भेटिएको छ । ज्ञवालीको छत्रछाँया पाएका कारण कम्युटर अपरेटर हुन,ध्रुव भण्डारी (कर्मचारी संकेत नम्बर,१९५२८१) ठूला करदाता कार्यालय,ललितपुरमा डाटा इन्ट्री सुपरभाइरजरबाट सरुवा भए पनि राजेश्वर ज्ञवालीले अर्थ मन्त्रालयमा होल्ड गर्न लगाएका कारण त्यही टिकिरहन सफल भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । अर्थ स्रोतका अनुसार त्यतिबेला सरुवा भएका ३० जना कम्यु्टर अपरेटरमध्ये २९ जना खटाएको ठाउँमा पुगे पनि ज्ञवालीको छत्रछायाँ पाएका कारण भण्डारी त्यही टिकिरहन सफल भएका हुन ।
अर्थ मन्त्रालयले नेपाल विविध सेवा अन्तरगतका भण्डारीलाई त्यहाँबाट सरुवा गरेर महालेखा नियन्त्रक कार्यालय वा अन्तरगत पठाएको थियो गत बर्षको भदौं २० मा । यसरी सरुवा भएको आठ महिना पूरा भइसकेको छ । तर यी सुब्बा तहका कर्मचारीलाई खटाएको ठाउँमा पठाउन ठूला करदाता कार्यालयका हाकिम राजेश्वर ज्ञवालीले रोकेर राखेका छन् । ज्ञवाली अहिले चक्रबहादुर बूढाले सम्हालेको भन्सार विभाग ताकेर बसेका छन् ।