प्रशासनिक भद्रगोल:- सिंहदरबारमा दर्जन सहसचिव बरण्डामा,कर्णालीका चार मन्त्रालय महिनौंदेखि सचिवविहन
मुलुकको प्रमुख प्रशासकीय सिंहदरबारका सामान्य,अर्थ,गृह लगायतका मन्त्रालयमा दर्जन बढी सहसचिवले काम नपाइ रहँदा दुर्गम कर्णालीमा भने एकै पटक चार मन्त्रालय महिनौदेखि सचिवविहिन अबस्थामा चलिरहेका छन् ।
Advertisement 1
कर्णाली प्रदेशमा एकै पटक चार सचिव पद रिक्त हुँदा कार्यसम्पादनमा गम्भीर असर परेको छ । कर्णाली प्रदेशमा १० जना सचिवको दरबन्दी रहेकोमा अहिले एकै पटक चार जना सचिवविहन अबस्थामा मन्त्रालयहरु चलिरहेको कर्णाली प्रदेश सरकारले जनाएको हो । कर्णाली प्रदेश सरकारका अनुसार अहिले त्यहाँको प्रदेश लोकसेवा आयोग कर्णाली,आन्तरिक मामिला तथा कानुन मन्त्रालय,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय सचिवविहन अबस्थामा चलिरहेका छन् ।
हालैमात्र प्रदेश लोकसेवा आयोगका सचिव नारायणप्रसाद भट्टराईको सरुवा भएर भएर यातायात व्यवस्था विभागमा गएसँगै प्रदेश लोकसेवा रिक्त हुन पुगेको छ । यस्तै
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसाल गोरखाको प्रमुख जिल्ला अधिकारीको रूपमा गए पछि महिना दिनभन्दा बढी समयदेखि उक्त मन्त्रालय पनि रिक्त हुन पुगेको छ । यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रेमप्रसाद आचार्यको र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयका सचिव प्रेम भट्टको सरुवा भएसँगै एकै पटक चार सचिव रिक्त हुन पुगेको हो ।
कर्णालीमा अहिले सचिवका रुपमा आनन्द सारु,शंकर बहादुर के सी (कानुन),श्याम कृष्ण थापा,सन्त बहादुर सुनार,मोहनदेव जोशी,लेखराज दाहाल र देवराज निरौला सचिवका रुपमा बहाल छन् ।
सिंहदरबारका अधिकांश मन्त्रालयमा सहसचिवहरु जगेडामा थन्काइएको छ । उनीहरु काम र कुर्सी समेत नपाएर हाजिर लगाउने र घर फर्किने गर्दै आएका छन् । उता दुर्गम कर्णालीमा भने एकै पटक सात चार सचिव पद रिक्त हुन पुगेको छ ।
सचिवहरू मन्त्रालयका कामहरूमा अग्रसर हुनुपर्ने र विकास निर्माणले तीव्रता पाउनुपर्ने समयमा एकै पटक चार सचिव रिक्त हुँदा कर्णाली प्रदेश समस्यामा परेको प्रमुख सचिव डा गोपीकृष्ण खनाल सुनाउँछन् ।