रन्जयकुमार मेहताको प्रेरणादायी संघर्ष :-हकरदेखि शाखा अधिकृतसम्म
दुनिँया नै जित्नेहरुको हो, उनीहरुको लेखिन्छ इतिहास । हार्नेहरू त कहाँ छुट्छन् कहाँ, इतिहासको पानामा । कसैले हिसाब राख्दैन तिनको, कसैले भाउ दिँदैनन्, कसैले खोज्दैनन् हार्नेहरूलाई । अक्सर हामी एक/दुईवटा असफलताबाटै निराश हुन्छौं र मोड्छौं जीवनको बाटो । तर, जीवनका परीक्षामा सफल हुन पटक–पटक पौँठेजोरी खेल्नैपर्छ असफलतासँग । धेरैको रहर हुन्छ निजामती सेवामा प्रवेश गर्ने । तर, यो अवसर सबैका लागि कहाँ जुर्छ र रु निष्ठापूर्वक सेवा र कठिन परिश्रम गर्दै गएको खण्डमा पद र प्रतिष्ठा खोज्दै जानु पनि पर्दैन । मात्र हुनुपर्छ दृढ इच्छाशक्ति र संकल्प हुनुपर्छ मनमा । असम्भव केही छैन दुनियाँमा ।
भन्छन्, जीवन नियममा होइन संयोगमा हुन्छ । अक्सर मान्छेहरू सफलतालाई मात्र देख्छन् तर सफलता प्राप्त गर्नका लागि गरिएको संघर्ष देख्दैनन् । संघर्षको भट्टीमा खारिएर दुःखका आरनमा अर्चापिएर शाखा अधिकृतसम्मको बाटो तय गर्न सफल भएका छन्,रन्जय मेहत्ताले । लगातार नदीको बहावले ठुल्ठूला चट्टानलाई पनि पगाल्छ भनेझैं शाखा अधिकृत बन्न कम्ता पापड पेलेका हैनन् ।
उनै मेहत्ताकै शब्दमा हरेक मानिसका जीवनमा केही न केही भोगाई, तितामिठा क्षणहरु हुन्छन नै । उनको पनि जीवनमा केहि यादगार क्षणहरु छन् । भनिन्छ,मान्छेले सबै चिज भुल्न सक्छ तर भुल्न सक्दैन आफ्नो विगत । मानिसका लागि सबैभन्दा बढी प्रिय हुन्छ आफ्नै इतिहास ।
रञ्जय सुनसरी जिल्ला, साविक मध्यहर्षाही वडा ५ मा जन्मिए निम्न बर्गमा परिवारमा । परिवारको हात मुखको बाटो थियो कृषि । कृषिमै आवद्ध भएका कारण पढ्नेतिर परिवारको खासै रुची थिएन । विदेश जाने पैसा कमाउने, घरको काम गर्ने लगायतका कुराहरु दिमागमा डेरा जमाएको थियो ।
एउटा निम्न बर्गीय परिवारमा जन्मिएको मान्छे,जेनतन एसएलसी तहसम्म पार लगाए २०६७ सालमा । देवानगंज माध्यमिक विद्यालय सुनसरीबाट । दुई बर्ष पछि नै अर्थात ०६९ सालमा हरिनगरा उच्च माध्यमिक विद्यालयबाट प्लस टु पार लगाए ।
पैसाको अभावले सदैव पिरोलिरहन्थ्यो उनी र उनको परिवारलाई । त्यही अभाव पूर्तिका लागि र उच्च शिक्षा पूरा गर्न अभिलाषा पूरा गर्न उनी होमिए पत्रिका वितरक अर्थात हकरको रुपमा । तलब मासिक एक हजारबाट रुपैंया । विराटनगरको स्थानीय पत्रिकाको हकरका रुपमा केही समय काम गरे । भन्छन्, पत्रिका वितरण गर्दाको पल सम्झिदा स्राहै नमज्जा लागेर आउँछ । त्यसपछि प्रति महिना १५ सयका दरले सहकारी संस्थामा पैसा संकलन र कार्यालय सहयोगीको रुपमा काम प्रारम्भ गरे । त्यसले उनलाई झनै संघर्ष गर्न सिकायो ।
२०७० सालमा उनी बिबिएस ज्वाइन भए । न टेक्ने हाँगो र समाउने ठाउँ भएका व्यक्तिको पनि आड र भरोसा हुन सक्छ,लोकसेवा । त्यही कार्यरत रहँदै गर्दा उनलाई कसैले सु्नाइदियो, लोकसेवाको तयारी कक्षा बारे ।
लोकसेवा तयारी त गर्ने तर समस्या बनेर उभियो पैसा । त्यही पैसाको जोहो गर्नका लागि उनी म्यादी प्रहरीमा भिडे,एक दुई महिनाको म्यादी प्रहरीको जागिर । त्यो जागिरमा छँदा गुरुहरुले एउटा युवालाई गरेको डिमोटिभेट सम्झदा नमीठो लाग्ने उनले टिप्पणी गरेका छन् ।
७० सालमै उनले वन रक्षकको परीक्षा दिए । तर दुर्भाग्य दैनिक १२ देखि १४ घण्टा अध्ययन गर्ने उनी असफल भए । तीन चार घण्टा मात्र पढ्ने साथीहरु सफल भए । सफल भएका साथीहरुले गर्ने व्यग्यले उनलाई झनै इखालु बनायो । भन्छन नि इख नभएको मान्छे र बिष नभएको सर्प काम छैन । त्यही ईख लिएर आफूमा झन झन उर्जा भरिरहे र लगातार संघर्ष गरिरहे, लागिरहे ।
भन्छन निरन्तरको नदीको बहावले ठूल्ठूला चट्टान त पगाल्न सकिन्छ भने प्रयास गरेको खण्डमा नहुने र नमिल्ने केही छैन ।
लगतारको प्रयासले ७१ सालमा पूर्वाञ्चलबाट नायब सुब्बा पदमा नाम निकाल्न सफल भए,त्यो पनि मधेशी कोटामा १ नम्वरमा । उनको पहिलो पदस्थापन लेखापालको रुपमा जिल्ला शिक्षा कार्यालय, संखुवासभामा भयो । पहिलो नियुक्ति पाएको पल सम्झदै भावुक भएका उनी भन्छन्,यो मान्छे केही गर्न सक्दैन भन्नेहरुको म उत्प्रेणाको स्रोत भई सके जस्तो लाग्यो ।
सरकारी नियुक्ती पाएपछि उनले पछाडि फर्केर हेर्नु परेन । जीवन अलि सहज बन्न थाल्यो । ०७३ सालमा बीबीएस तह पार लगाए । र शाखा अधिकृतमा भिड्न थाले । दुई पटकसम्म शाखा अधिकृतको पहिलो पेपरमा असफलता हात लाग्यो । त्यही असफलताले केही पाठ सिकायो र आफ्नो कमजोरिको सूक्ष्म तरिकाले मनन गरेँ । कहिलेकाहि लाग्थ्यो अधिकृत तह पास गर्न सकिन्न , कहिले लाग्थ्यो पहिलो पेपर नै मेरो लागि तगारो बनी सकेको छ । बीचमा कोभिडका महामारीका कारण अफिसरको परीक्षा हुन सकेन । अदालती मुद्धाका कारण विज्ञापनमा अझैं पर धकेलियो ।
७७ सालमा लोकसेवाले खुलाएको अधिकृतको विज्ञापनको पहिलो पेपरमा उत्र्तीण भए । अब उनको मनोवल अलि उचों भयो । हालै अधिकृतका सबै तहका ढोका पार गरेर उनी संघीय सरकारको शाखा अधिकृतको रुपमा उत्र्तीण भएका छन् ।