झन्डै ३ वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु

सुरेश थोक्रा

Advertisement 1

झन्डै तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु भएको छ । २०७६ सालको माघदेखि नै चीनले विभिन्न कारण देखाएर नेपाली सामान रोकेको थियो । कोरोना महामारीका कारण रोकिएको सामान निर्यात मंगलबारदेखि पुनः सुरु भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

Advertisement 2

मङ्गलवार नेपालबाट ८ कन्टेनर सामान चीनतर्फ निकासी भएको छ । प्रमुख भन्सार अधिकृत भण्डारीका अनुसार मङ्गलवार करिब ५० लाख नेपाली रुपैयाँ बराबरको सामान निर्यात भएको छ । २०७६ माघ १५ अघिसम्म रसुवागढी नाका भएर मैदा, बेसार, खुर्सानी, बाँसका मुढा, कुचो, हस्तकलालगायत १ सय ८३ भन्दा बढी प्रकारका सामग्री चीनको ल्हासा, सिगात्से, आम्दो, झोंगालगायत ठाउँमा लगिन्थ्यो । २०७६र७७ मा रसुवागढी नाका हुँदै चीनतर्फ ७३ करोड ३० लाख ३४ हजार मूल्य बराबरको नेपाली सामान निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

Advertisement 3

कोरोना महामारीपछि यो नाकाबाट निर्यात र मानिसको आवतजावत भने २०७६ माघ १५ देखि नै बन्द थियो । सुरुमा हिमपात र ल्होसार पर्वका कारण निर्यात बन्द भएको थियो । पछि कोरोना भाइरस देखापरेपछि आयातनिर्यात थप प्रभावित बन्यो । रसुवागढी नाका हुँदै करिब डेढ सय व्यापारीले सामान निर्यात गर्दै आएका थिए । ती व्यापारीले केरुङसम्म पुर्‍याए पनि पछि त्यहाँ जान नपाउँदा गोदाममै थन्किएको हो । निर्यात हुन नपाउँदा ३५ महिनादेखि केरुङको गोदाममा सामान थन्किएका छन् । त्यहाँसम्म जान नपाउँदा उधारोसमेत उठाउन नपाएको पौडेलले सुनाए ।

अहिले यो नाकाबाट दैनिक चिनियाँ १४ कन्टेनर मात्र सामान आयात भए पनि व्यापारीका सामान अझै सहज रूपमा आउन सकेको छैन । रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । यहाँबाट तयारी कपडा, स्याउ, जुत्ताचप्पल, झोला, मोटरको ब्याट्री, प्लास्टिकका सामानलगायत आयात हुने गरेको छ ।

नेपालबाट चीनतर्फ पस्मिना, गलैंचा, बाँसका मुढा, अम्रिसो, मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सी क्यान्डी, चकलेट, सक्खर, चुइँगमलगायत वस्तु निर्यात हुँदै आएको थियो ।

 

प्रकाशित :२०७९ पुष १३, बुधबार १४:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry