नारायणगढमा खाद्य स्वच्छता सम्बन्धी तीनदिने प्रशिक्षण


चितवन/सडक छेउछाउ बेच्न राखिएका खानेकुरा सबैको नजरमा पर्छ, धेरैले किनेर खान्छौं । प्याकिङ गरिएका बाहेक पकाएर बेचिने खानेकुरा पनि सडक छेउछाउ बेच्न राखिन्छन्– मम, चाउमिन, ससेज, चटपट, पानीपुरी, जेरीपुरी, समोसा, मिठाइ, चिया–चना आदि आदि । तिनीहरु कत्तिको गुणस्तरीय छन् त ? उपभोक्ताको स्वास्थ्यलाई के–कति ध्यान दिएर बनाइएको छ, कसरी राखिएको छ ?
यो महत्वपूर्ण विषयमा यही माघ १० गते शनिबारदेखि नारायणगढमा प्रशिक्षण सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजनामा सडक छेउछाउ बिक्री हुने खाद्यपदार्थको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम तीन दिनसम्म चल्नेछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, भरतपुर चितवनले व्यवस्थापन गरेको कार्यक्रमलाई नारायणगढस्थित संयुक्त पाँच टोल विकास संस्थाले सहयोग गरेको छ ।
तालिममा नारायणी किनारमा ठेलामा खाद्यपदार्थ बेच्नेहरु २५ जना प्रशिक्षार्थीको रुपमा सहभागी छन् । उनीहरुलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख घननाथ अधिकारीले प्रशिक्षण दिँदैछन् । तीन दिनसम्म १२ वटा कार्यपत्र प्रस्तुत गरिने बताइएको छ । खाद्य स्वच्छताका लागि ध्यान दिने पाटो एवम् खाद्य स्वच्छता कायम नगर्दा भोग्नुपर्ने कानुनी अप्ठ्याराका विषयमा समेत सचेत गराइने जनाइएको छ । तालिमको सुरुवात् गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजालले प्रशिक्षार्थीहरुलाई भने, तपाईंहरुले बनाएका कुनै पनि खानेकुरा खाएर कोही पनि उपभोक्ता बिरामी हुनुभएन ।
त्यसकै लागि के–कस्ता कुरामा ध्यान दिनुपर्छ ? भनी यो तालिम आयोजना गरिएको उनले बताए ।
थोरै हेलचक्र्याइँ, लापरबाही र अज्ञानताले पनि खाद्यपदार्थ अखाद्य हुन सक्ने भन्दै संयुक्त पाँच टोल विकास समितिका अध्यक्ष दिपक शाही ठकुरीले खाद्य प्रविधिको विषयमा जान्न धेरै आवश्यक भएको बताए । यसरी कार्यक्रम सञ्चालन गरेकोमा आयोजकलाई धेरै–धेरै धन्यवाद ज्ञापन गरे । पोहोर पनि ३०/४० जना सहभागी जुटाई यस्तै कार्यक्रम भएको स्मरण गर्दै ठकुरीले यस सम्बन्धमा अनुगमन पनि भए अझ राम्रो हुने सुझाव आयोजकलाई दिए ।

प्रकाशित :२०७७ माघ ११, आईतवार ०९:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry