कर्मचारी चुनावमा ओली गुटका उम्मेद्धार पत्तासाफ

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको प्रदेश समिति निर्वाचन भर्खरै पोखरामा सम्पन्न हुँदा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहद्वारा अघि सारिएका उम्मेदवारको पराजय भएको छ ।
Advertisement 1
संघको नेतृत्वमा आफ्ना मान्छेलाई जिताउन पूर्व गृहमन्त्री तथा सांसद खगराज अधिकारीलगायत ओलीनिकट नेताहरुको बाक्लो उपस्थिति देखिन्थ्यो । पेशागत महासंघका अध्यक्ष बाबुराम थापा, गृह मन्त्रालयका कर्मचारी तथा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका पूर्व अध्यक्ष पुण्य ढकाल,पूर्वमन्त्री तथा पार्टीको मोर्चा संयोजक भानुभक्त ढकालको दौडधुपका वावजुद नतिजा उल्टो आएको बताइन्छ ।
‘उहाँहरुले पहिलेका कार्यवाहक अध्यक्ष राम जोशीलाई अध्यक्ष बनाउन कोशिस गर्नुभएको थियो तर हामीले हराइदियौं,’ महाधिवेशनमा सहभागी एक कर्मचारीले भने । जोशीले कूल मतको एक तिहाइ मात्र प्राप्त गरेका छन् । तीन सय पाँच मत खसेको थियो ।
Advertisement 2
दुई तिहाई मत ल्याएर लक्ष्मी पाण्डे विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा बद्रि तिमिल्सिना निर्विरोध भएका छन् । त्यसैगरी लक्ष्मी ज्ञवाली र ईश्वर उप्रेती उपाध्यक्ष चुनिएका छन् । संघको पछिल्लो परिणामले अध्यक्ष निकट हौं भन्दै जथाभावी बोल्ने नेता तथा कार्यकर्ताको विरुद्ध मत जाहेर गरेको देखिन आएको बताइन्छ ।
यसले ओली गुटभित्रै पनि कडा र नरम दुईथरी एमाले भनेर छुट्याइन थालिएको छ । ‘हामी नरम मिजासका हौं,उहाँहरु कडा मिजासका । एमाले भए पनि हामीहरुबीचको फरक यत्ति हो,’ विजयी एक जना पदाधिकारीले बताए ।
Advertisement 3
आज विजयी सबैजसोमाथि एमाले भए पनि बालकोट निकटस्थ केहीले माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादी निकटको बिल्ला भिराउँदै आएका थिए । आफूहरुले भनेको नटेर्नेलाई एमाले भए पनि अर्कैतिरको टाँसो लगाउने गरिएको गुनासो सुनिन्छ ।
अनेकन आशंकामा बाबुराम थापाले गएराति १ बजेसम्म प्रतिनिधिहरुलाई हलमै अलमलाएका थिए । उनले सहजिकरण गर्ने नाममा पुण्यसमेत भएको टिम बनाएको आरोप लागेको छ ।