काठमाडौं महानगरमा ठडियो लौरी: बालेन भए विजयी, को हुन् उनी ?

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले जितेका छन् । गन्न बाँकी मतभन्दा निकटतम प्रतिस्पर्धी उम्मेदवारसँग उनको मतान्तर बढी भएपछि जित सुनिश्चित भएको हो ।
Advertisement 1
निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार बालेन शाहले ५५ हजार ७४७ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् ।
बालेन र निकटतम प्रतिस्पर्धी सिर्जनाबीचको मतान्तर २० हजार ३७६ रहेको छ । काठमाडौं महानगरमा अब गणना गर्न बाँकी रहेको मत मात्र १९ हजार ३२३ रहेको छ ।
Advertisement 2
मतगणना गर्न बाँकी रहेको मतमध्ये एक मत पनि बालेनको पक्षमा नआए पनि उनले जित्नेछन् ।
हालसम्मको मतगणना अनुसार काठमाडौं महानगरको प्रमुखमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत प्राप्त गरेका छन् । स्थापितकोभन्दा बालेनले २१ हजार १२१ बढी मत पाएका छन् ।
Advertisement 3
काठमाडौं महानगरको प्रमुखमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायामीले १० हजार ३२२ मत प्राप्त गरेका छन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार १२५ मत खसेको थियो । पछिल्लो अपडेट अनुसार १ लाख ७१ हजार ८०२ मतगणना भइसकेको छ । अब १९ हजार ३२३ मत गन्न बाँकी रहेको छ ।
हालसम्म गणना भएकोमध्ये बालेनले ३२ प्रतिशत, सिर्जनाले २१ प्रतिशत, स्थापितले २० प्रतिशत, सुमनले ६ प्रतिशत र बाँकी अन्य उम्मेदवारहरुले प्राप्त गरेका छन् ।
को हुन् बालेन साह ?
३१ वर्षीय बालेन्द्र साह उर्फ बालेन पेशाले इन्जिनियर हुन् । नयाँ पुस्ताबीच उनी ¥यापरका रूपमा पनि चर्चित छन् । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारीले उनलाई थप चर्चामा ल्याएको छ ।
काठमाडौंको गौरीगाउँमा जन्मिएका साह आयुर्वेदिक चिकित्सक डा. राम नारायण साह र ध्रुवदेवी साहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् । २०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए ।
नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, –यापर तथा कवि–लेखक साहको राजनीतिक अवतारको चर्चा भने भूगोलभन्दा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमा बढी छ । विशेषतः फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटीहरु साहको पक्षमा देखिएका छन् । अभिनेत्रीहरु प्रियंका कार्की, स्वस्तिमा खड्का, निर्माताहरु माधव वाग्ले, सन्तोष सेन, हास्य कलाकार निर्मल शर्मा खुलेरै उनको पक्षमा लागे ।
निर्देशक निश्चल बस्नेत र गायिका इन्दिरा जोशी साहको घोषणापत्र प्रस्तुत गर्ने कार्यक्रममै उपस्थित थिए । साहले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् ।
उनले काठमाडौंको मेयरमा उमेद्वारी दिने गरी तयारी ५ बर्ष अगाडीदेखी नै गरेका थिए, यो विचमा उनले घरबेटीसँग बालेन, अबको काठमाडौं जस्ता लोकप्रिय अभियानहरुसमेत संचालन गरे । बाहिरबाट काठमाडौं पढ्न गएका विद्यार्थी नै उनका लागी सबैभन्दा चुनाव प्रचारका मुख्य स्रोत थिए ।
‘अहिले मैले पूर्वाधार, बाटो, पुल, विद्यालय, अस्पताल बनाउने काम गरिरहेको थिएँ । थोरै नीति निर्माणमा संलग्न हुने, शिक्षा, स्वास्थ्यदेखि लिएर फोहोर व्यवस्थापनमा इञ्जिनियरिङ जस्ता समग्र कुरामा म सरिक छु,’ उनी भन्छन्, ‘यो अनुभव काठमाडौं महानगरका लागि आवश्यक छ भन्ने मलाई लाग्छ । समग्रमा एउटा शहर, गाउँ र देश चलाउनलाई जे–जे काम गरिन्छ, त्यो कुरामा संलग्न हुँदै आएको छु ।’
भौतिक पूर्वाधार निर्माणको योजना त छँदैछन्, यसमध्ये पनि बालेनको प्राथमिकतामा परेको छ काठमाडौंको सडक । सडक सुधारेर काठमाडौं सुधार्ने उनको योजनामा सहयोगी हुनेछन् विद्युतीय सवारी साधन ।
उनी भन्छन्, ‘हामीले विस्तारै काठमाडौं उपत्यकालाई नै २४ घन्टा खोल्नुपर्छ भनेका छौं । रेष्टुरेन्टहरूसँगै सरकारी कार्यालय पनि बेलुकीसम्म खुल्छन् । अनि सेवाग्राही राति आउँछन् र विद्युतीय बस चढेर जान्छन् । यसबाट जाम पनि घट्छ ।’ वैकल्पिक राजनीति कमजोर भएको बेला पुरानालाई प्रतिस्थापन गर्न चाहने युवा मतदाताको रोजाइ बालेन साह बन्न सफल भएका छन् ।