बजेट :-उच्च तहका २० र तल्ला तहका कर्मचारीको ३० प्रतिशतसम्म बृद्धि
अर्थ मन्त्रालयका अधिकारीहरु अहिले बजेट लेखनमा व्यस्त छन् । सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब २३ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने गरी तयारी गरिरहेको छ । जेठ १० गते मंगलवार सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दैछ । आगामी आर्थिक वर्षका लागि चालु शीर्षकमा १० खर्ब ४९ अर्ब, पुँजीगत शीर्षकमा ४ खर्ब ५६ अर्ब ३६ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब १७ अर्ब ६३ करोड रुपैयाँ बराबरको बजेट प्रस्ताव गरिएको अर्थका अधिकारीहरुले जनाएका छन् ।
‘अगामी बजेटमा बृद्धभत्ता पाइने उमेर समेत घटाएर ६५ मा झार्न खोजिएको छ । यस अघि यस्तो भत्ता पाउन ७० बर्ष कुर्न पर्दथ्यो । यस्तै वृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याइने तयारी छ । त्यस्तै, कर्मचारीको तलब पनि यसपाली बढ्ने छ । महङ्गीको अनुपातमा निजामती कर्मचारी,सेना र प्रहरीको तलब प्रतिशतको आधारमा बढाउन भन्दै केही दिन अघि मुख्य सचिवको कार्यकक्षमा बैठक बसेको थियो । दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा तलब भत्ता पुनरावलोकन समितिको बैठक बसेर तल्लो र माथिल्लो तहका कर्मचारीहरुको तलब प्रतिशतमा बढाउन प्रस्ताव गरिएको एक जना अधिकारीले जनाएका छन । अस्ति दिउँसो ४ बजेदेखि झण्डै आधा घण्टा बसेको बैठकमा तलब बढाउन आवश्यक रहेको निश्कर्ष निकालिएको बुझिएको छ । तल्लो तहको कर्मचारीको तलब ३० प्रतिशत र उच्च तहको कर्मचारीको तलब २० प्रतिशतले बढाउने तयारी छ । मुख्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिवसहित अर्थसचिवले यसको अन्तिम रुप दिनेछन् ।
सरकारले चुनाव अघि नै यस वर्षको बजेट भाषणमा कर्मचारीको तलब कम्तिमा दुई हजार रुपैयाँ बढाउने चर्चा गरेको थियो । अहिले त्यही चर्चालाई कार्यान्वयनमा ल्याउन लागिएको बताइएको छ । निजामति कर्मचारीको तलब, महँगी भत्ता, पोशाक भत्ता, सवारी भत्ता (यातायात खर्च) बढाउने तयारी अर्थले गरेको छ । चालु वर्षको बजेटमा सबै कर्मचारीको तलब एकरुपताका आधारमा बढाईएको भएपनि आगामी आर्थिक वर्षको बजेटमा प्रतिशतका आधारमा तलब बढाउने तयारी छ ।