मंगलबार उपत्याकामा ५० हजार कार्यकर्ता उतार्ने प्रचण्ड-माधव खेमाको तयारी

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको बाटोमा लागेको भन्दै सडक संघर्ष थालेका प्रचण्ड माधव नेपाल खेमाले देशव्यापी विरोध र प्रर्दशनको कार्यतालिका सार्वजनिक गरेका छन् ।प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको प्रचण्ड नेपाल पक्षले आज देशभर अभिमुखीकरण गर्न लागेको हो ।

Advertisement 1

उनीहरुले आज आइतबार ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछन् ।

नेकपाको यो पक्षले पर्सी मंगलवार राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्ने जनाएको छ ।

Advertisement 2

प्रचण्ड–माधव नेपाल पक्ष १४ गते देशभर गरिने प्रदर्शनको तयारीमा जुटेको छ । १४ गते काठमाडौं उपत्यकामा ५० हजार मानिस उतार्ने सो प्रचण्ड–नेपाल पक्षको योजना छ । ‘भ्यालीमा ५० हजार जनालाई प्रदर्शनमा उतार्ने लक्ष्य छ । त्यहीअनुसार विभिन्न बैठक, भेला, प्रशिक्षण लगायतका काम भइरहेका छन्,’ युवा संघ संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले भने । युवाहरुले १३ गते पनि काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछन् । १३ गतेको प्रदर्शन साँझ ५ बजे हुनेछ ।

उपत्यकाका आठ स्थानबाट जुलुस निस्किने

Advertisement 3

१४ गते ११ बजे काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस शुरु हुनेछ । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस शुरु हुने जनाइएको छ । यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र नेताहरुले सम्बोधन गर्ने युवा संघ अध्यक्ष सापकोटाले जानकारी दिए ।

सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड–माधव समूहले १४ गते देशव्यापी आन्दोलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

यस्तै, २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुनेछन् । हिजो बसेको उक्त पक्षको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तीब्रता दिने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपा दुई समूहमा विभाजित छ । ओली समूह चुनावी रणनीतिमा लागेको छ भने प्रचण्ड–नेपाल पक्ष सडक आन्दोलनमा केन्द्रित छ ।

दुवै पक्ष आफ्नो समूहलाई आधिकारीक मान्यता दिने लडाईमा केन्द्रीत छन् । दुवै पक्षले आधिकारीकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।

प्रकाशित :२०७७ पुष १२, आईतवार १२:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry