सरुवा र थमौतीको रमिता
तिनै कर्मचारीलाई महिना दिन अघि सरुवा गरेर खेदिन्छ फेरि महिना दिन नबित्दै फेरि तिनैलाई पूरानै ठाउँमा तानिन्छ भने त्यसलाई कसरी बुझ्ने ? कर्मचारी सरुवामा देखिने अनेकन रमितामध्ये यस्तै एउटा रमिता देखिएको छ उद्योग र सामान्य मन्त्रालयमा ।
तीन महिनासम्म जगेडामा राखेर केही हप्ता प्रशासन महाशाखा प्रमुख बनाइएका बाबुराम गौतमको हकमा हो यस्तो रमिता देखाइएको ।
Advertisement 1
गौतम अर्थ क्याडरका कर विज्ञ । ठूला करदाता कार्यालयका हाकिमका रुपमा कार्यरत रहँदा बहुराष्ट्रिय कम्पनी (कोकाकोला) र रक्सीको कर नियमित र कडाई गरेपछि व्यापारीहरुको दबाबमा उनलाई अर्थबाट लखेटेर उद्योग मन्त्रालयमा पु¥याइयो गत भदौंमा ।
तीन महिनासम्म बरण्डामा (जिम्मेवारबिहिन) थन्काइएको गौतमले गत मंसिरमा उद्योग मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारी दिइएकोमा दुई महिना नबित्दै अहिले सामान्य प्रशासन मन्त्रालयमा जगेडा (अतिरिक्त समूह)मा थन्काइएको छ । उनको दैनिकी बन्यो कार्यालय जाने,हाजिरी गरेर फर्कने ।अहिले फेरि वावुरामलाई सामान्यबाट उद्योगमै फर्काइएको छ ।
यता अहिले सामान्यका बरण्डामा मात्र आधा दर्जन सहसचिवसहितलाई बरण्डामा थन्काएर राखिएको छ । यस्तै गृह मन्त्रालयका बरण्डामा ५,अर्थका बरण्डामा ३ सहसचिव थन्काएर राखिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले सम्हाल्नुभएको उद्योग, वाणिज्य मन्त्रालयअन्तरगतको वाणिज्य सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा लगेर राखिएको छ । बरु स्वास्थ्य मन्त्रालय हेर्ने गरी भन्दै यस अघि महिला बालबालिका मन्त्रालयबाट तानिएकी यामकुमारी खतिवडालाई शिशिर ढुंगनाले अवकाश पाएपछि उनको ठाउँमा पठाइएको छ ।
यस्तै उद्योग,वाणिज्यमा भने भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गणेश पाण्डे सहित सहसचिव लीला शर्मालाई खटाइएको छ । यता बिहिबारको क्याविनेटले सचिवमा बढुवा गरेका मुकुन्द निरौलालाई बाग्मती प्रदेशको प्रमुख सचिव बनाएर खटाएको छ ।