राजनीतिले बाटो बिराएको छ : उपसभापति गुरुङ
राजनीतिले बाटो बिराएको भन्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चिन्ता व्यक्त गरेका छन । भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले भने, “नेपाली राजनीतिले बाटो बिराएको छ । नेतृत्वले त्याग गर्न नसक्दा बारम्बार समस्या सिर्जना हुने गरेको छ । यो चिन्ताको विषय हो ।”
Advertisement 1
उनले बाटो बिराएको राजनीतिलाई सही बाटोमा ल्याउन आफूहरू लागिरहेका बताए । प्रष्ट विचार र सहीलाई सही, गलतलाई गलत भन्नेहरूलाई हरेक राजनीतिक पार्टीमा पाखा लगाउने काम भएको भन्दै दुःख व्यक्त गर्दै उनले भने, “मैले पनि बल्लबल्ल दुई मतले कांग्रेस उपसभापति जितेँ । मेरो राजनीतिक तथा व्यक्तिगत जीवनमा जीतहारले खासै अर्थ नराख्ला तर म उपसभापति नजितेको भए तपाईँहरूजस्ता सङ्घसंस्थाले पनि मलाई बोलाउनुहुन्न । समाजिक सङ्घसंस्थाले पनि पदलाई महत्व दिन थालेको हो । यहीबाट राजनीति बिग्रिन सुरु भएको हो ।”
उनले भ्रष्ट भनेर चिनिएकाहरूलाई बहिष्कार गर्न पनि आग्रह गरे । गुरुङले भने, “भ्रष्टाचारी न दलको हुन्छ, न त देशको । ऊ जुनसुकै तहमा वा पार्टीको भए पनि भ्रष्टाचारी नै हो । अख्तियारले दोषी देखाएमात्रै भ्रष्टाचारी भन्ने होइन, कुनै पनि मान्छेको हैसियत अस्वाभाविकरूपमा वृद्धि हुन्छ भने त्यसतर्फ आम नागरिकले खोजीनीति गर्नुपर्छ ।”
Advertisement 2
कार्यक्रममा नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष अनिलबहादुर शाहीले जेसिजमार्फत देशैभर नेतृत्व विकास र मानवीय सेवामा खेलेको भूमिकाको चर्चा गरे । सो अवसरमा निर्वाचन आयुक्तसमेत रहेका पूर्वअध्यक्ष ओमकुमार श्रेष्ठले जेसिज विधि र विधानमा हिँडेमा समस्या नहुने बताए ।
कार्यक्रममा सिद्धार्थनगर पालिका उपप्रमुख उमा काफ्ले, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठलगायत विभिन्न सङ्घसंस्थाका प्रमुखले समेत मन्तव्य राख्दै जेसिजमार्फत भएका मानवीय कार्यको प्रशंसा गरेका थिए । सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहबाट गोपाल ज्ञवालीले कमल जिसीलाई नेतृत्व हस्तान्तरण गरेका छन । कोरोनाको समयमा देशैभरका जेसिजका शाखामध्ये उत्कृष्ट काम गरेको भन्दै सिद्धार्थ जेसिजले सम्मानसमेत प्राप्त गरेको थियो ।